२० जेष्ठ २०८१, आईतवार

 

आदर्श सञ्चार सहकारीको १५ औं वार्षिक साधारण सभा अन्तर्गत एकाई सभा सम्पन्न

आदर्श सञ्चार सहकारीको १५ औं वार्षिक साधारण सभा अन्तर्गत पाँचौँ एकाई सभा बिहिबार बागलुङमा सम्पन्न भएको छ ।

साधारण सभाको अबसरमा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमले पछिल्लो समय सहकारी मार्फत धेरै नागरिकको जीवनयापनमा परिवर्तन आएको बताउनुभयो ।

उहाँले सहकारीले नाफा कमाउनेभन्दा पनि सेवाका भावले काम गर्नु पर्नेमा जोड दिनुभयो ।अध्यक्ष गौतमले आदर्श सञ्चार सहकारी अन्य सहकारीका लागि सिकाईको माध्यम समेत बन्दै गएको भन्दै बचत तथा ऋणको काम गर्नुका साथै सञ्चार माध्यम मार्फत जनतालाई सूसुचित गरेको बताउनुभयो ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य इश्वरी प्रसाद गौतम, संस्थाका सल्लाहकार रुद्रबहादुर महत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सचिव ललिता थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट्याउँदै अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक महेशचन्द्र प्रदान, कर्णबहादुर कार्की र इश्वरी प्रसाद गौतमलाईलाई जेष्ठ नागरिक भत्ता वितरण गरिएको थियो । सो अवसरमा संस्थाले अपांगता भएका शेयर सदस्यहरुलाई अपांग भत्ता दिने व्यवस्था अनुसार बानपा १ की सपना केसी र बानपा २ का श्यामसुन्दर श्रेष्ठलाई एक हजार रुपैयाँ अपांगता भत्ता प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट बचत तर्फ शंकर पाण्डे, शशिधर भट्टराई, दयाराम पौडेल, दीर्घकालिन बाल बचत तर्फ दिव्यानी सापकोटा, दीर्घकालीन बचत तर्फ काठेखोलाका रेशमबहादुर आलेलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ९अञ्जु०को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सम्पादक जिसीको संचालनमा सम्पन्न भएको थियो ।

संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, २९ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४३ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्