५ जेष्ठ २०८१, शनिबार

 

एमाले बागलुङको अध्यक्षमा को–को छन् आकांक्षी

 नेकपा ९एमाले० बागलुङको नवौँ जिल्ला अधिवेशनका सङ्घारमा मङ्गलबार अध्यक्षका तीन आकंक्षीले आफ्ना योजना सुनाए, सँगसँगै पत्रकारका प्रश्नको सामनासमेत गरे ।

अधिवेशनलाई लिएर नेतृत्वका आकंक्षीसँग अन्तरसम्वाद जुराएको थियो प्रेस चौतरी नेपाल, बागलुङ शाखाले । अध्यक्षका आकंक्षी प्रदेश कमिटि सचिवालय सदस्य हिराबहादुर केसी, प्रदेश कमिटि सदस्य ममतादेवी शर्मा र जिल्ला किमिटिका कार्यवहाक अध्यक्ष कृष्ण पाठकले आआफ्नै दावी अघि सारे ।

उनीहरुले सर्वसम्मत हुँदा वा निर्वाचनमा जाँदा पनि जीतका लागि आफूहरु योग्य रहेको पत्रकार र कार्यकताकाअघि सुनाए । अध्यक्षमा दावी गरिरहनुभएका नेता केसीले नेतृत्वमा पुस्तान्तरणका लागि पनि आफू नेतृत्वमा आउँदा सङ्गतीपूर्ण हुने बताए ।

“मसँगै जनसङ्गठन र पार्टी राजनीतिमा क्रियाशील साथीहरु कोही केन्द्रीय सदस्य, कोही जिल्ला इञ्चार्ज, सहइञ्चार्ज हुनुभएको छ”, उनले भने, “म जिल्ला अध्यक्ष हुँदा नेतृत्व नयाँ पुस्तामा आउँछ, पार्टी नयाँ शिराबाट अघि बढ्छ ।”

२०५६ मा केसीसँगै पार्टीको पूर्णकालीन सदस्य भएका इन्द्रलाल सापकोटा जिल्ला अध्यक्ष हुँदै अहिले केन्द्रीय सदस्य छन् । केसीले आफू अध्यक्ष बनेमा पार्टीको भवन बनाउनेदेखि पाँच सय युवालाई उद्यममा जोड्नेसम्मका योजना सुनाए ।

उनले आफ्नो कार्यकालमा अहिले रहेको पार्टीको संगठित संख्यालाई पाँच हजारबाट बढाएर १२ हजार पु¥याउने र जनवर्गीय सङ्गठनहरुमा ५० हजार सदस्य आबद्ध गर्ने उल्लेख गरे ।

“तीन वर्षे कार्यकालमा जिल्लाका ६२ हजार जनालाई एमालेमा गोलबद्ध गर्ने र त्यसको विद्युतीय अभिलेख राख्ने योजना मसँग छ”, केसीले भने, “आउँदो स्थानीय तहको चुनावमा ४० प्रतिशत पदमा एमालेका उम्मेदवारलाई जिताउने लक्ष्य छ ।”

गत चुनावमा यहाँका दश स्थानीय तहमा रहेका चार सय ४५ पदमध्ये एक सय १६ मा मात्र एमालेका उम्मेदवार विजयी बनेका थिए । जुन २६ प्रतिशत हो ।

यस्तै सङ्घ र प्रदेश निर्वाचन क्षेत्रमा अहिले एक,एक जनप्रतिनिधि रहेकामा त्यसलाई कायम राख्दै थप एउटा क्षेत्रमा जीत निकाल्नुपर्ने केसीले बताए । उनले पश्चिम बागलुङमा संगठन कमजोर हुँदा एमाले क्षेत्रीय पार्टीजस्तो देखिएको भन्दै जिल्लाभर विस्तारित र मजबुत पार्टी बनाउने प्रतिबद्धता जनाए ।

अध्यक्षका अर्का आकंक्षी ममतादेवी शर्माले पार्टीको नीति, सिद्धान्तमा सँधै अडिग रहेको र आफू नेतृत्वमा रहँदा सिङ्गो महिला जगतको सम्मान हुने धारणा राखे ।

उनले पार्टीभित्र समावेशी सिद्धान्तलाई पालना गराउन सशक्त भूमिका खेल्ने बताइन । २०४७ मा अखिल नेपाल महिला संघ बागलुङको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेकी शर्माले आफू पार्टी नेतृत्वका लागि योग्य रहेको उल्लेख गरिन् ।

“बीचमा म शिक्षण पेसामा जोडिए नभए म सँधै पार्टीको काम क्रियाशील छु, अहिलेसम्म कुनै उपल्लो पदमा छैन”, शर्माले भनिन्, “जिम्मेवारी आए नेतृत्व लिन तयार छु, हैन भने मेरो लागि पार्टी सदस्यता नै ठूलो छ ।”

शर्माले आफू अध्यक्ष भएका पार्टीलाई सशक्त तुल्याउन र सदस्यता वृद्धिका लागि गाउँतहदेखि नै भेला, प्रशिक्षणलाई अभियानका रुपमा लाने उद्घोष गरिन् । उनले पार्टीको संगठित सदस्यता २० हजार पु¥याउने बताइन ।

कार्यवहाक अध्यक्ष पाठकले अध्यक्षमा आफ्नो दावी प्राकृतिक भएको बताए । उनले धेरै वर्षदेखि नेतृत्वलाई सफल बनाउन दोस्रो तहमा बसेर भूमिका खेलेको जनाउँदै अब आफै अध्यक्ष बन्ने पालो आएको बताए ।

“जिल्ला कमिटिको उपाध्यक्ष थिएँ, कार्यवहाक अध्यक्ष भएको दुई महिना पनि पुगेको छैन, अब म अध्यक्ष बन्दा प्राकृतिक र न्यायोचित हुन्छ”, उनले भने । नेता पाठकले अन्तिमसम्म सर्वसम्मतका लागि प्रयास गरिने र त्यसो हुन नसके लोकतान्त्रिक विधिबाट नेतृत्व छानिने बताए ।

निर्वाचनमा जानै परेपनि उम्मेदवारहरुबीच उच्च प्रकारको समझदारी र हार्दिकता कायम गरिने उनको भनाइ छ । “यो कुनै सत्तामा जाने कुरा होइन, यो त पार्टी बनाउने जिम्मेवारी लिने कुरा हो”, पाठकले भने, “एमालेका सामु अहिले देखिएका चुनौतीको सामना गर्दै, पार्टीलाई मजबुत र एकताबद्ध गर्नु हाम्रो प्रमुख कार्यभार हो ।”

उनले पार्टीभित्र देखा परेका संगठनात्मक अराजकता र अन्तरविरोधलाई परास्त गर्नुपर्ने बताए । तलदेखि केन्द्रसम्मै कार्यकर्ता व्यवस्थापन हुन नसकेको भन्दै नेता पाठकले आफू जिल्लाको नेतृत्वमा आएमा कार्यकर्ताको वैज्ञानिक व्यवस्थापन गर्ने बताए ।

उनले आउँदा चुनावमा यहाँका वामपन्थी शक्तिबीच सहकार्य र एकताका लागि सक्दो पहले लिने बताए । पाठकले नेपाली काँग्रेस मुख्य प्रतिस्पर्धी पार्टी भएकाले उसलाई चुनावमा परास्त गर्न वाम शक्ति एकठाउँ उभिनुपर्ने आवश्यकता औल्याए ।

तीनै नेताले वर्षौँअघि जग राखेर पनि बन्न नसकेको पार्टी कार्यालय भवन आफू अध्यक्ष भएमा निर्माण गर्ने योजना सुनाए ।

यसअघि अध्यक्षको आकंक्षीमा जिल्ला कमिटिका पूर्वअध्यक्ष जनकराज पौडेल र सचिव विष्णु भुसालको पनि नाम चर्चामा आएकामा मंगलबारको अन्तरसम्वादमा भने उनीहरु उपस्थित थिएनन् ।

जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । अधिवेशनमा छ सयबढी प्रतिनिधिले भाग लिने एमाले बागलुङले जनाएको छ । अधिवेशनले तीन वर्षका लागि नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्