४ जेष्ठ २०८१, शुक्रबार

 

दिउँसो कक्षा चलाउन अटेरी गर्नेलाई कारबाही माग्दै विद्यार्थीको डेलिगेसन

दिउँसो कक्षा चलाउन अटेरी गर्ने बागलुङ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयलाई कारबाही गर्न विद्यार्थीले माग गरेका छन् । उनीहरूले शुक्रबार मेयर जनकराज पौडेलसँग भेटेर यसबारे ध्यानाकर्षण गराएका हुन् ।

टोलीमा अनेरास्ववियु बागलुङ जिल्ला अध्यक्ष शेखर खड्का, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जीवन शर्मा, नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, अनेरास्ववियु जिल्ला सचिव शिव शर्मा, धौलागिरि बहुमुखी क्याम्पस स्ववियु सचिव विष्णु शर्मा, अनेरास्ववियु धौलागिरि बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी अध्यक्ष रोशन कुँवर, नेविसंघका जिल्ला कार्यसमिति सदस्य सुजन सापकोटा र अनेरास्ववियु जिल्ला कमिटी सदस्य मधु पौडेल सहभागी थिए ।

सरकारको निर्देशनविपरीत विद्यालयहरूले पूर्वाधार, जनशक्ति र समय अभावको बहाना देखाएर कक्षा ११ र १२ को पढाइ बिहान चलाइरहेका छन् ।

‘हामीले दिउँसो कक्षा चलाउन अटेरी गर्ने, गैरकानुनी भत्ता खाने, आफ्नो विद्यालयको गुणस्तर खस्काएर अरू विद्यालयमा पढाउने, महँगो शुल्क उठाउने, कक्षाकोठामा ढिलो गरी पुग्ने, पूरा पिरियड नपढाउने र पोसाक नलगाउने शिक्षक र विद्यालयलाई कारबाही गर्न मेयरसँग माग गरेका छौं,’ अनेरास्ववियु जिल्ला अध्यक्ष खड्काले नयाँ विश्वलाई भने ।

नेविसंघ जिल्ला सचिव पौडेलले शैक्षिक अराजकता अन्त्य गर्न र नियमअनुसार नचल्ने विद्यालय र शिक्षकलाई तत्काल कारबाही अघि बढाउन मेयरसँग माग गरेको बताए ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जीवन शर्माले संस्थागत विद्यालय र सामुदायिक विद्यालयको बेथितिविरुद्ध आन्दोलनमा रहेको बताए । पूर्ण छात्रवृत्तिका विद्यार्थीसँगसमेत भर्नाशुल्कलगायत रकम मागेको, अनावश्यक पुस्तक किन्न लगाएको, पढाइ महँगो बनाएको, विद्यालयले दिने सेवासुविधा सार्वजनिक नगरेको, स्थायी शिक्षक र प्राध्यापकसमेतले आफ्नो विद्यालय र क्याम्पसको गुणस्तर मतलब नगरी अन्यत्र गई पढाएको जस्ता बेथिति रहेको उनको भनाइ छ ।

शिक्षा विभागले कक्षा १२ सम्मलाई विद्यालय–तहमा समेटी सम्पूर्ण कक्षा दिउँसो चलाउने निर्णय गरेको छ । दिउँसो पढाउँदा विद्यार्थीलाई निद्रा, पढाइ र मनोरञ्जनको समय पुग्ने शिक्षाविद् बताउँछन् । अन्तर्राष्ट्रिय अनुभव र अभ्यास पनि त्यही नै छ ।

प्रतिक्रिया दिनुहोस्