धवलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष युक्तप्रसाद शाक्यले वार्षिक प्रगति प्रतिवेदन पेश गरेपछि साधारण सभा सम्पन्न भएको हो । साधारण सभाका प्रमुख अतिथि जेष्ठ नागरिक कुलबहादुर श्रेष्ठले धवलागिरि बचत तथा ऋण सहकारीको ध्यान समाजको तल्लो वर्गमा पनि पुग्नुपर्ने बताएका छन् ।
समाजको तल्लो तहका व्यक्तिको जीवनस्तरलाई माथि उठाउन सहकारीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउँदै आधारभूत जनतामाझ सहकारीलाई लैजान आग्रह गरे । ‘शेयर सदस्यलाई ऋण दिएर मात्र हुँदैन,’ उनले भने, ‘उत्पादनशील क्रियाकलापमा जोड्दै उन्नतिका लागि सहकारीले काम गर्नुपर्छ ।’
यस्तै, सहकारीका सल्लाहकार तथा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सहकारीमार्फत पुँजी निर्माण गरी उत्पादनशीलतामा ध्यान दिनुपर्नेमा जोड दिए ।
कतिपय सहकारी नाफाकै लागि खोलिएको बताउँदै ब्याजका निम्ति खोलिएका सहकारीबाट जनता शोषित भएको बताए ।‘सहकारी ब्याजमा निर्भर रहेर बाँच्नु भनेको शोषण हो,’ उनले भने, ‘अनुत्पादन क्षेत्रमा भन्दा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ ।’
यस्तै, धौलाश्री बहुउद्देश्यीय सहकारीका अध्यक्ष याम बहादुर श्रेष्ठले बैंक र सहकारीबीच सरकारले विभेद गरेको बताए । उनले सन्दर्भ ब्याजदर लागू भएपछि सहकारीलाई मार परेको बताए । ‘सरकारले बैंक र सहकारीबीच विभेद गरेको छ,’उनले भने, ‘यसलाई पुर्नविचार गरिनुपर्छ ।’

सहकारीका सल्लाहकार तथा नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठले सहकारीका सदस्यहरुको हितका लागि नयाँ खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यस्तै, सहकारीका संस्थापक अध्यक्ष शत्रुध्न श्रेष्ठ, सदाबहार बचत तथा ऋण सहकारीका अध्यक्ष किस्मतमणि श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
९ जेष्ठ सदस्यलाई सम्मान
सहकारीमा योगदान पु¥याएका ९ जना ज्येष्ठ सेयर सदस्यलाई सहकारीले सम्मान गरेको छ । २२ औं वार्षिक साधारणसभाको अवसरमा बालकृष्ण श्रेष्ठ, बेगमकुमारी श्रेष्ठ, हरिमाया श्रेष्ठ, धनकाजी श्रेष्ठ, विमला भारी, नरेन्द्रमान श्रेष्ठ, आनन्दमान श्रेष्ठ, विद्याभामा श्रेष्ठ र घनश्याम श्रेष्ठलाई सम्मान गरिएको हो ।

सहकारीले उत्कृष्ठ कर्मचारी पुरस्कार केमिकल शाक्यलाई प्रदान गरेको छ । यस्तै,चन्द्रकुमारी श्रेष्ठको स्मृतिमा सहकारी हित कोषमा लालु श्रेष्ठले ४० हजारकाे चेक सहकारीलाई हस्तान्तरण गरेकी छन् ।
कार्यक्रम सहकारीका अध्यक्ष युक्तप्रसाद शाक्यको अध्यक्षता, उपाध्यक्ष आनन्दप्रसाद श्रेष्ठको स्वागत र कार्यकारी प्रमुख रामकुमार राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।





















































































































































































































