एकता सहकारी संस्था लिमिटेड बागलुङ र कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिबार संयुक्त कार्यक्रम गरी एकीकरण प्रक्रिया सुरु भएको घोषणा गरेका छन् ।
सहकारी ऐनमा रहेका प्रावधान, सहकारीबीच एकीकरणको आवश्यकता आत्मसात् गरेर एकीकरण प्रक्रिया अगाडि बढाइएको एकता सहकारीका अध्यक्ष ध्रुवप्रसाद शर्माले बताए ।
‘सहकारी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन एकीकृत हुनुपर्ने आवश्यकता महसुस भयो,’ कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष प्रमिला राजभण्डारीले भनिन् ।
एकीकृत संस्थाको कार्यालय एकता सहकारी संस्था रहने र आगामी साधारणसभाबाट एकीकरणका सम्पूर्ण प्रक्रिया पूरा गर्ने कार्यक्रममा जानकारी दिइयो ।
एकीकृत संस्थामा ९ सय ९७ जना सेयर सदस्य, ८ करोड ३ लाख ७२ हजार ८ सय सेयर रकम, २३ करोड ८३ लाख ९९ हजार ७ सय ८९ बचत रकम, २२ करोड ७० लाख ९० हजार ५ सय ६६ कर्जा लगानी, १ करोड ३ लाख ८८ हजार ९ सय ८४ रुपैयाँ जगेडा कोषसहित ३८ करोड ७१ लाख ३८ हजार ५ सय ६३ रुपैयाँ कुल कारोबार रहेको एकता सहकारीका प्रबन्धक दीपकजंग राजभण्डारीले जानकारी दिए । एकीकृत संस्थामार्फत १४ जनाले रोजगारी पाएको उनले बताए ।
एकता सहकारीका संरक्षक देवबहादुर क्षेष्ठले राज्यको नीति र व्यावहारिकतालाई ध्यान दिएर सहकारीहरू एकीकरण हुनुको विकल्प नभएको उल्लेख गरे ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीहरूको मुख्य काम सदस्यहरूलाई प्रभावकारी सेवा दिने भएकाले संस्थाको संस्थागत विकासका लागि एकीकरण आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सहकारीको मर्म र भावनाअनुसार सदस्यहरूको आर्थिक–सामाजिक रूपान्तरणका लागि प्रविधियुक्त भएर अगाडि बढ्न एकीकरणले सहयोग पुग्ने धारणा व्यक्त गरे ।



















































































































































































































