५ जेष्ठ २०८१, शनिबार

 

विज्ञ भन्छन्– काठमाडौं उपत्यकामा संक्रमण ह्वात्तै बढे अस्पतालले थेग्न सक्दैनन्

कोरोना संक्रमितको संख्या देशभरिको तुलनामा राजधानी काठमाडौंमा प्रतिशतका हिसाबले त्यति धेरै नदेखिए पनि स्वास्थ्य संकट निम्तिन नदिन निकै सजग हुनुपर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपालमा संक्रमितको संख्या २०, हजार नाघिसकेको छ । एक दशकअघिको जनगणनामा उपत्यकाको जनसंख्या २५ लाख देखिएको थियो। अहिले जनसंख्या उल्लेख्य वृद्धि भइसकेको अवस्थामा शनिबारसम्म उपत्यकामा ५८१ संक्रमित फेला परेका थिए। तीमध्ये ४ सयभन्दा बढी सक्रिय संक्रमित रहेको सरकारी तथ्यांक छ।

खास गरी लकडाउन खुकुलो पारिएपछि संक्रमण पुष्टि हुने क्रम हेर्दा संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने जोखिम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । लकडाउन खुकुलो पार्नुभन्दा ११ दिनअघि (असार २७ देखि साउन ६ सम्म) को विवरण हेर्दा झन्डै ४८ हजार पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४५ जनामा संक्रमण देखिएको थियो ।

तर साउन ७ देखि १७ गतेसम्मको विवरण हेर्दा झन्डै ५८ हजार परीक्षणमध्ये २ हजार ९२ वटामा कोरोना भाइरस देखियो । यसको अर्थ लकडाउनअघि र पछि संक्रमणको दर २ दशमलव ८ प्रतिशतबाट बढेर ३ दशमलव ६ प्रतिशत पुगेको छ।

केही सातादेखि वीरगन्ज र भारतसँग सीमा जोडिएका अन्य सहरमा संक्रमितको संख्या बढेको छ। काठमाडौंमा संक्रमण व्यापक रूपमा फैलिन सक्ने र बिरामीको संख्या ह्वात्तै बढ्न सक्ने जोखिम भएको डा. अधिकारी बताउँछन् । ठूलो जनघनत्व र मानिसहरूको निर्बाध आवतजावत भइरहेकाले त्यस्तो जोखिम भएको उनको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. सेनेन्द्रराज उप्रेतीले संक्रमण देखिएका अन्य जिल्लाबाट मानिसहरू आउने क्रम जारी रहेको र भविष्यमा बढ्न सक्ने भएकाले काठमाडौं जोखिममा रहेको बताए।

‘पछिल्लो समय काठमाडौं उपत्यकामा बाहिरबाट आएका मानिसको भन्दा फरक तरिकाले कोभिड–१९ पोजिटिभ भएकाहरू देखेका छौँ। खास गरी त्यस्ता मानिसहरू नाकामा देखिरहेका छौँ। परीक्षण नभई काठमाडौं छिरेका मानिस पनि छन् र त्यस्ता मानिस ० दशमलव ७ प्रतिशत छन्। ती व्यक्तिबाट पनि अरूलाई सरेको हुन सक्छ,’ डा. अधिकारीले भने ।

त्यसबाहेक समुदायमा गरिएको परीक्षणमा अन्यत्र यात्रा नगरेका मानिसमा पनि कोरोना देखिएकाले जोखिम धेरै रहेको ठानिएको उनले बताए।संक्रमणदर ह्वात्तै बढे बिरामीको चाप अस्पतालहरूले थेग्न कठिन हुनेतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन्।

सरकारसँग लकडाउन सुरु गरेको समयमा आईसीयू शय्या १५५१ र ७७० भेन्टिलेटर रहेकोमा अहिले त्यो संख्यामा २ सयजति मात्रै वृद्धि भएको तथ्यांकले देखाउँछ। अहिले उपलब्ध शय्या र भेन्टिलेटर संक्रमितहरूको संख्या बढ्दै जाँदा बिरामीको चाप थेप्न पर्याप्त नहुने उनीहरूको तर्क छ। ‘त्यसैले हाम्रो प्राथमिकता भनेकै संक्रमणको रोकथाम हो। बिरामीको संख्या बढ्न थालेपछि क्षमताले नभ्याउन सक्छ,’ अधिकारीले भने।

संक्रमित बढेपछि झापा, विराटनगर, बाँके, वीरगन्जजस्ता सहरमा फेरि लकडाउन गरिएको छ । संक्रमितको संख्या बढिरहँदा अस्पतालले पर्याप्त सेवा दिन नसकिरहेको भनिएको वीरगन्जमा निषेधाज्ञा नै जारी गरिएको छ।ट्राफिक प्रहरीलाई कोरोना देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा पनि सिल गरिएको छ ।

‘सीमामा परीक्षण कडाइ गर्नैपर्छ। त्यसबाहेक सर्वासाधारण आफैँ पनि सचेत हुनुपर्छ। लकडाउन खुलेको अवस्थामा जोखिम नै नभए जसरी अनावश्यक हिँडडुल गर्ने, मास्क नलगाउने र भौतिक दूरी कायम नगर्दा जोखिम धेरै रहन्छ,’ डा. उप्रेतीले भने ।

प्रतिक्रिया दिनुहोस्