२ जेष्ठ २०८१, बुधबार

 

विद्यामन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा शाक्य

बागलुङकै जेठो शैक्षिक थलो विद्यामन्दिर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बावुलाल शाक्य चयन भएका छन् ।समितिको सदस्यमा मुकेशचन्द्र राजभण्डारी ,रितादेवी शर्मा माया बस्नेत, पारस केसी र पुष्पा शर्मा चयन भएका छन् ।

शनिवार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रुपमा बावुलाल शाक्य,मुकेशचन्द्र राजभण्डारी,माया बस्नेत र रितादेवी शर्मालाई चयन गरेको थियो । आइतवार बसेको समितिको पहिलो बैठकले पारस केसी (इन्द्र) र पुष्पा शर्मालाई मनोनित गरेको छ ।

त्यस्तै वडा प्रतिनिधिबाट वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकाल चयन भएका छन् ।समितिमा शिक्षक प्रतिनिधि रहने व्यवस्था रहेकोमा शिक्षक प्रतिनिधिको छनोट प्रक्रियाका विषयमा आवश्यक गृहकार्य भैरहेको प्रधानाध्यापक शान्तामणि ढकालले बताए ।

विद्यालयमा सुवासचन्द्र राजभण्डारीको अध्यक्षतामा गठित विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ समिति गठन भएको हो । विं.सं. १९९७ मा राणाशासनको समयमा ओमप्रसाद गौचन, मेघकुमार वैद्यले स्थापना गरेको विद्यामन्दिर साविक नेपालमा खुलेको विद्यालय मध्य इतिहास बोकेको पुरानो विद्यालय हो ।

सस्थापक गौचनले तत्कालिन समयमा विद्यालयमा पुस्तकालय ,संगीत कक्षा र घरेलु सिपको समेत व्यवस्था गरेका थिए । २०७२ सालको भूकम्पले क्षति पुगेको विद्यालयमा धनधान्याचल महायज्ञबाट रकम जुटाई अहिले सुविधासम्पन्न भवन बनाइएको छ ।

महायज्ञमा करिब ७ करोड रकम संकलन भएको थियो । त्यसमध्ये करिब  पाँच करोड रुपैयाँ पूर्वविद्यार्थीहरूको योगदान रहेको छ । विद्यालयमा अहिले बाल कक्षादेखि कक्षा १२ सम्म ११ सय ३५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमामा विज्ञान,व्यवस्थापन, शिक्षा र मानविकि समूहमा अध्यापन हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्