६ जेष्ठ २०८१, आईतवार

 

विज्ञहरू भन्छन्, ‘निषेधाज्ञाले मात्र सधैं हुँदैन ।’, ‘परीक्षण र आइसोलेसनको पर्याप्त तयारी चाहिन्छ’

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा यतिखेर निषेधाज्ञा छ । हाल देशका आधाभन्दा बढी जिल्लाले निषेधाज्ञा जारी गरेका छन् ।बिहीबारसम्म ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए।

संघीय सरकारले देशव्यापी लकडाउनलाई साउन पहिलो हप्तादेखि खुकुलो पारेपछि संक्रमित र मृत्यु हुनेको संख्यामा उल्लेख वृद्धि देखिएको छ । धेरै संक्रमित देखिनेमा संघीय राजधानी काठमाडौं पनि छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले विभिन्न गतिविधि गर्न,गराउन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमााडौंले जारी गरेको निषेधाज्ञामा उल्लेख छ ।

जनस्वास्थ्यविद्हरू ‘ट्रान्समिसन चेन ब्रेक’ गर्न निषेधाज्ञा वा लकडाउन राम्रो विकल्प भए पनि हालसम्म अपनाइँदै आएको रणनीतिमा केही परिवर्तन ल्याउनुपर्ने सुझाउँछन् । पूर्वस्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती भन्छन्, ‘केही हदसम्म आर्थिक गतिविधिलाई पनि निरन्तरता दिँदै हामीले ठाउँविशेष रणनीति अख्तियार गर्नुपर्ने हुन्छ।’

त्यसमा जनस्वास्थ्यविद् डा. सुरेश तिवारी पनि सहमति छन्, ‘जहाँ आगो लागेको हो त्यहीँ पानी खन्याउने हो। आगो नलागेको ठाउँमा पानी हाल्न हुँदैन, इपिडिमियोजीमा पनि यही सिद्धान्त हो । जहाँ दुई सय वा सोभन्दा बढी सक्रिय संक्रमित छन् त्यहाँ मानिसहरूको गतिविधिलाई निषेध गरौँ र वरपरका जिल्ला चनाखो होऊँ भन्ने कुरा हामीले सुरुदेखि भन्दै आएको हो ।’

लकडाउन वा निषेधाज्ञाका बेला र त्यसपछि गरिने काम महत्त्वपूर्ण भएको अर्का जनस्वास्थ्यविद् डा. शरदराज वन्तको तर्क छ । विगतमा लकडाउनपछिका गतिविधिलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकार चुकेको उनको ठम्याइ छ । ‘भविष्यमा सधैँ लकडाउन वा निषेधाज्ञाको अवस्थामा रहिरहन त सम्भव हुँदैन।

अब पनि निषेधाज्ञा खुलेर पहिलाजस्तै भयो भने त यो चक्र चलिरहन्छ। त्यसैले अब चाहिँ कडाइका साथ सामाजिक दूरी कायम गराउने, बढीभन्दा बढी कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमणको उच्च जोखिममा रहेकाहरूको परीक्षण गर्ने र आइसोलेसनको पर्याप्त तयारी हुनुपर्छ,’ वन्तले थपे ।

जनस्वास्थ्यविद् तिवारीका अनुसार कोरोना भाइरस महामारीसँग जुझ्ने क्रममा नेपालका लागि देखिएको सबैभन्दा ठूलो चुनौती भनेको कन्ट्याक्ट ट्रेसिङ हो । ‘एउटा संक्रमितले विगत पाँच(सात दिन कति जनाको सम्पर्क रहे भन्ने कुरासम्म नै हामी प्रभावकारी ढंगले पुग्न सकिरहेका छैनौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्