१६ बैशाख २०८१, आईतवार

 

तलब भत्ता वृद्धिको माग गर्दै बागलुङ नगर भित्रका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

तलब भत्ता वृद्धिको माग गर्दै बागलुङ नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरूले बागलुङ नगरपालिकाको कार्यलयमा मौन धर्ना दिएका छन् ।

चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले विद्यालयका कर्मचारी र शिक्षकका सम्बधमा समेत तलबमा स्थानीय तहबाट थप गरी तलब खुवाउन भनी बजेट भाषणमा उल्लेख भएकाले सो अनुसारको सेवा, सुविधा पाउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

बागलुङका अन्य नगर तथा गाँउपालिकामा बजेट भाषण बमोजिम कार्यन्वय हुदाँ समेत बागलुङ नगरपालिकाले कार्यन्वयनमा आनाकानी गरेको नेपाल विद्यालय कर्मचारी परिषद् नगर कार्यसमिति बागलुङ नगरपालिकाका सचिव गणेश बहादुर थापाले बताए ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हक, हित र सेवा, सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र शिक्षा  मन्त्रालयले स्वीकृत प्रदान गरेअनुसारको तलब भत्ताको माग गर्दै नगरपालिकाका पटक पटक धर्ना तथा ज्ञापनपत्र बुझाउदै आएका छन् ।

विद्यालयमा कार्यरत लेखा सहायकको मासिक २० हजार ५००, र सबै तहका कार्यालय सहयोगीको श्रम ऐन अनुसार न्यूनतम १५ हजार रुपैयाँको माग गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र शिक्षकले संयुक्त रूपमा गठन गरेको संघर्ष समितिले आफूहरूको माग पूरा नभएको खण्डमा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

यसै बिच बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले नगरकार्यपालिकाको बैठकबाट उनिहरुको माग सम्बोधन गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्