५ जेष्ठ २०८१, शनिबार

 

नगरपालिकाले सहकारीसँग फोहर संकलनको सम्झौता तोडेको विरोधमा कोणसभा

बागलुङ नगरपालिकाले एकपक्षीय रूपमा सम्झौता तोडेको भन्दै आन्दोलन थालेको धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले सोमबार कोणसभा गरेको छ । म्याद बाँकी छँदै फोहर संकलनको सम्झौता तोडेको जनाउँदै सहकारीले तीन दिनदेखि चरणबद्ध आन्दोलन गरिरहेको छ ।

लोकतान्त्रिक चोकमा प्लेकार्डसहित सहकारीका सञ्चालक, उपभोक्ता तथा स्थानीयले प्रदर्शन गरेका थिए । शान्तिपूर्ण प्रदर्शनमा सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले २०७२ सालदेखि बागलुङ नगरको फोहोर तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको सहकारीसँग २०७८ असार मसान्तसम्मको सम्झौता भए पनि त्यसलाई भंग गरेर नगरपालिकाले अन्याय गरेको बताए ।

‘जनता र उपभोक्ताको संघर्षको बलमा सहकारीको अधिकार दिलाएर उपभोक्ताका माग पूरा गर्न लाग्नुको विकल्प छैन,’ उनले भने । लकडाउनका बेलासमेत उपभोक्ताका घरघरबाट फोहोरमैला संकलन गर्दै नगरप्रमुखले बद्नियतपूर्वक एकलौटी ढंगले सम्झौता तोडेकाले सडक संघर्ष गर्नुपरेको श्रेष्ठको भनाइ छ ।

कोणसभामा नेपाली कांग्रेस वित्त तथा सहकारी समन्वय विभागका केन्द्रीय सदस्य तथा जिल्ला सहकारी संघ बागलुङका पूर्वअध्यक्ष कृष्णशंकर श्रेष्ठले लकडाउनका बेला दिनरात नभनी फोहर संकलन गरिरहेको संस्थाको गाडी प्रहरी लगाएर नियन्त्रणमा लिनु सत्ताको दुरुपयोग भएको बताए ।

बागलुङ चेम्बर अफ कमर्सका सचिव तेजबहादुर कुँवर सन्तोषले २०७२ सालदेखि निरन्तर फोहर उठाएर बागलुङ नगरलाई सफा र सुन्दर बनाउँदै वातावरण र पर्यावरण संरक्षण लागिरहेको सहकारीलाई नगरपालिकाले निमोठ्न खोजेको आरोप लगाए ।

नगरपालिकाले बजारको सुरक्षाका लागि जडान गरिएका सीसी–क्यामेरा बिग्रिँदासमेत वास्ता नगरी व्यवसायीबाट उठाएको करको दुरुपयोग गरेको उनले बताए ।

त्यसैअनुसार सहकारीसँग २०७२ फागुन १० गते फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता गरिएको थियो । संस्थाले सम्झौताअनुसार नियमित फोहोर संकलन नगरेको भन्दै नगर कार्यपालिकाको गत साउन ३२ गतेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्