५ जेष्ठ २०८१, शनिबार

 

टिकटकपछि सामाजिक सञ्जालमा अब ‘क्लबहाउस’काे पालाे

टिकटक विश्वभर उपलब्ध भएको चार वर्ष भएको छ । यसको लोकप्रियता पनि उसै गरी बढेको छ । तर सामाजिक सञ्जालको भिडमा अब क्लबहाउस पनि युद्धस्तरमा विस्तार भइरहेको छ । एक वर्षभन्दा कम समयमा क्लबहाउस इन्टरनेटको नयाँ ठूलो सेवा बन्ने बाटोमा छ ।

क्लबहाउसले ठूलो चर्चा, चर्चित प्रयोगकर्ताहरू, विवाद, प्रतिबन्ध र एक पैसा नकमाए पनि मूल्यांकन अब्बल रूपमा भइरहेको छ । यसले अमेरिकादेखि चीनसम्म र ब्रजिलदेखि टर्कीसम्म हल्ला मच्चाएको छ ।

संसारका केही धनी र चर्चित व्यक्तिहरू यस एपमा अहिले ठूला नाम बनिसकेका छन् । तीमध्ये केही टेस्लाका इलोन मस्क, फेसबुकका मार्क जुकरबर्ग, गायक ड्रेक र कान्य वेस्ट एवम् सञ्चारकर्मी ओप्राह विन्फ्रे रहेका छन् । यसको चर्चासँगै पैसाको पनि चर्चा छ । यूके फाइनान्सियल टाइम्सका अनुसार यसलाई अहिल्यै एक अर्ब अमेरिकी डलरभन्दा माथि मूल्यांकन गरिसकिएको छ ।

अहिलेका लागि एक सुको पैसा नकमाएको एपका लागि त्यो राम्रो मूल्यांकन हो । क्लबहाउसलाई अरूभन्दा फरक बनाउने कुरा भनेको यसमा अक्षर, तस्बिर वा भिडिओ राख्न नमिल्नु हो । यो आवाज मात्रै भएको एप हो । यसमा जे हुन्छ त्यो सबै प्रत्यक्ष हुन्छ ।

तपाईं यसमा आफ्नो गफ गर्ने कोठा सुरु गर्न सक्नुहुन्छ वा अरूले सुरु गरेको कोठामा प्रवेश गरेर त्यहाँको गफ सुन्न सक्नुहुन्छ । सामान्यतया प्रत्येक कोठामा केही वक्ता हुन्छन् र अरू सबै श्रोता हुन्छन् तर तपाईं हात उठाएर बोल्न अनुमति माग्न सक्नुहुन्छ । एपभित्र गफ रेकर्ड हुँदैन र सकिएपछि पुनः सुन्न सकिन्न ।

त्यसैले जे सुन्नु छ त्यो प्रत्यक्ष सुन्नुपर्छ । मन पर्ने गफ नछुटोस् भन्नका लागि कुनै विषयलाई फलो गर्न सक्नुहुन्छ र त्यो विषयमा गफ सुरु भए तपाईंलाई जानकारी आउँछ । आवाज मात्रै भएको हुँदा यसले रेडियो वा पडकास्ट सुनेको अनुभव दिन्छ ।

इलोन मस्कको विचारमा यसले प्रत्येक १० सेकेन्डमा नयाँ कुरा आएर दिमागलाई एउटा विषयमा केन्द्रित हुन नदिने सामाजिक सञ्जालको चलनबाट पनि मुक्ति दिन्छ । सामान्यतया यो साथीभाइबीच गफगाफ गर्न प्रयोग गरिने भए पनि मस्कजस्ता चर्चित व्यक्तित्वहरू भएका कारण तपाईंले एउटै कोठामा बसेजस्तो गरी उनीहरूलाई प्रत्यक्ष र अनौपचारिक गफ गरिरहेको सुन्न पनि सक्नुहुन्छ ।

अहिलेका लागि नयाँ एप भएका कारण यसलाई प्रतिबन्ध लगाइएको छैन र यसमा अन्य सामाजिक सञ्जालमा प्रतिबन्धित विषयमा पनि छलफल हुन सक्छ । यो फेसबुक र ट्विटर प्रतिबन्धित भएको चीनमा पनि उपलब्ध थियो । यसमा चीनमा प्रतिबन्धित प्रजातन्त्रजस्तो विषयमा पनि गफ हुने विवरण आएपछि भने यो त्यहाँ फेब्रुअरीको सुरुमा प्रतिबन्धित गरिएको छ ।

पहिलो कुरो त यो एन्ड्रोइड फोनमा उपलब्ध छैन, त्यसैले तपाईं एपलको आइफोनबाहेक अन्य फोन चलाउनुहुन्छ भने यो तपाईंका लागि हाल उपलब्ध छैन । तपाईंसँग आइफोन भए पनि एप स्टोरमा गएर डाउनलोड गरेर चलाउन सक्नुहुन्न । अहिलेसम्मका लागि क्लबहाउसमा प्रयोगकर्ता बन्न क्लबहाउसको प्रयोगकर्ता कसैले निमन्त्रणा दिनुपर्छ । त्यसैले तपाईंले डाउनलोड गरेपछि कसैको निम्तोको प्रतीक्षा गर्नुपर्छ ।

क्लबहाउसका प्रत्येक प्रयोगकर्ताले सुरुमा दुई जनालाई निम्तो दिन सक्छन् । तर यसको अर्थ तपाईंले पाउनै हुन्न भन्ने होइन । फेसबुकमा अहिले डेढ अर्ब प्रयोगकर्ता छन् तर जब यो सुरु भयो त्यति बेला अमेरिकाका नाम चलेका केही विश्वविद्यालयका केही हजार मात्रै यसमा पहुँच राख्थे ।

कुनै बेला जिमेल पनि निम्तोबाट मात्रै खोल्न मिल्थ्यो । प्रत्येक कोठामा बढीमा पाँच हजार मान्छेले मात्रै सुन्न सक्ने भएकाले तपाईंले चर्चित व्यक्तिका कुरा सुन्न स्थान नपाउने पनि हुन सक्छ ।

अन्य सामाजिक सञ्जालका एपजस्तै यसको गोपनीयताको विषयलाई लिएर धेरै प्रश्नहरू छन् । यसका गफहरू अनुसन्धान गर्नुपर्ने अवस्थाका लागि अस्थायी रूपमा रेकर्ड हुन्छ र मेटिन्छ । तर कहिले मेट्ने भन्ने कुरा क्लबहाउसले निर्धारण गर्छ । यसको प्रयोगका सर्तले प्रयोगकर्तालाई यसभित्रका गफ रेकर्ड गर्ने अनुमति दिँदैन सायद । अहिले यसका २० लाख मात्रै सक्रिय प्रयोगकर्ता छन् तर सन् २०२० मा सुरु भएयता यो बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्