५ जेष्ठ २०८१, शनिबार

 

उपत्यकाकै जटिल संक्रमितलाई भेन्टिलेटर पाउन मुस्किल

काठमाडौंमा ७० वर्षीय एक व्यक्ति कोरोना संक्रमित भएपछि गत सातादेखि एउटा निजी अस्पतालमा भर्ना भए । श्वासप्रश्वास समस्या देखिएकाले उनलाई आईसीयूमा लगियो । सोमबार थप अप्ठ्यारो भएपछि परिवारका सदस्यहरूलाई बिहान फोन आयो– बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो ।

तर, संघीय राजधानी काठमाडौंका सबैजसो अस्पतालमा खोज्दा पनि भेन्टिलेटर उपलब्ध हुन सकेन । साँझतिर ती व्यक्तिको मृत्यु भयो ।
कोरोना भाइरस संक्रमणसँगै जटिल अवस्थाका बिरामीको संख्या पनि बढ्न थालेको छ । तर, अस्पतालमा सीमित संख्यामा उपलब्ध सघन उपचार शय्या र भेन्टिलेटरले बिरामीको चाप थेग्न सक्ने अवस्था नरहेको चिकित्सकहरू बताउँछन् ।

सामाजिक सञ्जाल ट्विटरमा सुभाष अधिकारीले आफ्ना साथीको परिवारले खेप्नुपरेको उक्त पीडाबारे लेख्दै सबैलाई ‘सतर्क’ रहन आग्रह गरेका छन् । ‘धेरैतिर खोजियो तर भेन्टिलेटर पाइएन । सशस्त्र प्रहरीको अस्पतालले मंगलबार बिहान ९ बजे एउटा भेन्टिलेटर खाली हुने सम्भावना छ, नाम टिपाउनुहोस् भनेपछि त्यसै गरियो । तर नाम टिपाउँदाटिपाउँदै बिरामीकाे मृत्युकाे खबर आयो,’ उनले लेखेका छन् ।
जटिल अवस्थाका बिरामीको संख्या बढिरहँदा उनीहरूलाई अस्पतालमा शय्या उपलब्ध गराउन गाह्रो हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीको स्वीकारोक्ति छ । मन्त्रालयका अनुसार असोज पहिलो सातासम्म नेपालमा ९ सय ३० वटा भेन्टिलेटर छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हाल करिब ५ सय ५० भेन्टिलेटर कोभिड–१९ का बिरामीका लागि भनेर छुट्याएर राखिएको छ । त्यस्तै एक हजारको हाराहारीमा आईसीयू शय्या छुट्याइएको छ । उनले भने, ‘संक्रमण यही गतिमा बढ्यो, हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सकेनौं र चुक्दै गयौं भने हामीले अस्पतालमा सघन उपचारका लागि शय्या नपाउने अवस्था सिर्जना हुँदै गएको छ ।’
काठमाडौं उपत्यकामा संक्रमणसँग जुध्न नसक्ने व्यक्तिहरूको संख्या बढिरहेको अवस्थाले समस्या झन् जटिल बनेको अधिकारीहरूको भनाइ छ । सरकारले निरन्तर पछिल्लो अवस्थालाई सम्बोधन गर्ने गरी काम गरिरहेको तर नयाँ संक्रमितको संख्या सोचेभन्दा निकै बढी भएकाले समस्या देखिएको बताएको छ । तर कतिपयले भने गत वर्ष चैत महिनामा पहिलो पटक लकडाउन लागू गरे पनि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न सरकार पछि परेको औंल्याएका छन् । पाटन अस्पतालका डा. यज्ञ पोखरेलले गत हप्ता फेसबुकमा आईसीयू अभावको अवस्था झल्किने स्ट्याटस लेखेका थिए । ‘गत हप्ताको अवस्थासँग तुलना गर्दा केही पनि फरक देखिँदैन । एक–दुई बेड कतै थपिए होलान् । सरकारले महामारीलाई हलुका रूपमा लिँदा यस्तो समस्या उत्पन्न भएको हो भन्ने मेरो बुझाइ हो,’ उनले भने ।

सहप्रवक्ता अधिकारी भने गत वर्षको फागुनदेखि नै मन्त्रालय सक्रिय रूपमा लागिपरेको बताउँछन् । कोभिड–१९ का बिरामीको उपचारार्थ करिब ६० वटा अस्पताल तोकिएको र पछिल्लो समय निजी अस्पतालले समेत बिरामी राख्न थालेको उनको भनाइ छ । ‘हामी (मन्त्रालय) एक्लैले केही गर्न सक्ने अवस्था छैन । यो महामारीसँग जुझ्न सबैले पहल गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी मापदण्ड सबैले कडाइका साथ पालना गर्नुपर्छ,’ उनले भने ।

उपत्यकामा कोभिड–१९ पुष्टि हुनेको संख्या ३१ हजार नाघेको छ । काठमाडौंमा ११ हजार २ सय ९५ सहित अहिले उपत्यकामा झन्डै १४ हजार सक्रिय संक्रमित भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्