६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ जिल्ला बचत तथा ऋण सहकारीको आठौं साधारणसभा सम्पन्न

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले निजी क्षेत्रसँगको सहकार्यविना सरकारले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् ।बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारणसभामा उनले सहकारी रोजगारी र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए ।

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतम, कोतमैदान बचत तथा ऋण सकारी संस्था गलकोटका अध्यक्ष रामबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सधारणसभामा संघका सचिव ऋषिराम गौतमले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लीलादेवी खड्काले आर्थिक र लेखा समिति संयोजक महेन्द्रसिंह रायमाझीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे ।त्यस अवसरमा उत्कृष्ट बचतकर्ताका रूपमा नीलगिरि साकोस, उत्कृष्ट कारोबारमा महिलाहित साकोस र उत्कृष्ट ऋण कारोबारमा मिलिजुली महिला साकोसलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभाका अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोगमा सम्पत्ति शुद्धीकरणसम्बन्धी गोष्ठी, सदस्यसँग नेफ्स्कुन अभिमुखीकरण, आन्तरिक राजस्व कार्यालय बागलुङ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक सहयोगमा कर र बिमा विषयक अन्तरक्रियासमेत सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय प्रमुख हेमराज सुवेदीले करसम्बन्धी प्रशिक्षण दिँदै राज्यले ल्याएको करसम्बन्धी नीतिलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरे । जनताको करबाट नै भौतिक पूर्वाधारको विकास र सामाजिक काम हुने भएकाले कर देशको हितका लागि प्रयोग हुने बताए । कार्यक्रममा नेफ्स्कुन क्षेत्रीय कार्यालय पोखराका अनुगमन अधिकृत पवनजंग मल्लले संस्थाले प्रदान गर्ने सेवासुविधालगायत विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्