
विद्यामन्दिर पुस्तकालय बागलुङले २० विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरेको छ ।श्रमिक, मजदुरलगायत कोरोनाका कारण समस्या झेलिरहेका विपन्न परिवारका सदस्यलाई राहत बाँडिएको पुस्तकालयले जनाएको छ ।
मालढुङ्गा खुदुर्केमा बिहीबार आयोजित कार्यक्रममा बागलुङ नगरपालिका– ३ का वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्मालगायतले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।
राहत पाउनेमा फोहोर सङ्कलन गर्ने, गिट्टी कुट्ने र दैनिक ज्याला मजदुरी गरेर जिवीका चलाउनेहरु छन् । राहत वितरणपछि बोल्दै वडाध्यक्ष बाँस्कोटाले भन्नुभयो, “सानो सहयोगले पनि कसैको चूल्हो बल्छ, घाउमा मलम पुग्छ, पुस्तकालयले राम्रो काम गरेको छ, पाउनुपर्ने वर्गले राहत पाउनुभएको छ ।”
पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले रिड नेपालबाट प्राप्त रु. २५ हजारमा पुस्तकालयको तर्फबाट रु. १० हजार थप गरी रु. ३५ हजार बराबरको खाद्यन्न सामग्री वितरण गरिएको बताउनुभयो ।
“कोरानाबाट प्रभावित विपन्न वर्ग, अल्पसङ्ख्यक, अपाङ्गता भएकालगायतलाई राहत प्रदान गर्ने रिड नेपालको देशव्यापी कार्यक्रम अन्तर्गत विद्यामन्दिर पुस्तकालय पनि छनोट भएको थियो”, उहाँले भन्नुभयो, “हामीले वास्तविक समस्यामा रहेका परिवार पहिचान गरेर राहत बाँडेका हौँ ।”
राहतमा एक बोरा चामल, दाल, नुन, तेललगायतका सामग्री प्रदान गरिएको पुस्तकालयले जनाएको छ ।कार्यक्रमको संचालन पुस्तकालयका सचिव रामचन्द्र शर्माले गरेका थिए । १९९६ सालमा ओमप्रसाद गौचन र मेघ कुमार वैधले स्थापना गरकोे विद्यामन्दिर पुस्तकालय राणाकालमा स्थापना भएको देशकै ऐतिहासिक पुस्तकालय हो ।