५ जेष्ठ २०८१, शनिबार

 

वीरगन्जमा संक्रमण झन् तीव्र, साउनयता मात्र ११ को मृत्यु, लक्षणसहितका संक्रमित बढ्दै

साउनयता वीरगन्जमा कोरोना संक्रमणकै कारण ११ जनाको मृत्यु भइसकेको छ । शनिबार मात्र वीरगन्ज–१६ का दुई महिलाले कोरोनाबाट ज्यान गुमाए । मृत्यु हुनेमध्ये दुई जनाबाहेक सबैलाई कुनै न कुनै गम्भीर रोग भएको देखिन्छ।

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहका अनुसार मृतकहरूमा दम, मुटु, रक्तचाप र निमोनियाको समस्या थियो ।

मृत्यु हुनेमा ७ पुरुष र ४ महिला छन्। तिनमा एक जना जगदम्बा इन्टरप्राइजेजका सीईओ भारतीय नागरिक हुन् । मृतकमध्ये ९ जना ६० वर्षमाथिका छन्। बाँकी दुई जना १७ वर्षीया किशोरी र ३४ वर्षीय पुरुष हुन्। अहिलेसम्म वीरगन्जमा मात्र मृत्यु हुनेको संख्या १५ पुगेको छ जसमा दुई जना बारा र एक जना रौतहटका छन्।

पछिल्लो समय वीरगन्जमा जुन दरले संक्रमण फैलिरहेको छ, त्यसका आधारमा मृतक संख्या अझै बढ्ने संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूको ठम्याइ छ । होम आइसोलेसनमा बसेका संक्रमितहरूमा पनि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको खबर आइरहेको चिकित्सकहरू बताउँछन्।

अहिले वीरगन्जमा २ सय ३० भन्दा बढी सक्रिय संक्रमित छन्। तीमध्ये ६० जना गण्डक अस्पतालमा उपचाररत छन्। केही स्थानीय तहका आइसोलेसन त केही होम आइसोलेसनमा छन् ।

गण्डक अस्पतालका संयोजक डा. सिंह भन्छन्, ‘घरघरबाट फोन आइरहेको छ, कतिलाई ज्वरो र कतिलाई खोकीको समस्या देखापरेको भन्नुभएको छ। उहाँहरूलाई अस्पताल भर्ना गर्ने तयारी गर्दै छौं।’

लकडाउन अन्त्य भएसँगै खुला सीमाबाट हुने अव्यवस्थित आवतजावतले वीरगन्जमा संक्रमणको जोखिम ह्वात्तै बढेको छ। वीरगन्ज महानगरपालिकाले संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष निकालेको छ।

यहाँ आइतबार मात्र थप ४५ जनामा संक्रमण पुष्टि भएको छ। अहिले अढाई सयआसपास रहेको संक्रमित संख्या साउनसम्ममा एक हजार नाघ्ने चिकित्सकहरूको अनुमान छ।

डा. सिंहका अनुसार अहिले संक्रमितमध्ये ५० प्रतिशतलाई लक्षण देखिएको छ। त्यसमा पनि १० प्रतिशतमा कडा लक्षण छ । कडा लक्षण देखिएकाहरूलाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको छ । सिंहले आठ जना संक्रमित आईसीयूमा उपचारपछि निको भएर घर फर्किएको बताए।

उनको बुझाइमा वीरगन्जमा एक हजार संक्रमित पुगे कम्तीमा ३० वटा आईसीयू आवश्यक पर्छ। गण्डक अस्पतालमा अहिले १० वटा आईसीयू र दुईवटा भेन्टिलेटर छन्।

जहाँ ६० जना संक्रमितको उपचार भइरहेको छ। तर सिंगो अस्पतालमा १० वटा आईसीयू हेर्ने जिम्मा एक जना विशेषज्ञ छन्। अर्का विशेषज्ञ आफैं संक्रमित छन् । डा. सिंहले आईसीयूमा खटिन थप तीन जना विशेषज्ञको आवश्यकता रहेको जनाए ।

साथै यहाँ विभिन्न अस्पतालका ९ जना चिकित्सकसहित २८ स्वास्थ्यकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ। अहिले उनीहरू उपचाररत छन् भने उनीहरूको सम्पर्कमा आएका ३० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा छन्।

यसले गर्दा पनि स्वास्थ्यकर्मी अभाव भएको डा. सिंह बताउँछन्। उनले ५ जना चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी तत्काल आवश्यक रहेको जानकारी दिए ।

‘हिजो मात्र निजी अस्पताल वीरगन्ज हेल्थ केयरसँग संक्रमितको उपचार गर्ने गरी सम्झौता भएको छ। त्यहाँ ३० वटा आईसीयू र १४ वटा भेन्टिलेटर छन्। यसलाई व्यवस्थित गर्न सकियो भने अहिलेको स्थितिलाई थेग्न सकिन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्