८ जेष्ठ २०८१, मंगलवार

 

विद्यामन्दिर मावि अब दिउँसो

विद्यामन्दिर माविले चालू शैक्षिक वर्ष कक्षा ११ का सबै संकाय दिउँसो पढाउने भएको छ । बागलुङ नगरपालिकाले पटकपटक पत्राचार गरेपछि बिहान चलाइँदै आएका कक्षा दिउँसो चलाउने निर्णयमा पुगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।

‘कक्षा ११ बाट थालनी गरिएको हो,’ उनले भने, ‘अर्को वर्ष कक्षा १२ पनि दिउँसो चल्नेछ ।’ विद्यालयले दिउँसो कक्षा चलाउन अटेरी गरेको भन्दै यसअघि आलोचना पनि भएको थियो । जिल्लाकै अगुवा विद्यालय भएकाले विद्यामन्दिरले दिउँसो कक्षा चलाउन थालेपछि अन्य विद्यालयलाई पनि नैतिक संकट परेको हो ।

बुधबार आयोजित कार्यक्रममा अध्यक्ष राजभण्डारीले दिउँसो कक्षा सञ्चालनबारे जानकारी गराएका थिए । कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्नेलाई बुधबार स्वागत कार्यक्रम आयोजना गरेका थिए । उक्त अवसरमा अभिभावक, शिक्षक र समिति पदाधिकारीले विद्यालयको सफलतामा अभिभावक र शिक्षकको सहयोग आवश्यक भएको बताए । गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूले निरन्तर मेहनत गर्नुपर्ने धारणा पनि राखे । कार्यक्रममा विद्यार्थीलाई दर पनि खुवाइएको थियो ।

विद्यार्थीले तीज गीतसहित अन्य लोक–गीतसंगीतमार्फत मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरेका थिए । हाल यो विद्यालयमा विज्ञान, शिक्षाविज्ञान, व्यवस्थापन र मानविकी संकायमा सयौं विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्