बागलुङमा सञ्चालित व्यावसायिक प्रतिष्ठानहरूले औसतमा ३ दशमलव ४ जनालाई रोजगारी दिएको पाइएको छ । सोमबार सार्वजनिक प्रथम राष्ट्रिय आर्थिक गणनाको नतिजाले यस्तो देखाएको हो ।
जिल्ला तथ्यांक कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार यहाँ २०७५ जेठ मसान्तसम्म आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान ८ हजार ९ सय २३ पुगेका छन् ।
निजी साझेदारी तथा सरकारी रुपमा स्थापित प्रतिष्ठानहरुले ३० हजार ३ सय ७२ जनालाई रोजगारी दिएका छन् । यिनमा १६ हजार १ सय ५५ जना पुरुष र १४ हजार २ सय १७ जना महिलाले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाइरहेको तथ्यांक अधिकृत मुकुन्द शर्मा पौडेलले बताए ।
गण्डकी प्रदेशका जिल्लामध्ये ८ दशमलव ९ प्रतिशत मात्रै प्रतिष्ठान रहेको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ५२ प्रतिशत र सबैभन्दा कम बरेङ गाउँपालिकामा २ दशमलव ६ प्रतिशत प्रतिष्ठान स्थापना भएको तथ्यांकमा उल्लेख छ ।
२०७५ वैशाख १ देखि जेठ मसान्तसम्म गरिएको गणनामा विभिन्न १८ विधाका प्रतिष्ठानलाई समेटिएको थियो । कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति पानी, फोहोर व्यवस्थापनदेखि वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप र कला तथा मनोरञ्जनसम्मका उद्योगमा गणना गरिएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
दुई महिनासम्म खटिएका ३८ जना गणकले प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पुँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलब, ज्यालाखर्च आदि विवरण संकलन गरेका थिए ।
नतिजा सार्वजनिक कार्यक्रममा वक्ताहरूले परिणाममुखी हुनुपर्नेमा जोड दिए । तथ्यांक सही भएमा मात्रै हरेक क्रियाकलाप सही तरिकाले अघि बढ्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष दिल शिरीष, जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्मा, जिल्ला प्रसाशन कार्यालयका प्रशासकीय अधिकृत केशवराज शर्मालगायतले धारणा राखेका थिए ।













































































































































































































