४ जेष्ठ २०८१, शुक्रबार

 

विद्यामन्दिर माविको कक्षा ११ र १२ को पढाइ दिउँसो चलाउने व्यवस्थापन समितिको निर्णय (नयाँ विश्व समाचार प्रभाव)

विद्यामन्दिर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको आज मंगलबार बसेको बैठकले कक्षा ११ र १२ को पढाइ दिउँसो चलाउने निर्णय गरेको छ । विस २०६१ सालदेखि कक्षा ११ र १२ को पढाइ बिहानमा चलिरहेको थियो ।

‘आज विद्यालय व्यवस्थापन समितिको बैठक बसेर हामीले कक्षा ११ र १२ कोे पढाइ दिउँसो चलाउने निर्णय गरेका छौ’, विद्यामन्दिर माविका प्रधानाध्यापक शान्तामणि ढकालले नयाँ विश्वलाई जानकारी दिए ।

विद्यालयको खाताहरुलाई एकिकृत गर्ने समान धारणा

आज बसेको व्यवस्थापन समितिको बैठकबाट विद्यालयको विभिन्न वित्तिय संस्थाहरुमा रहेका सबै खाताहरुलाई व्यवस्थापन गर्ने विषयमा व्यापक छलफल भएको प्रअ ढकालले बताए। उनले भने, ‘छलफलपश्चात विद्यालयको नाममा रहेका सबै खाताहरुलाई एकिकृत गर्ने समान धारणा बनेको छ। आगामी बैठकले यस विषयमा निर्णय गर्नेछ।’

शिक्षा विभागले विस २०७३ असार १५ गते उमावि खारेज भएर मावि बनाउँदा पनि र लामो समयदेखि बागलुङ नगरपालिकाले दिउँसो कक्षा संचालन र विद्यालयको एउटै खाता संचालन गर्न पटकपटक निर्देशन दिदाँ पनि विद्यालयका शिक्षकहरुले अवरोध गरिरहेका थिए ।

विद्यालयमा देखिएको बेथिति,गैरजिम्मेवारीपन र आर्थिक अनियमिताको बारेमा नयाँविश्व डटकमले निरन्तर आवाज उठाएपछि सरोकारवालाहरु जागरुक भएका थिए ।

‘आज हामीले व्यवस्थापन समितिको बैठकमा नगरपालिकाको निर्देशन र संचार माध्यममा आएको विषयमा गहिरो छलफल गर्‍यौं। विद्यालयमा देखिएका सबै बेथिति हटाउने र कक्षा ११ र १२ को पढाई दिउँसो चलाउने एक मतले निर्णय गरेका छौ’, विद्यामन्दिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले भने ।

‘दिउँसोमा कक्षा संचालन गर्न कक्षाकोठाको अभाव छैन’ 

‘दिउँसोमा कक्षा संचालन गर्न शिक्षक र कक्षाकोठा व्यवस्थापनका विषयमा हामीले नगरपालिकासँग परामर्श गछौं। हामीलाई कक्षाकोठाको समस्या छैन । अहिले विद्यालयमा ५५ वटा कोठा छन्’, राजभण्डारीले नयाँ विश्वलाई बताए ।

विद्यामन्दिर माविमा कक्षा ११ मा २ सय ६० जना ,कक्षा १२ मा ३ सय ७७ जना ,कक्षा १ देखि १० सम्म ४ सय ६० जना र दुई वटा बालविकासमा ३५ जना विद्यार्थीहरु अध्ययन गर्छन् ।साथै खुल्ला विद्यालयतर्फ आधारभुत १२ जना र मावितर्फ ३३ जना विद्यार्थी रहेका छन् ।

नगरप्रमुख जनकराज पौडेलको प्रधानाध्यापकहरुलाई नगरको निर्णय पालना गर्न, अन्यथा परिणाम भोग्न चेतावनी 

बागलुङ नगरपालिका भित्र रहेका सामुदायिक र निजी विद्यालयलाई बैशाखमै विद्यालयको पढाई दिउँसो चलाउन र विद्यालयको खाता एउटै बनाउन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख डण्डपाणी शर्माले पत्राचार गरेका थिए । पटकपटक पत्राचार गर्दा पनि विद्यालयका प्रधानाध्यापकहरुले अटेर गरेपछि नगरप्रमुख पौडेलले सोमबार प्रधानाध्यापकहरुलाई बोलाएर नगरको निर्णय पालना गर्न, नत्र परिणाम भोग्न चेतावनी दिएका हुन् ।

कालिका मावि र ९ वटा निजी विद्यालयहरुको पढाइ बिहानै

कालिका मावि र ९ वटा निजी विद्यालयहरुले अझै पुर्वाधार र जनशक्तिको बहाना बनाएर कक्षा ११ र १२ को पढाइ बिहानै चलाइरहेका छन् । सरकारी तथा निजी विद्यालयहरुमा आर्थिक अनियमित, शैक्षिक अराजकता, विद्यालयलाई राजनीतिको खेल मैदान बनाउने, कक्षाकोठा ढिलो जाने, पुरा पिरीयड नपढाउने, पोशाक नलगाउने, विद्यार्थीलाई सेवासुविधा पुरा नदिने र विभिन्न शिर्षकमा महँगो शुल्क असुल्ने बिकराल बेथिति रहेको छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेलले भने, ‘गरिब र सर्वसाधारणदेखि सबै वर्गको छोराछोरीहरु माथि जाने एउटा आधारभुत माध्यम शिक्षा हो । हामीले विद्यार्थीको हितमा नगरको शैक्षिक गुणस्तर माथि उठाउन पढाई दिउँसो गर्न र विद्यालयको वातावरण अध्ययनमैत्री बनाउने महान अभियान शुरु गरेका छौं । यसले कसैको अहित गर्दैन । यो अभियान सफल बनाउन नगरपालिकालाई सबैको सहयोगको अपेक्षा गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्