२ जेष्ठ २०८१, बुधबार

 

गुरुकुल चलाउन बिहुँकोट धार्मिक महोत्सव हुने

काठेखोला गाउँपालिका–५ रामकोटधाममा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर बिहुँकोट धार्मिक महोत्सवको आयोजना गरिएको छ । आउँदो माघ १ देखि ७ गतेसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अनुसार विगतको सशत्र द्वन्द्वताका गुरुकुल पाठशाला बन्द हुने पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा उक्त गुरुकुल सञ्चालनमा आएको थियो ।

समाजकै परिकल्पना र सङ्कल्पमा धार्मिक महोत्सव आयोजना हुन लागेको संस्थाका अध्यक्ष देवीलाल सुवेदीले बताए । महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको उनको भनाइ छ ।

महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ । महोत्सवमा स्थानीय संस्कृतिको झाँकी प्रर्दशनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्कीर्तन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम हुनेछन् ।

महोत्सवमा धौलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ । गुरुकुल पुनःसञ्चालनको पवित्र उद्देश्य राखेर महोत्सव गरिनु सुखद् रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए ।

संस्कृत पाठशालाले सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने उहाँको विश्वास छ । रामकोटधामका प्रधान संरक्षक एवं राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राखे ।

उनले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताए । पछिल्लो समय धार्मिक गन्तव्यस्थलका रुपमा विकास भइरहेको रामकोटधामको प्रचारप्रसारमा पनि महात्सव सहयोगी बन्ने उनको भनाइ छ ।

धाम परिसरमा कलात्मक त्रिपुरेश्वर महादेव मन्दिर र गण्डकी प्रदेशकै ठूलो शिवलिङ्गसमेत छ । त्यस धाममा बर्सेनि ज्येष्ठ ११ मा रथयात्रासँगै महामेला गर्ने प्रचलन छ । यस्तै बालाचर्तुदशी, शिवरात्रिलगायतमा पर्वमा पनि धार्मिक अनुष्ठान चल्छन् ।

वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम श्रद्धालुको रोजाइमा छ । सदरमुकाम बागलुङ बजारदेखि २० किमी सडकयात्रामा त्यहाँ पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्