५ जेष्ठ २०८१, शनिबार

 

उत्कृष्ट र नियमित कारोबारका लागि बागलुङका दुई सहकारी पुरस्कृत

राष्ट्रिय सहकारी बैंकले बागलुङका दुई सहकारी संस्थालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट तथा नियमित कारोबार गर्ने सहकारी संस्थाहरूलाई शुक्रबार एक कार्यक्रमबीच पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा उत्कृष्ट कारोबारतर्फ प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नियमित कारोबारतर्फ लखन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् ।

प्रगति बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्मा र प्रबन्धक मुना शर्मा तथा लखन सहकारीका अध्यक्ष खड्कबहादुर पुन र प्रबन्धक होमबहादुर थापालाई प्रतिनिधिसभा सदस्य मनकुमारी जिसी र राष्ट्रिय सहकारी महासंघ सञ्चालक हुमाकुमारी जीसीले सम्मानपत्रसहित पुरस्कृत गरेका थिए ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ ।
१६औं वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई पुरस्कृत गर्न कोरोना संक्रमणका कारण ढिलाइ भएको बैंकले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघकी उपाध्यक्ष मनकुमारी जिसीले सहकारीमार्फत समाज रूपान्तरणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिका आवश्यक रहेकोमा जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जीसी, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तोयानाथ गौतम, सहकारी म्यानेजर्स क्लब बागलुङका अध्यक्ष दीपकजंग राजभण्डारीलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम बैंक समन्वय उपसमिति बागलुङका सहसंयोजक अशोकगोविन्द राजभण्डारीको अध्यक्षता र शाखाप्रमुख युवराज त्रिपाठीको सञ्चालनमा भएको थियो ।

बैंकका देशभरका शाखामध्ये दोस्रो शाखाका रूपमा स्थापित बागलुङमा हाल ३ सय १३ सदस्य संस्था, १५ करोड सेयर रकम, २ अर्ब १५ करोड निक्षेप र १५ करोड कर्जा लगानी रहेको शाखाप्रमुख त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्