५ जेष्ठ २०८१, शनिबार

 

सहकारीलाई बागलुङ नगरको फोहर उठाउन दिन स्थानीयको माग, विरोध प्रदर्शनसँगै प्रशासन र नगरपालिकामा बुझाइयो ज्ञापन

बागलुङ नगरपालिकाले म्याद बाँकी छँदै फोहर संकलनको सम्झौता तोडेको भन्दै चरणबद्ध आन्दोलन थालेको धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले बागलुङ बजारमा विरोध प्रदर्शनसहित सरोकारवालालाई ज्ञापनपत्र बुझाएको छ ।

बागलुङ बजारको लालीगुराँस चोकमा प्लेकार्डसहित सहकारीका सञ्चालक, उपभोक्ता तथा स्थानीयले प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण प्रदर्शनपछि उनीहरूले निमित्त प्रजिअ उपेन्द्रराज पौडेल र बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेललाई ज्ञापनपत्र बुझाए ।

लकडाउनका बेला दिनरात नभनी फोहर संकलन गरिरहेको संस्थासँग नगरप्रमुखले एक्कासि सम्झौता तोडेर उपभोक्तालाई समस्यामा पारेको धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको आरोप छ ।

२०७२ वैशाख १ देखि निरन्तर फोहर उठाएर बागलुङ नगरलाई सफा र सुन्दर बनाएर वातावरण र पर्यावरण संरक्षण लाग्दा पनि नगरपालिकाबाट असहयोग र अवरोध भएकाले बजारका उपभोक्तासँगै न्यायका लागि सडकमा आएको सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालयको प्रांगणमा भएको विरोध कार्यक्रममा मिष्टान्न व्यवसायी बागलुङका अध्यक्ष टीकाराम सापकोटाले भने, ‘चाडपर्व नजिकिँदै गर्दा र कोरोना संक्रमण समुदायमा फैलिन लागेका बेला फोहर संकलन गर्न नदिएर सहकारीलाई अन्याय मात्र भएको छैन, व्यवसायीलाई पनि फोहर फाल्न समस्या परेको छ ।’

नेपाली काग्रेस वित्त तथा सहकारी समन्वय विभागका केन्द्रीय सदस्य तथा जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठले स्थानीय सरकारले फोहर व्यवस्थापन सहकारीसँग साझेदारी र सहकार्यमा काम अगाडि बढाए मात्र नगरको सरसफाइ हुने, नत्र उपभोक्तालाई मर्का पर्नुका साथै नगरको विकास पनि अवरुद्ध हुने बताए ।

स्थानीय भगवती शर्माले चाडपर्वका बेला उपभोक्तालाई फोहर कहाँ लगेर फाल्ने भन्ने समस्या परेको जनाउँदै फोहर संकलन र प्रशोधनको काम नगरपालिकाले सहकारीलाई नै दिनुपर्नेमा जोड दिइन् ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले फोहर सहकारीको नगरपालिकासँगको सम्झौता अवधि कायम रहेकै बेला नगरप्रमुुखले एकपक्षीय रूपमा त्यसलाई तोडेर नगरवासी र उपभोक्तालाई अन्याय गरेको बताए । ‘जनता र उपभोक्ताको संघर्षको बलमा सहकारीको अधिकार दिलाएर उपभोक्ताका माग पूरा गर्न सबै लाग्नुपर्छ,’ उनले भने ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ पौडेलले कानुनसम्मत चल्नुको विकल्प नरहेको भन्दै सबै पक्षले समझदारीमा समस्या समाधान गर्नुपर्ने बताए । नगरपालिकामा न्यायिक समिति रहेको भन्दै उनले त्यसैमाफर्त न्याय खोज्न आग्रह गरे ।

सोही टोलीले बागलुङ नगरप्रमुख जनकराज पौडेललाई भेटी एकलौटी निर्णय सच्याउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । बागलुङ नगरपालिकाले चालेको कदम अप्रजातान्त्रिक र गैरन्यायिक भएको सहकारीले जनाएको छ ।सामाजिक दूरी कायम गरी आयोजित कार्यक्रममा सरोकारवाला, उपभोक्ता र नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

सहभागीहरूले ‘हामीलाई न्याय चाहियो, सफा, सुन्दर र विकसित बागलुङ नगर हाम्रो सपना, उपभोक्ताको आवाज सुन्नुुुस्, फोहर उठाउन नदिए कसरी पुगिन्छ समाजवादमा ? , नगरप्रमुखको एकल निर्णय फिर्ता लेऊ, फोहर उठाउने गाडी प्रहरीकहाँ बागलुङ बजारको उपभोक्ता मर्कामा, हामीलाई जनताको सेवा गर्न देऊ, हात धुने बानी बसालौं, कोरोनाको भाइरसबाट बच्न सामाजिक दूरी कायम गरौं’जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।

बागलुङ नगरपालिकाले २०७२ कात्तिक १८ गते निजी क्षेत्रबाट नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन गर्ने सूचना प्रकाशन गरेको थियो । त्यसैअनुसार सहकारीसँग २०७२ फागुन १० गते फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता गरिएको थियो ।

संस्थाले सम्झौताअनुसार नियमित फोहोर संकलन नगरेको भन्दै नगर कार्यपालिकाको गत साउन ३२ गतेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

फोहोर व्यवस्थापन सम्झौताको अवधि बाँकी रहेकै बेला नगरपालिकाले एकतर्फी रूपमा सम्झौता भंग गरेको आरोप लगाउँदै सहकारी क्षतिपूर्तिको माग राखी अदालत पुगेको छ ।

सहकारीले असोज ९ गते जिल्ला अदालत बागलुङमा निवेदन दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले असोज २५ गते बिहान ११ बजे श्रीनगर टोलबाट गाडी नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्