५ जेष्ठ २०८१, शनिबार

 

निर्वतमान अध्यक्ष कमारोको परिवारलाई धवलागिरि सहकारीको साथ

धवलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै निधन भएका आफ्ना निवर्तमान अध्यक्ष राधेश्याम बिजुक्क्षे कमारो प्रति श्रद्धान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

सहकारीका तर्फबाट अध्यक्ष युक्तप्रसाद शाक्य नेतृत्वको टोलीले काठमाडौं महानगरपालिका–३१ मैतीदेवीस्थित घर पुगेर
दिवंगत आत्मा प्रति श्रद्धान्जली, शोकाकुल परिवारमा गहिरो समवेदना र सहकारीको परम्परा अनुसार रकम समेत हस्तान्तरण गरेका थिए ।

राधेश्याम कमारोले धवलागिरि सहकारीलाई पुर्याएको योगदानको स्मरण गर्दै शोकाकुल परिवारप्रति सहकारीको आत्मिय साथ रहेको सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्यले बताए ।

कमारोको केही दिनअघि हृदयघातका कारण निधन भएको थियो । कमारोले २०७२ देखि ७६ सम्म धवलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व गरेका थिए ।

सहकारीले सेयर सदस्यहरूको आर्थिक–सामाजिक हितमा विभिन्न कार्यक्रम गर्दै आएको र त्यसै अन्तर्गत दिवंगत सदस्यका परिवारलाई घरमै पुृगेर गहिरो समवेदना व्यक्त गरेको सहकारीका प्रबन्धक केशवचन्द्र श्रेष्ठले नयाँ विश्वलाई बताए ।

२०५६ माघ ३ गते २८ जना संस्थापन सेयर सदस्यहरुको सहभागितामा धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।

संस्थापक अध्यक्ष शत्रुध्न श्रेष्ठले सहकारीको प्रारम्भिक समयमा नेतृत्व गरेका थिए । संस्थामा हाल ९ सय सेयर सदस्यको २ करोड ७५ लाख रुपैयाँ शेयर पुँजी पुगेको छ ।

प्रगतिशील विचारबाट प्रभावित कमारो बागलुङ नगरपालिका–३ नौबीसे टोलमा २००० सालमा जन्मिएका थिए । २०१२ सालदेखि वामपन्थी आन्दोलनमा लागेका उनी विद्यामन्दिर माध्यमिक विद्यालयका चर्चित विद्यार्थी नेतामध्ये एक हुन् ।

निर्मल लामा, कमल राज रेग्मी पाल्पाबाट कम्युनिस्ट संगठन गर्न बागलुङ आउँदा कमारो उनीबाट प्रभावित भएका थिए । उनले कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर आपनो नामको पछाडि कमारो उपनाम राखेका थिए ।

त्यति बेला मंचन भएको एक नाटकमा रामजी श्रेष्ठले आफनो उपनाम मालिक राखेपछि राधेश्याम विजुक्क्षेले कमारो उपनाम राखेका थिए । पछि यहि उपनामबाट उनी प्रख्यात भए ।

कमारो ३१ सालमा चौथो महाधिवेशनमा भाग लिन भारतको बनारस गएका थिए । २८ सालमा पञ्चायतले लागू गरेको नयाँ शिक्षा नीतिका विरुद्ध बागलुङमा भएको विद्यार्थी आन्दोलनको नेतृत्व उनैले गरेका थिए ।

कमारोको राजनैतिक नेतृत्वबाट प्रभावित भएर बागलुङका धेरै युवा वामपन्थी राजनीतिमा सक्रिय भएका थिए ।

बागलुङ नगरपालिका–३ नौबीसे टोलमा रहेको टोपबहादुर बिजुक्क्षे र नारायण चोकको ओमप्रसाद गौचनको घर वाम, प्रजातान्त्रिक राजनीतिक जागरणको केन्द्र थियो । उनले विद्यामन्दिर माध्यमिक विद्यालय, धौलागिरि बहु्मुखी क्याम्पस र पृथ्वीनारायण बहु्मुखी क्याम्पसमा अध्यापनसमेत गराएका थिए ।

त्यतिबेला विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थीहरुले पाल्पा र पछि काठमाडौंबाट एसएलसि दिएपछि स्वंय सेवकको रुपमा विद्यामन्दिर माविमा पढाउने प्रचलन थियो ।

तत्कालीन अञ्चलाधिश सत्यनारायण झाले २०२५ सालमा कमारो र २०२९ सालमा राघवलाल वैद्यलाई भैरहवा जेलमा कैद गरेका थिए । कमारोले त्यही जेलबाट कानुनमा स्नातक गरेका थिए ।

२०३२ सालमा राष्ट्र बैकको अगाडि कमारो र राघवलाल मिलेर पोखरामा लवर्स च्याम्बर्स ल फर्म पनि सञ्चालन गरेका थिए । त्यति बेला पोखरामा क्षेत्रिय अदालत थियो ।

२०३४ सालमा पञ्चायतमा प्रवेश गरेका कमारोलाई राजा वीरेन्द्रले जिल्ला पञ्चायतमा मनोनीत गरेका थिए । कमारो २०३७ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर कानुन राज्यमन्त्री भएका थिए ।

२०४८ सालमा स्थापित सुस्तमनस्थिति कल्याण संस्थामा उनी संस्थापन सदस्य थिए । उनी ग्रिन डेभलपमेन्ट बैंकको सञ्चालक समितिको सदस्य थिए ।

कमारोको निधनबाट बागलुङ जिल्ला र राष्ट्रले एक राम्रो प्रतिभालाई गुमाएको ग्रिन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्