५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगरपालिकाले सम्झौता बाँकी छँदै सहकारीलाई फोहर उठाउन रोकेको भन्दै विरोध प्रदर्शन

बागलुङ नगरपालिकाले सम्झौता अवधि कायम हुँदा पनि फोहर संकलनमा अवरोध गरेको भन्दै धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले शनिबार विरोध कार्यक्रम आयोजना गरेको छ । बागलुङ बजारको लोकतान्त्रिक चोकमा सामाजिक दूरी कायम गरी शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

कार्यक्रममा धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले लकडाउनका बेला पनि दिनरात नभनी फोहर संकलन गरिरहेको संस्थासँग नगरप्रमुखले एक्कासि सम्झौता तोडेर उपभोक्तालाई समस्यामा पारेको बताए ।

‘हामीले २०७२ वैशाख १ देखि निरन्तर फोहर उठाएर बागलुङ नगरलाई सफा र सुन्दर बनाएर वातावरण र पर्यावरण संरक्षण लाग्दा पनि नगरपालिकाबाट असहयोग र अवरोध भएकाले बजारका उपभोक्तासँगै न्यायका लागि सडकमा आएका हौं,’ उनले भने ।

बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा युवा नेता वसन्तकुमार श्रेष्ठले नगरको सरसफाइ र सुन्दरता कायम गर्न लामो समयदेखि काम गरिरहेको सहकारीलाई निरुत्साहित गर्ने गरी बागलुङ नगरपालिकाले चालेको कदम अप्रजातान्त्रिक र गैरन्यायिक भएको बताए ।

‘यो कदमले बागलुङ बजारको फोहर संकलनमा गम्भीर समस्या उत्पन्न भएको छ । नगरको जनता र उपभोक्तालाई नगरप्रमुखका तर्फबाट विश्वासघात भएकाले नगरपालिकाले तुरुन्त आफ्नो गल्ती सच्याएर सहकारीलाई पुनः काम गर्न दिनुपर्छ ।’

बागलुङ नगरपालिकाका पूर्वउपमेयर तथा धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीका संरक्षक पद्मचन्द्र राजभण्डारीले नगरको सुन्दरता र सरसफाइ कायम गर्न लागिरहेका युवासँग सहकार्य र साझेदारी गर्नुपर्नेमा नगरप्रमुखले अनुचित लाभहानिमा ध्यान केन्द्रित गरेर उपभोक्तालाई धोका दिएको बताए ।

यस विषयमा नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण सचेत भएर नगरपालिकाको अन्याय र अव्यवस्थाको प्रतिरोध गर्नुपर्नेमा उनले जोड दिए । ‘सहकारीसँगको सम्झौता २०७८ असार मसान्तसम्म कायम रहेका बेला नियम–कानुन मिचेर नगरप्रमुखले उपभोक्ता अधिकार र चुनावको वाचासमेत भुले,’ उनले भने ।

कार्यक्रममा स्थानीय उपभोक्ता, व्यवसायी र नागरिक समाजका सदस्यहरूको समेत व्यापक उपस्थिति थियो । बागलुङ नगरपालिकाले २०७२ कात्तिक १८ गते निजी क्षेत्रबाट नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन गर्ने सूचना प्रकाशन गरेको थियो ।

त्यसैअनुसार सहकारीसँग २०७२ फागुन १० गते फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता  गरिएको थियो । संस्थाले सम्झौताअनुसार नियमित फोहोर संकलन नगरेको भन्दै नगर कार्यपालिकाको गत साउन ३२ गतेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

फोहोर व्यवस्थापन सम्झौताको अवधि बाँकी रहेकै बेला नगरपालिकाले एकतर्फी रूपमा सम्झौता भंग गरेको आरोप लगाउँदै सहकारी क्षतिपूर्तिको माग राखी अदालत पुगेको छ ।

सहकारीले असोज ९ गते जिल्ला अदालत बागलुङमा निवेदन दर्ता गराएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङले धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले असोज २५ गते बिहान ११ बजे श्रीनगर टोलबाट गाडी नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्