२ जेष्ठ २०८१, बुधबार

 

कसले बनायो विश्वको पहिलो नक्सा ?

समय र प्रविधिले निकै फड्को मारिसक्यो । आज हरेकको खल्तीमै अटाएको छ संसारै । विश्वको कुनै पनि कुनो अब मात्र एक ‘क्लिक’को दूरीमा छ ।हामी सबै प्रविधिको सहारामा ढुक्कले जीवनयात्रा गरिरहेछौं । हामी हराउने छैनौं किनकि हामीसँग गुगल म्याप छ ।

तर आजभन्दा पाँच सय वर्षअघि यस्तो सुविधा थिएन । त्यति बेला मानिस कसरी यात्रा गर्थे होलान् ?

उनीहरूलाई समुद्र र महाद्वीप कति छन्, बेलायत कता पर्छ भन्ने कुनै जानकारी थिएन । तैपनि साहसीहरू डुङ्गामा वा पैदलै घुम्न निस्कन्थे । विश्वको नक्सा कागजमा समेत राम्ररी कोरिइनसकेको समय थियो त्यो ।

विश्वको पहिलो नक्सा
विश्वको नक्सा कोर्ने सुरुआती चरणमा आधा–अधुरा तस्बिर समेटिएका हुन्थे । त्यति बेला नक्सा बनाउने केन्द्र इटालीको सहरमा थियो ।

इटाली र स्पेनका कारोबारी र अनुसन्धाता उत्साहपूर्वक विश्वको खोजीमा निस्कन्थे । यात्रामा जे जस्तो देखे, फर्केपछि त्यसलाई नक्सामा उतार्थे । यसबाट पुरानो नक्सामा स्वतः सुधार हुँदै आउँथ्यो ।

विश्वको पहिलो नक्सा युरोपमा सन् १४४८ मा तयार भएको थियो । भेनिसका मानचित्रकार जियोवान्नी लिआर्दोले छालामा बनाएको उक्त नक्सा निकै सुन्दर देखिन्थ्यो । नाम दिइएको थियो– प्लेनिस्फेरो ।
युनानी–रामन विद्वान् टलेमिकको भूकेन्द्रीय मोडल, इसाईहरूको श्रद्धा, अरबी भौगोलक सिद्धान्त र वैज्ञानिक फर्मुला यसै नक्साका आधारमा सामेल थिए । नक्सामा सबै प्रायःद्वीपलाई तिनै नामबाट रेखांकित गरियो, जे भनेर त्यति बेला युरोपका मानिसहरू जान्दथे ।

प्लेनिस्फेरो ल्याटिन भाषाको शब्द हो । ‘प्लेनस’ अर्थात् समतल र ‘स्फेरस’ अर्थात् गोलो । मानचित्रकार जियोवान्नी लिआर्दोको हस्ताक्षरसहितका केवल तीन नक्सा अहिले उपलब्ध छन् । सबैभन्दा पुरानो नक्सा सन् १४४२ को हो जुन इटालीको मध्यकालीन सहर वेनेराको बिबलियोटेका कम्युनेला नामको लाइब्रेरीमा सुरक्षित छ । अमेरिकाको जियोग्राफिकल सोसाइटी लाइब्रेरीमा राखिएको लिआर्दोको अन्तिम मानचित्र १४५२ को हो ।

नक्सामा आधारित हजारौँ किताब
इटालीमा १४४८ मा एउटा नक्सा तयार गरिएको थियो । जुन अहिले त्यहीँको भेनिसस्थित बिबलियोटेका सिभिका बर्टिलोनिया लाइब्रेरीमा छ । भनिन्छ, त्यहाँ अहिले नक्सामाथि हजारौँ किताब र हस्तलिपि छन् । ती सबैलाई फैलाउने हो भने १९ किलोमिटर ठाउँ ओगट्छ ।

इटालीको भिसेन्जा सहरमा धनीहरू बस्थे । उनीहरू नक्सा, गाइड र मूल्यवान् किताब लाइब्रेरीलाई दान दिन्थे । १५ र १६औँ शताब्दीमा खोज यात्रामा निस्कनेका लागि यी नक्साले ट्राभल गाइडको काम गर्थे । यिनै नक्साका आधारमा विश्वका थुप्रै भाग पत्ता लगाएका पनि थिए ।

१५–१६औँ शताब्दीको अन्त्यतिर प्रिन्टिङ सुरु भयो । यसले नक्सा छाप्ने काममा क्रान्ति ल्याइदियो । नाविक र व्यापारीबाट जे–जति जानकारी मिल्थे, तिनलाई छापेर धेरैभन्दा धेरै मानिससम्म पु¥याउने काम भयो ।
प्रिन्टिङ प्रविधि आउँदा लिआर्दोको प्लेनिस्फेरो पुरानो भइसकेको थियो । आज हामी विश्वलाई जति बुझ्छौं, तिनै नाविक र व्यापारीले दिएको जानकारीकै आधारमा हो ।

टोलेमीको भूमिका
टोलेमीका अनुसार संसार समतल र ७० डिग्री चौडा फराकिलो छ । टोलेमीलाई थाहा थियो कि भारत, चीन, युरोप पूर्वमा पर्छ । यिनै जानकारी समेटेर उनले बनाएको मानचित्रका आधारमा १५ औँ शताब्दीमा खोजकर्ताहरूले आफ्नो यात्रा सुरु गरेका थिए ।

टोलेमीको नक्साको पहिलो कपी ल्याटिनमा सन् १४४७ मा छापिएको थियो । उनलाई मान्छेहरूले गणितज्ञ, भूगोलको जानकार र ज्योतिष भनेर चिन्थे । उनै टोलेमीलाई रोमन साम्राज्यमा विश्वको भूगोल बताउने जिम्मेवारी दिइयो ।

थुप्रै वर्षसम्म टोलेमीको भूज्ञानलाई सही मानियो । तर दुर्भाग्य, उनको नक्साको खजाना हरायो । त्यसपछि १३ औँ शताब्दीमा बाइजेन्टाइन साम्राज्यमा म्याक्सिमम प्लेनुडसले नयाँ ढङ्गबाट विश्वको खोजी सुरु गरे । १४०७ सम्म टोलेमीले जम्मा गरेका जानकारीलाई ग्रिकबाट ल्याटिन भाषामा हातले लेखिएको थियो । त्यसैका आधारमा नयाँ तरिकाले नक्सा बनाइन थाले ।
सन् १४७५ को टोलेमीको हस्तलिपिमा नक्सा समावेश थिएन । अनुभवका आधारमा लेखिएको जानकारी मात्रै थियो । तर पछिका नक्सामा हातले रङ पनि भरिन थाल्यो ।
जमिन दर्साउन पहेँलो, समुद्रका लागि निलो रङ प्रयोग भयो । किताबमा लेखकको नाम भने हुँदैनथ्यो ।

पहिलो एटलस– थिएटर अफ द वल्र्ड
सन् १५७० मा एटलस छापिएको थियो । जसको नाम थियो, थिएटर अफ द वल्र्ड । यसलाई पहिले आधुनिक नक्सा पनि भनिन्थ्यो । यो नक्सा फ्लेमिस स्कलर र भूवैज्ञानिक अब्राहम अटे«लियसले लेखेका थिए ।
पहिलोपटक एटलसमा मानचित्रसहित विस्तृत जानकारी पनि समेटिएको थियो जसमा मरुभूमि दर्साउन उँट र खजुरका रूख बनाइएको थियो । यस्तै नक्साको छपाइका लागि पहिलोपटक कपरप्लेटको प्रयोग पनि गरियो । आज पनि त्यो नक्सामा चमक देखिन्छ ।

–मीनराज वसन्त (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्