बागलुङ । धौलागिरि अस्पताल बागलुङको आयोजना र जैमिनी नगरपालिकाको व्यवस्थापनमा पाठेघर तथा आङ खसेका महिलाहरुको लागि निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
जैमिनी नगरपालिका वडा नं १ कुश्मिसेराको प्राथमिक स्वास्थ केन्द्रमा निःशुल्क १ दिने स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा उपस्थित ९४ जना महिला सेवाग्राहीहरुलाई पाठेघर तथा आङ खसेका परीक्षण र परामर्श सेवा समेत दिईएको थियो ।
परीक्षणमा ७ जना महिलाको आङ खसेको र दुई जनाको पाठेघरको मुखमा मासु पलाएको पत्ता लागेको र उनीहरुको धौलागिरि अस्पतालमै उपचार हुने डा रेखा पौडेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

शिविरबाट लुकेर बसेका समस्याहरु समेत पहिचान भएकालाई उपचारका दायरामा ल्याउन मद्दत पुग्ने पौडेलले बताउनु भयो ।
पाठेघर खस्ने समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेको पाइएकोले महिलाहरुको समस्या झन् जटिल बन्दै गएको छ।
]शिविरमा तीन जना चिकित्सक, चार जना नर्सिङ स्ताफ र पाँच जना स्वास्थ्यकर्मीलगाएतको टोलीले सेवा दिएका थिए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्मा, धौलागिरि अस्पतालका डा रेखा पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम धौलागिरि अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता र मेडिकल रेकर्डर नवराज शर्माको सञ्चालनले सम्पन्न भएको थियो ।


















































































































































































































