३ जेष्ठ २०८१, बिहीबार

 

‘मानिसमा तनाबसँगै मुटुरोग पनि बढ्दो छ’

डा. शेखर राजभण्डारी

डा. शेखर राजभण्डारी मुटुरोग विशेषज्ञ हुन् । उनी हाल नर्विक इन्टरनेश्नल हस्पिटलमा कार्यरत छन् । बागलुङमा जन्मिएर त्यहीँका सरकारी विद्यालयमा पढेका उनी थप अध्ययनका लागि २०४६ मा काठमाडौं आए । यहाँ आएर डाक्टरी अध्ययन पूरा गरे । परिवारले घरव्यवहारका सबै काम गरिदिएर आफूलाई शैक्षिक वातावरण दिएकैले सफल भएको उनको भनाइ छ । परिवार व्यापारिक पृष्ठभूमिको भए पनि उनी चिकित्सा पेसातिर मोडिए । बुबा टीकाबहादुर राजभण्डारी उनी सानै छँदा बिते । त्यसयता आमा विद्यालक्ष्मी, ठूलो दाजु सहदेव, माहिला दाजु आनन्दप्रकाश, भाउजूहरू मिथिला र कल्पना, दिदीहरू कृष्णमाया, लक्ष्मी, तीर्थमाया, मीरा, परिमिला र शर्मिला सबैको माया पाए । श्रीमती रतिना पनि डाक्टर नै हुन् । एक छोरा छन् सम्राट । सबैको माया र प्रेरणाले अघि बढ्न सजिलो बनाइदिएको छ । भन्छन्, ‘मैले अझै धेरै सिक्नु छ । देश र समाजका लागि स्वास्थ्यक्षेत्रमा धेरै काम गर्न बाँकी छ ।’ डा. राजभण्डारीसँग नेपालमा मुटुरोगको अवस्थाबारे नयाँ विश्वका लागि सन्तोष श्रेष्ठले गरेको कुराकानी :

 

तपाईंकोमा अहिले कस्ता खाले बिरामी बढी आउँछन् ?

प्रायः छाती दुख्ने, मुटुको नलीमा रक्तप्रवाह रोकिने, धड्कन घटीबढी हुने, हर्ट अट्याक भएका बिरामी आइरहेका हुन्छन् ।

कम उमेरका व्यक्तिमा मुटुरोगको जोखिम कत्तिको छ ?

आजकल तनाब, कम शारीरिक अभ्यास, बढी दौडधुप, बढ्दो आर्थिक असमानता र बेरोजगारीले पारेको मनोवैज्ञानिक प्रभावका कारण युवामा पनि गम्भीर प्रकृतिको मुटुरोगका लक्षण देखिएका छन् ।

किन यति विकराल बन्दै छ मुटुरोग ?

सबैतिर अस्वस्थ प्रतिस्पर्धा, नकारात्मक सोचाइ छ । बढ्दो लोभ, आसक्ति र अहंकारले मानिसलाई एक्लो बनाई परिवार र समाजबाट टाढा लैजाँदै छ । शरीर र मस्तिष्कलाई आवश्यक समय नदिँदा शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । शरीर–मनको सम्बन्ध र आफ्नो पेसामा सन्तुलन मिलाउन नसक्दा मुटुलगायत धेरै अंगहरूमा क्षति पुगेको छ । हाम्रो जीवनशैली र खानपानले पनि यसलाई बढाउन मलजल गरिरहेको छ ।

मुटु स्वस्थ राख्न के गर्नुपर्छ ?

सकारात्मक सोच अनि मन शान्त राख्ने । बढी तनाब नलिने । पानी र झोलिलो खानेकुरा खाने । भरसक अर्गानिक खाना र फलफूल खाने । चिल्लो, पिरो, अमिलो, धेरै चिनी र नुन नखाने । दैनिक कामलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने । योग, ध्यान र शारीरिक अभ्यास गर्ने । कार्यथलोमा आराम गर्ने । शरीरलाई अहित गर्ने कुराबाट बच्ने ।

कस्ता खानेकुराबाट बच्ने ?

रातो मासु, घ्यु–तेलमा तारेको खानेकुरा बढी नखाने । विषादीयुक्त खानेकुराबाट टाढै बस्ने । अण्डाको पहेँलो भाग नखाने । मिलेसम्म घरमै बनाएको खानेकुरा खाने बानी बसाल्नुपर्छ । फलफूलको जुस र पानीले शरीरलाई धेरै फाइदा गर्छ ।

मुटुरोगका लक्षण के–के हुन् ?

हिँडडुल गर्दा, भर्‍याङ चढ्दा श्वास फेर्न गाह्रो भए, छाती दुख्ने र भारी भए, काम गर्न असजिलो महसुस भए तत्काल स्वास्थ्य परीक्षण गराई चिकित्सकको परामर्शमा उपचार थाल्नुपर्छ ।

मुटुको उपचार किन महँगो भएको होला ?

मुटु उपचार सर्वसुलभ बनाउन सरकारको स्वास्थ्य नीतिमा परिवर्तन र समीक्षा जरुरी छ । गम्भीर प्रकारको नसर्ने रोगको हकमा सरकारको लगानी बढाउनुपर्छ । जुन अनुपातमा स्वास्थ्यको बजेट बढ्नुपर्ने हो, छैन । स्वास्थ्यलाई मौलिक अधिकार भन्छौं तर व्यवहारमा देखिँदैन । हामी आफैं पनि सचेत हुनुपर्छ । भरसक रोग लाग्नै दिनु हुँदैन ।

गाउँका बासिन्दा कत्तिको जोखिममा छन् ?

हाम्रो भान्छामा के पाक्छ भन्ने नै मुख्य हो । रेमिट्यान्स र सूचना–प्रविधिमा आएको परिवर्तनले ग्रामीण जीवनशैलीलाई प्रत्यक्ष असर गरेको छ । हाम्रो खानपान र जीवनपद्धति बदलिदिएको छ । रैथाने खानेकुराभन्दा सहरका जंक फुडतिर मानिसहरू आकर्षित छन् । खेतबारी बाँझो राख्दा शरीरले पनि परिश्रम पाएन । यी सबै मुटुरोगका कारण बनेका छन् ।

विदेश बस्ने नेपाली युवामा पनि मुटुरोग व्यापक हुँदै गएको सुनिन्छ नि ?

हामी विदेशमा रहेका युवाले सामाजिक सञ्जालमा रमाइलो गरेको फोटो–भिडियो हेरेर उनीहरू सुखी छन् भन्ने सोच्छौं । तर वास्तविकता फरक छ । मकहाँ जाँच्न आउने धेरै युवामा मुटुसम्बन्धी समस्या देख्ने गरेको छु । छिटो पैसा कमाउने होडबाजीले शरीरले आराम पाएन । नियमित स्वास्थ्य परीक्षण नगर्ने र अन्तिम समयमा अस्पताल पुग्ने कारणले विकसित देशमा बस्ने युवाले पनि अमूल्य जीवन गुमाइरहेका छन् । हामीकहाँ नियमित स्वास्थ्य परीक्षण गर्ने जनचेतनाको कमी छ । अब पाठ्यसामग्रीमै यो विषय राख्नुपर्छ । जुन देशको नागरिक स्वस्थ हुँदैन, त्यसले दक्ष जनशक्ति पनि पाउँदैन । अनि कसरी देशले उन्नति गर्छ ?

यससँग जोडिएको कुनै अविस्मरणीय घटना पनि छ कि ?

केही समयपहिले एक जना भाइले बेल्जियमबाट फोन गरेर छाती धेरै दुखेको र हिँडडुल गर्नै गाह्रो परेको बताए । त्यहाँ परीक्षण गर्दा रोग पत्ता नलागेर निराश भएका रहेछन् । उनका सबै कुरा सुनेपछि मैले सुरुदेखि अध्ययन गरेँ । उनको मुटुको दुई ठाउँबाट रगतको नलीमा ९० प्रतिशत रक्तप्रवाह कम भएको पत्ता लाग्यो ।

उपचारपछि उनी फेरि काम गर्न सक्ने गरी बेल्जियम फर्किए । रोग गम्भीर प्रकृतिको थियो । तर उनको विश्वास र हाम्रो उपचारले उनलाई जोगाउन सफल भयौं । यसले के प्रमाणित हुन्छ भने नेपालका अस्पताल अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सफल छन् । यसलाई अझ व्यवस्थित गर्न, पूर्वाधार र दक्ष स्वास्थ्यकर्मी उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्छ । सही समयमा उपचार गर्ने हो भने नेपालमा पनि निको पार्न सकिन्छ ।

फोटा : आभाष राजभण्डारी

 

प्रतिक्रिया दिनुहोस्