३ जेष्ठ २०८१, बिहीबार

 

शिक्षा ऐन उल्लंघन गर्दै बागलुङका एक शिक्षक एमालेको वडा अध्यक्ष बने

बागलुङ नगरपालिका ८ सिगानाका सुरेश मल्ल नेकपा (एमाले) वडा तहको अधिवेशनमा सिगानाको वडा अध्यक्ष चुनिएका छन् । उनी सिगानाको भगवती प्राविका शिक्षक हुन् ।

मल्लले शिक्षा ऐन उल्लंघन गर्दै एमालेको वडा अध्यक्षको जिम्मेवारी लिएका हुन् ।जबकि शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ) ले शिक्षकहरूलाई राजनीतिमा भाग लिन नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै, शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख छ ।‘शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा सो पदबाटै हटाइने छ’, ऐनमा उल्लेख छ ।

यसलाई थप स्पष्ट पार्दै ऐनमा लेखिएको छ, ‘यस खण्डको प्रयोजनका लागि ‘कार्यकारिणी समिति’ भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तहस्तरका कार्यकारिणी समिति सम्झनुपर्छ ।’

ऐन अनुसार, पार्टीको सक्रिय सदस्यता लिन वा सक्रिय राजनीति गर्नबाट शिक्षक टाढा रहनुपर्ने हो । मल्ल अवकास अगावै राजनीतिक दलको कार्यकारी वडा प्रमुख पदमा बसेका हुन् ।

यस बारेमा मल्लले आफू अवकास लिने तयारीमा रहेकाले राजनीतिमा प्रवेश गरेको उनले बताए ।‘म अब अवकास लिने तयारीमा छु, स्थायी भएको पनि ३० वर्ष पुग्न लाग्यो, शिक्षकबाट अवकास लिने योजना अनुसार एमाले सिगानाको वडाध्यक्षमा बसेको हुँ,’ उनले भने ।

आफू अवकास लिने बताए पनि उनले अवकास भने लिईसकेका छैनन् । बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले अवकास अगावै राजनीतिमा सक्रिय भएको पाईएमा कारबाही हुने बताए ।

‘शिक्षक अवकास बिनानै राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्नु शिक्षा ऐन विपरित हो, त्यस्तो अवस्थामा शिक्षकले एक पद छाड्नुपर्छ,’ उनले भने,‘ अरु ठाउँको पनि केही गुनासाहरु हामी कहाँ आएका छन् ।

यस बारेमा बुझेर हामीले उहाँहरुलाई पत्राचार गर्छौं । एमालेमा मात्रै हैन यस अघि कांग्रेसको स्थानीय तहको अधिवेशनमा थुप्रै शिक्षकहरू प्रतिनिधिका रूपमा आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्