३ जेष्ठ २०८१, बिहीबार

 

शिक्षा श्रम र उत्पादनमुखी हुनुपर्छ – मन्त्री बुढा

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिक्षा श्रम र उत्पादनमुखी हुनुपर्ने बताउनुभएको छ ।एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति बागलुङको दोस्रो जिल्ला परिषद्मा बोल्दै उहाँले व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिनुभएको हो ।

“कर्मठ र देशभक्त जनशक्ति उत्पादन गर्ने खाले शिक्षा नीति र प्रणालीलाई राज्यले अबलम्बन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ता कताकता समाजबाट बिमुख भइरहेको, सुखसयलमा भुलिरहेको जस्तो देखिन्छ त्यो त्यति सुखद कुरा होइन ।”

मन्त्री बुढाले संविधानप्रदत शिक्षाको हक समाजका सबै वर्ग र तहमा लागू हुनुपर्ने उल्लेख गर्नुभयो । राज्य पुर्नसंरचना भएको यतिका वर्ष बितिसक्दा पनि सङ्घीय शिक्षा ऐन आउन नसकेकामा उहाँले गुनासो व्यक्त गर्नुभयो ।

“सङ्घीय शिक्षा ऐन पारित नहुँदा प्रदेश तहमा पनि जठिलताहरु उत्पन्न भएका छन्, माथि ऐन नबनी प्रदेशले बनाउन पाउँदैन”, मन्त्री बुढाले भन्नुभयो, “प्रदेश सरकारले भर्खर शिक्षा नीतिसम्म ल्याएको छ, त्यसैमार्फत शैक्षिक सुधारका काम अघि बढेका छन् ।”

उहाँले शिक्षण पेसालाई मर्यादित र सम्मानयोग्न बनाउन शिक्षकहरुमा आग्रह गर्नुभयो । सङ्गठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्र क्षत्रीले शिक्षकका पेसागत हक, हितको रक्षाका लागि आफूहरु सङ्घर्षरत रहेको बताउनुभयो ।

अस्थायी, राहत शिक्षकलगायत शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न सङ्गठनले पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो । उहाँले सङ्गठन सुदृढीकरणको तीन महिने अभियान देशभर सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घ परित्याग गरी सङ्गठनमा आबद्ध हुनुभएका बेलबगर संस्कृत माविका शिक्षक एवं पूर्वस्रोतव्यक्ति प्रेमप्रसाद शर्मालाई मन्त्री बुढालगायतले स्वागत गर्नुभएको थियो ।

परिषद्को उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे ‘अनिल’, सङ्गठनका जिल्ला उपाध्यक्ष लोकमाया थापा, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गण्डकी प्रदेश सदस्य सुर्य महत, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय परिषद सदस्य पशुपती शर्मा, शिक्षक प्रेमप्रसाद शर्मा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राहत शिक्षक विभागका संयोजक थमनाथ पौडेललगायतले मन्तव्य राखेका थिए ।

सङ्गठनका जिल्ला अध्यक्ष जीतबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष हरिराम रेग्मीको स्वागत र सहसचिव सुरेन्द्र चपाइँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बन्दसत्रमा सङ्गठनका कामकारबाहीबारे समीक्षा, जिम्मेवारी बाँडफाट र शिक्षाका समसामयिक मुुद्दामा अन्तरक्रिया भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्