५ जेष्ठ २०८१, शनिबार

 

धौलागिरि अस्पतालको आईसीयूका पाँच स्टाफले तलब पाएनन्

धौलागिरि अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा काम गर्ने ५ जना कर्मचारीले तबल पाएका छैनन् । बैशाखदेखि सघन उपचार केन्द्र (आइसियु) मा कार्यरत ५ जना स्टाप नर्सले आफ्नो पारिश्रमिक नपाएका हुन् ।

गत बैंशाखमा स्वास्थ्य मन्त्रालयको १ करोड र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको ५० लाख रुपैयाँ सहयोगपछि बनेको ३ वेडको आइसियुमा कार्यरत कर्मचारीले तलब पाउन नसकेकाे दुखेसाे गरेका छन् ।

आइसियुमा काम गर्ने थप दक्ष जनशक्ति अभाव छ । तालिमप्राप्त स्वास्थ्यकर्मी र उपकरण नभएपछि आइसियु सामान्य बेडझै बनेका छन् । गत आर्थिक वर्षको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम मार्फत् ५० लाखमा यहाँ एउटा बेडकालागि मात्रै एनेस्थेसिया वर्क स्टेशन र प्यासेन्ट मनिटर जडान भएको छ । भदौ २० मा ती उपकरण खरिद गरेर ल्याइएको हो ।

अस्पतालले ९ स्टाफ नर्स र ८ मेडिकल अधिकृत माग गरेको थियो । त्यसमा ५ जना स्टाप नर्स राख्न अनुमति दियो । तर बजेट आएन । अहिले अस्पताल व्यवस्थापन समितिलाई तलब खुवाउन हम्मे परेको छ ।

कोरोना संक्रमणले गम्भिर भएकालाई मात्रै राख्दा अन्य बिरामीले आइसियु उपयोग गर्न पाएका छैनन् । उपकरण पूरा नभएकोले आइसियु उपयोग बिहिन भएको मेडिकल सुपरिटेन्डेन शैलेन्द्र पोखरेल बताउँछन् ।

ल्याएका उपकरण प¥याप्त नभएको पोखरेलको भनाइ छ । अझै २ बेड र त्यसका लागि उपकरण जोडेपछि मात्र सर्वसाधारणले आइसियु सेवा पाउन सक्नेछन् ।

‘बालबालिकाका लागि छुट्टै कक्ष नभएसम्म सुत्केरीको जटिल अपरेशनसमेत गर्न सकिंदैन’ पोखरेलले भने, ‘शिशुलाई समस्या प(यो भने उपचार नहोला भनेर अझै रिफर गर्न बाध्य भएका हौं ।’ गत साउनमा पनि एक महिला बागलुङमा उपचार नपाएपछि बेनी पुगेर सुत्केरी भएकी थिइन् ।

सामाजिक बिकास मन्त्रालयकै सहयोगमा यहाँ एक बेड भेन्टिलेटर पनि जोडिएको छ । कोरोना संक्रमण र रोकथामसँग मात्रै जोडिएकोले अन्य रोगका बिरामीमा प्रयोग गरिएको छैन । अस्पतालमा २५ बेड आइसोलेसन छ ।

अहिले पनि अस्पतालमा कोरोनाका बिरामी धेरै भएकोले अन्य बिरामीको उपचार हुन नसकेको हो । निर्माणाधिन अस्पतालको ‘सि ब्लक’ अलपत्र छ । ठेकेदारले बाहना बनाएर म्याद थप्दा भवन अभाव भएको छ ।

कोरोना संकटले मजदुर ल्याउन नसकेको भन्दै अहिले उम्कने प्रयास भएको छ । गत साउनमा आएका मजदुर मध्ये १५ जनामा कोरोना संक्रमण भेटिएपछि थालिएको काम पनि रोकिएको छ ।

अधिकांश जटिल समस्याका बिरामी पोखरा गइरहेका छन् । ‘भेन्टीलेटर र आइसियुमा उपकरण थप्नकालागि उच्चस्तरीय कोरोना रोकथाम समन्वय समितिले स्वास्थ्य मन्त्रालयलाई सिफारिस पठाएको आश्वासन पाएँ’ अध्यक्ष केवि राना मगरले भने, ‘सरकारको घुमाउरो बाटोबाट तत्काल सामग्री आइपुग्छ भन्नेमा शंका लागेको छ ।’

‘जनशक्तिका अभाव भए पनि भएको जनशक्तिले भेन्टिलेटर र आइसियुलाई उपयोगमा ल्याइएको छ । एक जना कोरोनाको गम्भिर विरामीलाई आइसियुमा राखेर उपचार भएको छ ।

श्रोत साधनको कमी त छ तर हामीले हाम्रो अस्पतालको टिमलाई परिचालन गरी विरामिहरुलाई वोपिडि, प्रसुति लगाएत सबै खालको सेवा दिएको’ धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन शैलेन्द्र पोखरेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्