४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघ निर्वाचन : मतदाता फकाउन दुवै प्यानलबीच तीव्र प्रतिस्पर्धा

उद्योग वाणिज्य महासंघको चुनाव जति नजिकिँदै छ, उम्मेदवारहरूबीच एकले अर्कालाई कमजोर देखाउने प्रतिस्पर्धा पनि चुलिँदै छ । सबैले आआफ्ना ठाउँबाट ‘पावर शो’ गरिरहेका छन् । मानौँ, जसले विपक्षीको बढी कमजोरी देखाउन सक्छ, उसले नै जित्छ । तर यथार्थमा उनीहरूको विगतको कार्यमूल्यांकन उनीहरूले पाउने मतबाट हुनेछ ।

कसले बढी व्यवसायीको हितमा काम गरेको छ, निर्वाचनपछिको नतिजाले स्पष्ट पार्नेछ । अबको पाँच दिनमा महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । अन्य ६४ पदमा मतदान हुनेछ ।

चुनावी मैदानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू चन्द्र ढकाल भर्सेस किशोर प्रधानको प्यानल छ । सबैले आफ्नो जित सुनिश्चित भन्दै हिँडिरहेका छन् ।

महासंघमा एउटा अध्यक्षले तीन वर्ष काम गर्न पाउँछ । अब बन्ने वरिष्ठ उपाध्यक्ष अबको तीन वर्षपछि स्वतः अध्यक्ष हुनेछ । पद, प्रतिष्ठा पावरसँग जोडिने भएकाले पनि उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुन्छ । यही बेला गुट–उपगुट व्यापक मौलाउँछ ।

योग्य र सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्ने भन्दै वर्तमान अध्यक्ष भवानी राणाको झुकाव प्रधानतिर देखिन्छ । यता आफू पनि योग्य भएको भन्दै आफ्ना तर्फ मत आकर्षित गर्न ढकाल प्यानल पनि मरिमेटेर लागेको छ ।

प्रधान प्यानल ढकालको अनुभवमाथि प्रश्न गरिरहेको छ । र, ढकाल प्यानल प्रधानको योग्यता र क्षमतामाथि प्रश्न गरिरहेको छ । प्रधान प्यानल ढकाल जुनियर र एकैपटक हाइप्रोफाइलबाट आएकाले ‘ग्राउन्ड लेभल’को दुःखबारे उनलाई थाहा नभएको भन्दै मतदाता तान्दै छ । ढकाल प्यानलले पनि महासंघमा कोही पेन्सन पकाउन नआएको भन्दै योग्य र सक्षम व्यक्तिलाई अवसर दिनुपर्ने बताउँदै आएको छन् ।

प्रधान प्यानल ढकाललाई बलियो प्रतिस्पर्धी मान्दैन । पैसाको पावर, बढी प्रचारप्रसार र राजनीतिक पावरलाई मात्र ढकालको बलियो पक्ष मान्छ । एसोसिएटतर्फ सात वर्ष मात्र काम गरेको भन्दै प्रधान उनलाई टपक्क टिपेर महासंघमा ल्याउन नमिल्ने तर्क गर्छन् ।

ढकाल प्यानलको पनि आफ्नै तर्क छ । प्रधानभन्दा पछि आएका शेखर गोल्छासँग उनी साढे तीन वर्षअघि पराजित भएको र अहिले गोल्छाकै उम्मेदवार हुुँदा शेखरको हकमा सिनियर र जुनियर लागू नहुने तर आफ्नो हकमा त्यसलाई इस्यु बनाइन्छ भने त्यसमा कुनै तुक नभएको ढकाल बताउँछन् ।

योग्य र सक्षम आए उम्मेदवारी फिर्ता लिएर सहमतिमा जाने प्रायः उम्मेदवारले बोल्ने भाषा हो । तर यहाँ सहमतिमा जान कोही तयार छैनन् । यसको मतलब सबैले आफूलाई मात्र सक्षम मानेका छन्, योग्य ठानेका छन् ।

प्रधान प्यानल कसैले कल्पनै नगरेको परिवर्तनको सपना देखाउँदैछ भने ढकाल प्यानल देशको समृद्धिको यात्रामा राज्यले निजी क्षेत्रको सम्मान आफ्नो जितपछि मात्र गर्ने बताउँछ ।

यस मानेमा कि ढकालकै भाषामा भन्दा समृद्धिको यात्रामा निजी क्षेत्रले राज्यका तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन, चाहिएका बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । महासंघमा ढकालको उम्मेदवारी त्यो सम्मान पाउनका लागि हो ।

राज्यबाट अभिभावकत्व पाउनका लागि पनि हो । र, कोरोनाले थलिएको निजी क्षेत्र र देशमा ढकाल आएपछि अर्थतन्त्र उक्सिन्छ । यता, प्रधान भारतको विहार र चीनको विकासको उदाहरण दिँदै त्यस्तै विकासका लागि आफूले काम गर्ने आश्वासन दिन्छन् ।

सरकारले लिएको दोहोरो आर्थिक वृद्धिको लक्ष्यमा आफ्नो जितले मात्र पुर्याउने उनी बताउँछन् । दुवै उम्मेदवारको साझा उद्देश्य पनि छ । दुवै आफ्नो जितपछि निजी क्षेत्रको साख फर्कने बताउँछन् । महासंघको सुदृढीकरणका लागि आफ्नो जितको आवश्यकता दुवै पक्षले देखेका छन् ।

दुवै पक्ष कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने सपना देख्छन् भने दुवै आम व्यवसायी उद्योगीको भावनाको कदर गर्ने बताउँछन् । व्यावसायिक क्षेत्रमा देखिएको समस्या अन्त्य गर्ने दुवै पक्षको साझा लक्ष्य पनि हो ।

जिल्ला–नगर उद्योग वाणिज्य संघका १०७, एसोसिएटका ९२३, वस्तुगतका १०१ जना र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूबाट १२ जनाले महासंघको निर्वाचनमा मतदान गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्