५ जेष्ठ २०८१, शनिबार

 

गुडविल सहकारी : २ अर्ब ७० करोड ठगी प्रकरण

ललितपुरस्थित गुडविल बचत तथा ऋण सहकारीसम्बन्धी ठगी मुद्दामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

चैत २२ मा प्रहरीले उक्त सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न नसकेपछि उनी भागेका थिए ।

‘संगठित ठगी मुद्दामा अनुसन्धान पूरा गरेर प्रतिवेदन बुझाएका छौं,’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण वज्राचार्यले भनिन्, ‘यो मुद्दामा १७ जनालाई पक्राउ गरेका छौं ।’

पक्राउ पर्नेमा केही मिटरब्याजीहरू छन् । गुडविलमा उपभोक्ताले बचत गरेको रकम श्रेष्ठसहितको समूहले ठगी गरेको हो । श्रेष्ठले संस्थाबाट ऋण लिएर घरजग्गा किनेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

ऋण तिर्नका लागि मिटरब्याजमा लगानी गर्नेहरूले दिवाकरलाई पैसा दिएर चर्को ब्याज लिँदा सहकारीमा राखेको सर्वसाधारणको पैसा डुबेको अनुसन्धानबाट देखिएको एसएसपी वज्राचार्यले बताइन् ।

प्रहरीका अनुसार श्रेष्ठले गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट करिब २ अर्ब ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्