
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको ७ औं अधिवेशन सर्वसम्मत गर्ने निर्णय भएको छ । प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (खनाल–नेपाल) र प्रगतिशिल पत्रकार संघको संयुक्त वार्ताले ४ बुँदे सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।
संघ, संगठनहरुको वार्ताले पूर्व सहमति अनुसार अध्यक्षमा प्रेस युनियनलाई दिने निर्णय गरेको वार्तामा रहेका एक सहभागीले जानकारी दिए ।
वार्ताले २०७३ माघ २९ गते भएको सहमति अनुसार २०७७ चैत्र २५ गते हुने सातौ अधिवेशनमा प्रेस युनियनको नेतृत्व दिने र आठौं अधिवेशनमा प्रेस संगठनको नेतृत्व त्यसपछि प्रगतिशिल पत्रकार संघ हुँदै पुनः प्रेस चौतारी नेपालको नेतृत्व हुने पुनः सर्वसम्मत निर्णय गरेका छन् ।
यस्तै आठौं महाधिवेशनमा प्रेस संगठनको सिफारिसमा वर्तमान पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’को नेतृत्व सुनिश्चित गर्ने निर्णय गरिएको छ ।
वार्ताले सातौ अधिवेशनमा १७ सदस्य समितिको लागि पद बाँडफाँड गरेको छ । सहमति अनुसार अध्यक्षमा नेपाल प्रेस युनियन, उपाध्यक्ष, प्रेस चौतारी नेपाल, महिला उपाध्यक्ष, प्रेस संगठन नेपाल, सचिव प्रगतिशिल पत्रकार संघ, सहसचिवमा प्रेस चौतारी नेपाल (खनाल–नेपाल ), समावेशी सहसचिवमा प्रेस चौतारी नेपाल र कोषाध्यक्षमा प्रेस चौतारी नेपाललाई दिने निर्णय गरेका छन् ।
यस्तै खुल्ला सदस्य तर्फ प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाललाई २–२ वटा, महिला सदस्य प्रगतिशिल पत्रकार संघ, जनजाती सदस्य प्रगतिशिल पत्रकार संघ, दलित सदस्य प्रेस संगठन नेपाल र अल्पसंख्यक सदस्यमा प्रेस चौतारी नेपाललाई दिने निर्णय गरेका छन् ।
वार्ताले संघीय परिषद सदस्य तर्फ प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस संगठन र प्रगतिशिल पत्रकार संघलाई १–१ वटा दिने निर्णय गरेको छभने प्रदेश परिषद सदस्य तर्फ प्रेस युनियनलाई ४, प्रेस चौतारी नेपाललाई २, प्रेस संगठनलाई २ र प्रेस चौतारी नेपाललाई ३ वटा पद विभाजन गरेका छन् ।
सहमति पत्रमा नेपाल प्रेस युनियनको तर्फबाट प्रदीप पन्त, प्रेस चौतारी नेपालको तर्फबाट उमाकान्त शर्मा, प्रेस संगठन नेपालको तर्फबाट योगेन्द्र विक, प्रेस चौतारीको प्रतिनिधि तारानाथ आचार्य, प्रगतिशिल पत्रकार संघका उपाध्यक्ष लोकेन्द्र सुनार, प्रेस चौतारी गण्डकीका इन्चार्ज रामकृष्ण शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीलिप पौडेल, ज्ञानेन्द्र गौतम, नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य गणेश पौडेल, प्रेस युनियनका केन्द्रीय पार्षद सदस्य श्रीधर कँडेल र प्रेस चौतारी नेपालका प्रतिनिधि दिनेश शर्माले हस्ताक्षर गरेका छन् ।