६ जेष्ठ २०८१, आईतवार

 

राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली, अब को बन्ला ?

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद मंगलबारदेखि खाली भएको छ । डेपुटी गभर्नरद्धय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठले पाँच वर्षे कार्यकाल सकेर मंगलबारदेखि अनिवार्य अवकास पाएका छन ।

शिवाकोटी र श्रेष्ठ २०७२ फागुन १७ गते डेपुटी गभर्नर नियुक्त भएका हुन । शिवाकोटी प्रधान सहायक पदमा २०४४ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए । यस्तै श्रेष्ठ भने २०४६ सालबाट सहायक निर्देशकका रूपमा राष्ट्र बैंकमा जागिर सुरु गरेका थिए । डेपुटी गभर्नर पद खाली भएपछि कार्यकारी निर्देशकहरुबीच प्रतिस्पर्धा चलेको छ ।

१७ जना कार्यकारी निर्देशकहरु मध्ये भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कंडेल वरिष्ठ हुन । अहिले कंडेलका साथै डा. गुणाकर भट्ट, देवकुमार ढकाल, नीलम ढुंगाना, बमबहादुर मिश्रलगायत प्रतिस्पर्धामा छन ।यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलका आर्थिक सल्लाहकार डा। प्रकाश श्रेष्ठ डेपुटी गभर्नरका बलिया प्रतिस्पर्धी हुन ।

श्रेष्ठले यसअघि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । राष्ट्र बैंकमा कार्यर १७ कार्यकारी निर्देशकहरूमध्ये ९ जनाले डेपुटी गभर्नर बन्नका लागि प्रतिस्पर्धामा छन् ।

२०७२ फागुनमा वर्तमान डेपुटी गभर्नरहरूको नियुक्तिका बेला पनि केपी शर्मा ओलीको नेतृत्वको सरकार र अर्थमन्त्री विष्णु पौडेल थिए ।पाँच वर्षे कार्यकालमा शिवाकोटी विवादमा परेनन्। तर श्रेष्ठ निलम्बनमा परेका थिए । शिवाकोटी गभर्नरको दौडमा थिए । राष्ट्र बैंकमा ५८ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि स्वतः अवकाश हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्