८ जेष्ठ २०८१, मंगलवार

 

कालिका कन्या माविको कक्षा ११ र १२ पढाइ दिउँसो चलाउने निर्णय

बागलुङ नगरपालिका – ३, नयाँ बजारस्थित कालिका कन्या माविले कक्षा ११ र १२ को पढाइ दिउँसो चलाउने निर्णय गरेको छ । साउन १७ गते बसेको कालिका कन्या माविको व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ बालविकासदेखि कक्षा १२ सम्मको पढाइ दिउँसो संचालन गर्न सामुदायिक र निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो ।

‘हामीले दिउँसो कक्षा संचालन गर्ने निर्णय गरेका छौं । त्यसको लागि कक्षा कोठा, फर्निचर, जनशक्ति र अन्य तयारी भइरहेको छ’, कालिका कन्या माविका प्रधानाध्यापक धनराज सापकोटाले नयाँ विश्वलाई जानकारी दिए ।

शिक्षा र व्यवस्थापन विषयको पढाइ हुने यस विद्यालयमा कक्षा ११ र कक्षा १२ को पढाइ विस २०७३ सालदेखि शुरु भएको हो ।
कक्षा १२ मा ४० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको यस विद्यालयमा कक्षा ११ को भर्ना हुने क्रम जारी रहेको प्रधानाध्यापक सापकोटाले बताए । कालिका कन्या मावि विस २०१० सालमा स्थापना भएको थियो ।

छात्राहरुको पढाइलाई अगाडि बढाउन र शिक्षामा उनीहरुको पहुँच पुर्‍याउन संस्थापक प्रधानाध्यापक चन्द्रकुमारी श्रेष्ठको नेतृत्वमा यस विद्यालयको स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्