५ जेष्ठ २०८१, शनिबार

 

औषधि पसल र क्लिनिकलाई प्रजिअ न्यौपानेको निर्देशन– कोरोनाको लक्षण देखिएका बिरामी आए तत्काल अस्पताल पठाइहाल्नू

बागलुङमा कोरोनाको लक्षण देखिएका, ज्वरो–खोकी लागेका बिरामीलाई तत्काल अस्पताल पठाइहाल्न प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले निर्देशन दिएका छन् ।

बागलुङ बजारमा कोरोनाको लक्षण भएका बिरामी औषधि पसल र निजी क्लिनिक–अस्पताल धाइरहेको समाचार सार्वजनिक भएपछि प्रशासनले सक्रियता देखाएको हो ।

प्रजिअ न्यौपानेले औषधि व्यवसायी संघ बागलुङका अध्यक्ष इन्द्र थापालाई औषधि पसल सञ्चालकहरूलाई भनेर त्यस्ता बिरामी आउनासाथ अस्पताल पठाइहाल्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

बानपा–३ हाडेपाखामा कुखुरा व्यवसाय गर्ने महिलाले उपचारका लागि सबैभन्दा पहिले बानपा–२ बालमन्दिर रोडको एक पसलबाट औषधि लगेको पाइएको छ ।

विदामा आएको संक्रमित एक सेनाको जवानलाई पनि ज्वरो र खोकी लागेपछि पहिला निजी औषधी पसलमा गएर औषधी किनेको खुलेको छ । उनलाई सेनाको एम्बुलेन्सले साँझ धौलागिरि अस्पतालमा लगेको थियो ।

‘यस्ता घटना बढ्न थालेको सूचना पाएपछि निषेधाज्ञा प्रभावकारी बनाउन र कोरोना रोकथाम–नियन्त्रणमा कडाइ गर्न औषधि व्यवसायीहरूलाई कोरोनाको लक्षण भएका बिरामीको निजी औषधि पसल र निजी अस्पतालमा उपचार नगर्न कडा निर्देशन दिइएको छ,’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले नयाँ विश्वसँग भने ।

ज्वरो, खोकी र रुघा लागेका धेरै व्यक्ति अस्पताल नगई बाहिरै औषधि किनेर घरमै बसेका छन् । यसको खासै खोजी नभएको नागरिक समाजका सदस्य राम शर्माले बताए ।

यस्तो घटना हुँदा पनि बागलुङ नगरपालिकाले अनुगमन गरेको छैन भने अधिकांश औषधि पसल र निजी अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेका छैनन् ।

बागलुङ बजारमा साउन दोस्रो सातादेखि समुदायमा कोरोना फैलिएको छ । जनप्रतिनिधि, व्यवसायी, मजदुर र स्वास्थ्यकर्मी गरी १८ जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

अस्पतालको  आइसोलेसनेमा १२ पुरुष र ६ महिला छन ।बागलुङमा चैत पहिलो सातादेखि कोरोना संक्रमण देखिएको र अहिले समुदाय स्तरमा फैलिँदा पनि नगरपालिकाले गम्भीर पहल गरेको छैन । गत एक सातामा बागलुङ बजारमा ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस विषयमा औषधि पसल, पोलिक्लिनिक र निजी अस्पताललाई मौखिक जानकारी गराइसकिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

कोरोना समुदाय स्तरमा फैलिरहँदा पनि बागलुङ नगरपालिकाले सूचना निकाल्नेबाहेक औषधि पसल र निजी अस्पताललाई कुनै लिखित परिपत्र  भने गरेको छैन ।

मेडिकलले कोरोनाको लक्षण रहेकाहरूको रक्तचाप जाँच गर्ने, अन्य परामर्श र औषधि दिने गरिएको पाइएको औषधि व्यवसायी संघले पनि जनाएको छ । अब संघबाटै निर्णय गरेर व्यवसायीहरूलाई त्यस्तो कार्य नगर्न,नगराउन सचेत गराउन लागिएको संघका जिल्ला अध्यक्ष इन्द्र थापाले बताए ।

बानपा–१ मालढुंगा र नगरका अन्य नाकामा राखिएका हेल्थ डेस्क र सुरक्षा निगरानी प्रभावकारी नहुँदा मालवाहक गाडीहरुमा लुकीछिपी भारत र तराईबाट मजदुरहरू आएका छन् । गत साउनमा बिना स्वास्थ्यपरीक्षण महोत्तरीबाट १८ जना मजदुर आएकोमा १४ जनालाई कोरोना पुष्टि भएको थियो ।

बागलुङ बजारमा २७ वटा औषधि पसल र दुई निजी अस्पताल छन् । जिल्लाभरि ४८ वटा औषधि पसल छन् । बागलुङमा हालसम्म २ सय ८१ जनामा कोरोना संक्रमण भएकोमा २ सय ६० जना निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोनाले एक जनाको मृत्यु भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्