३ जेष्ठ २०८१, बिहीबार

 

‘बागलुङलाई व्यावसायिक गन्तव्यका रूपमा विकास गर्दै छौं ’

नरेश कँडेल, महासचिव, बागलुङ उद्योग वाणिज्य संघ

 

पुस ११ देखि बागलुङ महोत्सव गर्दै हुनुहुन्छ । यसको मुख्य उद्देश्य के हो ?

बागलुङ व्यावसायिक इतिहास बोकेको जिल्ला हो । हाम्रा पुर्खाले तीन सय वर्षदेखि यो क्षेत्रमा व्यवसाय र घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् । बागलुङको सीप, ज्ञानलाई व्यवसायीकरण गर्न, स्थानीय उत्पादनको बजारसम्म पहुँच बनाउन र समग्र धौलागिरिमा लगानीअनुकूल वातावरण रहेको सन्देश दिन महोत्सव गर्न लागेका हौं ।

बागलुङमा भए पनि महोत्सवलाई गण्डकी प्रदेशस्तरीय भनिएको छ नि ?

बागलुङ कृषि, पर्यटन, धार्मिक पर्यटन, ऊर्जा, घरेलु उद्योग, शिक्षा, स्वास्थ्य र सेवा क्षेत्रमा समग्र प्रदेशकै प्रतिनिधित्व गर्न सक्ने जिल्ला हो । लामो समयदेखि अग्रजहरूले यो क्षेत्रमा काम गर्दै आएका छन् । कृषि, पशुपालन, होमस्टे, होटल, रिसोर्ट, ऊर्जा, धार्मिक पर्यटनको क्षेत्रमा केही समयदेखि पूर्वाधारको काम भएको भएकाले आन्तरिक पर्यटक आउने क्रम बढेको छ । सुविधासम्पन्न मार्ट र फिल्म हल सञ्चालनमा आएका छन् । बागलुङमा लगानी गर्नुस्, प्रतिफल लानुस् भन्नका लागि पनि महोत्सवले प्रत्यक्ष काम गर्नेछ ।

महोत्सवको सामाजिक उत्तरदायित्व के हो ?

हामीले बागलुङ महोत्सवलाई लोककल्याण र सामाजिक जिम्मेवारीसँग जोड्न लागेका छौं । यसका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम सार्वजनिक गरेका छौं । महोत्सवले धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको हितमा ५ लाखको शैक्षिक कोष निर्माण गर्दै छ । यसले शिक्षामा पहुँच नभएका सर्वसाधारणका छोराछोरीलाई शिक्षा हासिल गर्ने अधिकार सुनिश्चित गर्नेछ । हामीले महोत्सवको प्रत्येक टिकटबाट बागलुङ नगरपालिका–३ किनारा टोलमा सञ्चालित मानव सेवा आश्रमलाई ४ रुपैयाँ प्रदान गर्दै छौं ।

यो रकमबाट असहाय र घरबारविहीन नागरिकलाई संरक्षण दिइरहेको आश्रमलाई ठूलो राहत हुनेछ । बागलुङ बजारको सुरक्षाका लागि सिसी क्यामरा जडानको कामलाई अगाडि बढाउन लागेका छौं । गाउँसहरका व्यापारीलाई वित्तीय साक्षरता कार्यक्रम, रात्रिकालीन कक्षाका लागि उज्यालो पठनपाठन कार्यक्रमअन्तर्गत सोलार बत्ती र आर्थिक क्षेत्रमा खोजमूलक समाचार बाहिर ल्याउने दुई जना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम छ ।

महोत्सवको पूर्वसन्ध्यामा लगानी गोष्ठी कार्यक्रम राख्नुको मुख्य उद्देश्य के हो ?

बागलुङको आर्थिक बजारलाई विस्तार गर्न, कारोबार थप चलायमान् गराउन, नयाँ रोजगारी सिर्जना गर्न, व्यवसायीको मनोबल उच्च बनाउन, युवा व्यवसायीलाई नयाँ क्षेत्रमा लगानीका लागि प्रेरित गर्न, राष्ट्रिय पुँजीपतिमार्फत ठूलो लगानी भित्र्याउन र बागलुङमा लगानीको वातावरण छ भनेर राष्ट्रिय रूपमा सन्देश दिन पहिलोपटक लगानी गोष्ठी गर्न लागेका हौं ।

गोष्ठीको नारा के राख्नुभएको छ ?

हामीले लगानी गोष्ठीलाई सार्थकता प्रदान गर्न ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ नारा राखेका छौं ।

महोत्सवमा खर्च मात्र बढी भयो, आयोजकले बचत गर्न सकेनन् भनेर आलोचना हुँदै आएको छ नि ?

पहाडी भेगमा रहेका उद्योग वाणिज्य संघ सञ्चालनका आफ्नै चुनौती र समस्या छन् । २०२० सालमा शिवकुमार प्रधानको नेतृत्वमा गुद्रीमा सुरु भएको बागलुङ उद्योग वाणिज्य संघले धेरै समयपछि मात्र आफ्नो भवन पायो ।
२०३८ सालमा रामनारायण श्रेष्ठ अध्यक्ष हुँदा ढिकुरी बनाएर संघको भवन निर्माण गर्न जग्गा खरिद गरियो । तत्कालीन अञ्चलाधीश ऋतुवर्ण तुम्फाहाम्फेले शिलान्याश गरेको भवन २०४२ सालमा श्यामप्रसाद वझान्थाछेको पालामा मात्र निर्माण सुरु भयो । शैलेन्द्रकुमार श्रेष्ठ हुँदै वसन्तकुमार श्रेष्ठको पालामा भवनले पूर्णता पाएको हो ।

विगतका महोत्सवमा पैसा बचत नभएको कुरा सत्य होइन । लक्ष्यअनुुसार धेरै रकम बचत नभएको चाहिँ हुन सक्छ । हाम्रो जस्तो महोत्सव गर्ने पूर्वाधार नभएका पहाडी जिल्लामा आयोजकलाई धेरै चुनौती छन् । महोत्सवमा धेरै पैसा बचत गर्न नसकेको आरोप चिर्दै यसपालि योजनाबद्ध रूपमा कसरी लक्ष्य हासिल गर्न सकिन्छ भनेर लागिपरेका छौं ।

उद्योग वाणिज्य संघलाई संस्थागत रूपमा बलियो बनाउन संघको कोष बढाउँदै लगेका छौं ।जयराम भारी अध्यक्ष र विदेश कुमार श्रेष्ठ कोषाध्यक्ष भएको पालामा ५ लाखको कोषमा ११ लाख थपेर १६ लाख पुर्याउँनु भएको थियो । अझ धेरै रकम थपेर संघलाई आर्थिक रूपमा प्रभावकारी बनाउन लागेका छौं ।

प्रतिक्रिया दिनुहोस्