
बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ ।
वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जिप रिक्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
पिकअप सडकदेखि करीब एक हजार २ सय मिटर तल खसेको प्रहरी चौकी तमानखोलास्थित बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ । यात्रु छाडेर फर्कदै गरेको जिप घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिए ।