५ जेष्ठ २०८१, शनिबार

 

फोहर व्यवस्थापन सहकारीको गाडी नगरपालिकाको निर्देशनमा प्रहरी कब्जामा

जिल्ला प्रहरी कार्यालय बागलुङले धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको गाडी नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिकासँग सम्झौता गरी फोहर संकलन गर्दै आएको सहकारीको गाडी असोज २५ गते विहान ११ बजे श्रीनगर टोलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा फोहोर संकलन गर्दै आएको धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको गाडी जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगरपालिकाको लिखित पत्रपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय बागलुङ र नगरपालिका कार्यालयले सहकारीसँगको सम्झौता सकिएकाले बजारको फोहर संकलन गर्ने काममा निजलाई रोक्नु भन्ने पत्र आएपछि हामीले रोकेको हौं ।’ एसपी श्रेष्ठले भने । नगरपालिकाको र जिल्ला प्रशासनको पत्रपछि जिल्ला प्रहरी कार्यालयकाले फोहर संकलन गर्न प्रयोग गरिने एक गाडी नियन्त्रणमा लिएको छ ।

यता, नगरपालिकाले भने, सम्झौता अनुसारको काम नगरेकाले नगरकार्यापालिकाको बैठकले सहकारीसँगको सम्झौता तोडेको बताएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले सहकारी सेवा मुखि भन्दा पैसा मुखि भएकाले सम्झौता रद्द गरेर नगरपालिकाले फोहर संकलन गर्दै आएको बताए ।

‘म नगरपालिकामा अलि ढिलो आएँ, प्रमुख प्रशासकीय अधिकृत रिजालले, भने ‘मैले बुझेअनुसार सम्झौता अनुसार राम्रो काम नगरेको र स्रोतमात्र उठाउने काम भइरहेको हुँदा नगरकार्यापालिको बैठकले सम्झौता रद्द गरेको हो ।’

सहकारीले जनताको सेवा दिनुभन्दा पैसा उठाउनेमा बढी ध्यान दिएपछि सम्झौता रद्द गरि अहिले नगरपालिकाले फोहर उठाउँदै आएको उनको भनाइ छ ।

तर, नगरपालिकाकै उपप्रमुख सुरेन्द्र खड्काले भने नगरप्रमुख एक्लौटी रुपले अघि बढेको आरोप लगाएका छन् । ‘फोहोर सहकारीले उठाउँदै आएको थियो, सम्झौता पत्र अनुसार समयअझै बाँकी छ’, उपप्रमुख खड्काले, भने, ‘फोहोर संकलन गर्नेमा नगरपालिकाले पेलेर निर्णय गरेको छ म सहकारी र उपभोक्ताको पक्षमा छु ।’

सहकारीले नगरपालिकासँग गरेको सम्झौता अनुसार फोहोर संकलन गर्ने सम्झौता २०७८ असार मसान्तमा सकिँदै छ ।बागलुङ नगरपालिकाले २०७२ साल ७ महिना १८ गते नीजि क्षेत्र मार्फत नगरक्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने कार्य सम्बन्धी सूचना पत्रिकामा प्रकाशन गरेको थियो ।

प्रकाशनपछि नगरपालिकाले सहकारीसँग २०७२ साल ११ महिना १० गते फोहोर व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।फोहोर व्यवस्थापन सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले सम्झौता मिति अघि नै नगरपालिकाले एकतर्फी रुपमा सम्झौता रद्द गरेर नगरको नियम कानुन मिचेर नगरको उपभोक्तालाई गम्भिर विश्वासघात गरेको आरोप लगाएका छन् ।

वार्ताका लागि बालोउनुस् भनेर नगरपालिकालाई आग्रह गर्दासम्मसमेत वास्ता नगरी प्रहरी लगाएर गाडी नियन्त्रणमा लिएको श्रेष्ठको भनाइ छ ।‘हामीले न्यायका लागि अदालतमा मुद्दा दायर गरेका छौं’, उनले भने ‘सिडिओ कार्यालय र नगरपालिकाले हस्तक्षेप गरी बिचाराधीन मुद्दामाथि खेलवाड गरेर गाडी नियन्त्रणमा लिन लगाए ।’

प्रतिक्रिया दिनुहोस्