५ जेष्ठ २०८१, शनिबार

 

पाँच गुनाले बढेको थियो माओको पालामा चीनको अर्थतन्त्र

- प्रति व्यक्ति राष्ट्रिय आय ६३ प्रतिशतले बढेको थियो

विनयशील माओ त्सेतुङ

सन् १९६० को डिसेम्बर पहिलो साता नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता निरञ्जनगोविन्द वैद्य चीन भ्रमणमा हुनुहुन्थ्यो । चिनियाँ क्रान्ति सम्पन्न भएको एक दशक नाघिसकेको थियो ।

वैद्य सोभियत सङ्घमा सम्पन्न मजदुर सङ्गठनहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई प्रजग कोरिया हुँदै चीन पुग्नुभएको थियो । नेपाली नेता वैद्यले चिनियाँ नेता माओसँग भेट गर्ने अवसर पाउनुभयो ।

भेटमा माओले नेपालका मजदुर–किसानलगायत श्रमजीवी जनताबारे विभिन्न जिज्ञासा राख्नुभएछ । कुराकानीको क्रममा माओले वैद्यसँग ‘चीनमा के के देख्नुभयो, अनि कस्तो लाग्यो चीन यहाँलाई’ भनी सोध्नुभएछ ।

वैद्यले चीन एक विशाल देश हो, चारपाँच दिनको भ्रमणमा सबै कुरा हेर्न र बुझ्न सम्भव नभएको तर आफू पुगेका ठाउँमा चीनको प्रगति देखेर निकै प्रभावित भएको उल्लेख गर्नुभएछ ।

वैद्यको उत्तर सुनेर माओले ‘हाम्रा कार्यकर्ताले तपाईँलाई राम्रो–राम्रो ठाउँमात्रै घुमाए होलान्, वास्तविक चीन फरक छ’ भन्नुभएछ । चीनका थुप्रै कमजोरी र समस्या भएको र चीनको विकास गर्न अझै निकै मेहनत गर्नुपर्ने कुरा माओले भन्नुभएछ ।

माओले चिनियाँहरू दृढ भएर लागिरहेको कुरो निरञ्जनगोविन्द वैद्यलाई भन्नुभएको प्रसङ्ग वैद्यकै पुस्तकलाई उद्धृत गरी उहाँका छोरा शिशिरले नेपालको एक दैनिक पत्रिकामा केही महिना अगाडि लेख्नुभएको छ ।

प्रस्तुत घटनाले माओको बहुआयामिक व्यक्तित्वको उजागर गर्छ । माओको नम्रता र सरलताले एउटा विशाल देशको कम्युनिस्ट पार्टीलाई अझ विशाल एवम् अटल बनाएको बुझिन्छ ।

माथि प्रस्तुत घटना केही नगरेरै पनि धेरै गरेको स्वाङ पार्ने, भड्किलो प्रचारमै रम्ने, देखावटी काममै रमाउने नेपाली शासक दलका नेताहरूको प्रवृत्तिप्रतिको ठूलो कटाक्ष हो । माओको व्यक्तित्वबाट सिक्नुपर्ने यो पहिलो कुरा लाग्यो मलाई ।

माओको व्यक्तित्व झल्काउने नेपालसँग जोडिएको एउटा अर्को सन्दर्भ पनि छ । आजभन्दा करिब ६० वर्ष अगाडि सगरमाथाबारे नेपाल र चीनबीच विवाद भयो ।

चीनका विज्ञहरूले सन् १७२१ आसपासमा कोरिएका विश्वका सर्वोच्च शिखरको नक्सा आफूसँग भएको दाबी गरिरहेका थिए । सन् १९६१ मा तत्कालीन राजा महेन्द्रले चिनियाँ नेता माओसँग कुराकानी गरेपछि सगरमाथाको विवाद निरूपण भयो ।

माओ सगरमाथालाई सीमाको रूपमा लिन तयार हुनुभएको थियो । दक्षिणी छिमेकीसँग दशकौँदेखिको सीमा विवाद यथावत रहिरहेको अवस्थामा अन्तर्राष्ट्रिय महत्व बोकेको विश्वको सर्वोच्च शिखरबारेको विवाद सजिलै टुङ्गिने विषय थिएन ।

माओमा ठूलो देशको राष्ट्राध्यक्ष भएकोमा पटक्कै अहङ्कार थिएन । माओको विशाल सोचको कारण सगरमाथाबारेको नेपाल र चीनबीचको विवाद सहजै सल्टिएको थियो ।

यसबाट माओ तथ्य र प्रमाणको आधारमा स्पष्ट मत राख्ने नेता भएको प्रस्ट हुन्छ । सामरिक क्षमता, भूगोल, अर्थतन्त्र आदि कुनै पनि हिसाबले नेपालभन्दा अत्यन्तै विशाल मुलुकले नेपालप्रति देखाएको सहृदयता सबभन्दा अमूल्य छ ।

माओको सद्भाव

यो पङ्क्तिकार केटाकेटी छँदा मनाउने गरेको माओ त्सेतुङको जन्मदिवस (२६ डिसेम्बर) का कार्यक्रममा वक्ताहरू उहाँको बाल्यावस्थाका केही घटना र अध्ययनप्रति उहाँको लगावबारे नछुटाइ बोल्थे ।

विद्यार्थीका निम्ति अत्यन्त चासो तथा महत्वका विषय थिए ती । माओजस्ता महान् नेताको बाल्यावस्थाबारे जान्न जो कोही इच्छुक हुनु स्वाभाविकै थियो ।

एकदिन बालक माओलाई आमाबुबाले अन्नको बिस्कुन हेर्ने जिम्मा दिनुभएको थियो । गाउँका किसानहरू पनि अन्न सुकाउँदै थिए । अचानक पानी प¥यो । बालक माओ आफ्नो घरको अन्न थन्क्याउनुभन्दा पहिले एउटा गरिब किसानको अन्न बटुल्न सहयोग गर्न लाग्नुभयो ।

त्यसले गर्दा माओको केही अन्न नोक्सानी भयो । माओका पिता खरो मिजासका हुनुहुन्थ्यो, माओले पिताको गाली खानुप¥यो । तर, माओले आफ्ना पितासँग भन्नुभयो– “थोरै अन्न खेर गएर हामीलाई धेरै फरक पर्दैन तर ती गरिब किसानको निम्ति धेरै फरक पर्छ ।” त्यस्ता प्रसङ्गले नयाँ पुस्तालाई गरिबका बारे सोच्न उत्साहित गर्दोरहेछ ।

अध्ययनशील माओ

आजको युवा पुस्तामा अध्ययनको संस्कृति दिनप्रतिदिन कमजोर भइरहेको सर्वत्र अनुभव गरिएको छ । चलचित्र, युट्युव, टिकटक र केही अनलाइनका हल्का ज्ञानमै सन्तुष्ट हुने प्रवृत्ति मौलाइरहेको बेलामा माओको अध्ययनशीलताबारेको चर्चा गर्नु यहाँ सान्दर्भिक हुन्छ होला ¤
पुस्तकालयमा बिहान ढोका खुलेदेखि साँझ बन्द नभएसम्म पुस्तकको अध्ययनमै युवा माओको दिनचर्या सकिन्थ्यो ।

स्वाध्ययनको हुटहुटीले नै माओलाई पुस्तकालयको कारिन्दासमेत बनायो । उहाँ रात–दिन पुस्तकको संसारमा डुब्नुहुन्थ्यो । ज्ञान–विज्ञानको तृष्णा लागेपछि माओ दियो बालेर रातभर पढ्नुहुन्थ्यो ।

विद्यालय वा कलेजको परीक्षा उत्तीर्ण गर्नुभन्दा विश्वको ज्ञानसँग साक्षात्कार गर्ने उत्कट चाहनाले उहाँलाई अध्ययनमा लीन हुन प्रेरित गरेको थियो । चीनको मात्र नभई विश्वको इतिहास, भूगोल, साहित्य, दर्शन, अर्थशास्त्र लगायतका उपलब्ध सामग्री अध्ययन गर्नुभएको थियो । यो प्रसङ्ग युवाहरूलाई अध्ययनमा उत्साहित गर्न पुग्दो हुनसक्छ ।

सन् १९४१ को मे महिनामा माओले येनानमा आयोजित कार्यकर्ताको बैठकमा ‘हाम्रो अध्ययनलाई सुधारौँ’ भन्ने प्रस्ताव (लेख) समेत राख्नुभएको सन्दर्भ यहाँ उल्लेखनीय छ ।

लेखमा उहाँले कार्यकर्ताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कार्यकर्तालाई मनोगत आधारमा कुनै निर्णय नलिन सचेत गराउनुभएको थियो ।

परिस्थितिको गम्भीर अध्ययन गरी वस्तुगत यथार्थको आधारमा अघि बढ्नुपर्ने माओको विचार थियो । माओले इतिहासको अध्ययनमा पनि उत्तिकै जोड दिनुभएको थियो ।

माक्र्सवाद र लेनिनवादको अध्ययन फोस्रो आडम्बरको निम्ति नभई व्यवहारमा उतार्नको निम्ति हो भन्ने विचार आजको नेपाली परिप्रेक्ष्यमा पनि महत्वपूर्ण छ ।

सिद्धान्तनिष्ठ व्यवहारमाथि नै माओको मुख्य जोड थियो । त्यसो नगर्नुको अर्थ पार्टी भावना नुहुनु वा ज्यादै कमजोर मानिस भएको भन्ने निष्कर्ष माओ – शिक्षाको मूलभूत आधार हो ।

माओको उच्च मनोबल

माओको परिवार कहिल्यै कमजोर सिद्ध भएन । माओको जीवनसङ्गिनी याङकाई हुईलाई च्याङकाई सेकको सरकारले चरम यातना दिएर मारेको थियो । त्यो घटनाले माओलाई विचलित बनाएन ।

त्यस्तै, जेठा छोरा माओ एनिङले २८ वर्षको उमेरमा कोरियाली युद्धमा शहादत प्राप्त गरे । साम्राज्यवादविरुद्ध लड्दालड्दै जसरी चिनियाँ युवाहरूले शहादत प्राप्त गरे, त्यसरी नै एनिङको मृत्यु भएको भनेर माओ त्सेतुङले चित्त बुझाउनुभयो ।

युद्ध मैदानमा हवाई आक्रमणबाट एनिङको निधन भएको थियो । अक्टोबर १९३० मा कोमिन्ताङको सेनाले समातेर चरम यातना दिएर पार्टी र माओलाई छोड्न दबाब दिएपनि याङकाई हुईले आत्मसमर्पण गर्नुभएन ।

त्यतिबेलै माओ त्सेतुङका जेठा छोरा ८ वर्षका एनिङलाई समेत यातना दिइएको थियो । कोमिन्ताङ सेनालाई याङकाई हुईले दिएको जवाफले माओ परिवार क्रान्तिप्रति कति दृढ हुनुहुुन्थ्यो भन्ने प्रस्ट हुन्छ ।

उहाँको एउटा संस्मरण यस्तो छ – “तिमीहरू मलाई मार्न सक्छौ तर तिमीहरूले मेरो मुुखबाट केही पनि बकाउन सक्दैनौ, मेरो टाउकोलाई टुक्राटुक्रा पारेर हावामा फ्याँकिदेऊ, मृत्युले डरपोकहरूलाई मात्र तर्साउँछ तर कम्युनिस्टहरूलाई होइन, चाहे सागर सुकोस् वा चट्टान टुक्राटुक्रा होस्, म माओसँगको सम्बन्धलाई तोड्न सक्दिनँ !”

माओको सरलता

तत्कालीन सोभियत सङ्घको नेतृत्वसँग भइरहेको सैद्धान्तिक सङ्घर्षको क्रममा सोभियत सङ्घसँगको चीनको सम्बन्ध बिग्रियो । स्तालिनको निधनपछि सोभियत सङ्घमा ख्रुस्चेभको संशोधनवादी नीति लागु भइसकेको थियो ।

चीन र सोभियत सङ्घबीच सहयोगको आदानप्रदान करिब बन्द भइसकेको थियो । चीनमा कार्यरत रुसी इन्जिनियरहरू समेत फर्काइएका थिए । यसैबीच सन् ६० को दशकमा चीनमा ठूलो आर्थिक सङ्कट आइप¥यो ।

जनताका आधारभूत आवश्यकता पूरा गर्न पनि कठिनाइ हुनथाल्यो । माओ जनताको समस्यासँग आफू पनि समाहित हुन चाहनुहुन्थ्यो । दुःखको त्यो अवधिमा माओले माछामासु, फलफुलसमेत खान छोड्नुभयो ।

उहाँले आफैले उमारेको तरकारीले काम चलाउनुभयो । उहाँको खानपान सामान्य थियो । कोठामा कुनै महँगा सामान थिएनन्, पुरानै रुमाल, लुगाफाटो, जुत्ता र चप्पल थिए ।

१ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको घोषणा हुँदा माओले च्यातिएको सैनिक पोशाकलाई टालेर लगाउनुभएको कुरा उहाँकै अङ्गरक्षक याङ्ची क्वाकले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् ।

सन् १९६१ मा चीनमा भएको ठूलो भोकमरीमा त्यहाँका जनताले कन्दमूलको रोटी पकाएर खाएको थाहा पाएपछि द्रविभूत हुनुभएका माओले ६ महिनासम्म मासु नै नखाएकोेजस्ता धेरै प्रसङ्गहरू याङ्चीको पुस्तकमा पाइन्छ ।

नेपालका एकजना राणा शासकसँग एक नागरिकले ‘भोकै छु सरकार’ भन्दा ‘दूध र भात पनि खान पाएनौ’ भनी प्रतिक्रिया दिएको कथा सुनेका, कम्युनिस्टकै नाममा चप्पल लाएर राजधानी छिरेका शासक नेताहरू भव्य महलका मालिक भएको देखेका नेपालीको निम्ति त्यो कुरा निकै आश्चर्यजनक हो ।

आधुनिक चीन निर्माणका आधारशिला

चीनमा माओलाई अहिले पनि अध्यक्षको रूपमा सम्बोधन गरिन्छ । चिनियाँ मुद्रामा माओकै चित्र अङ्कित छ । कतिपय ‘विद्वान’ ले १९७८ को खुलापनपछिमात्र चीनको आर्थिक परिवर्तन भएको भनी चिनियाँ नेता माओको अवमूल्यन् वा बदनाम गर्ने कुचेष्टा गर्छन् ।

कतिपय निन्दकले लामो समयसम्म ‘एसियाको रोगी मान्छे’ भनेर उपहास गरेको देशको अर्थतन्त्र सन् १९७८ सम्ममा पाँच गुनाले बढेको इतिहास लुकाउन खोजे ।

माओको शासनको अन्तिम दुई दशक सन् १९५७ देखि १९७५ मा प्रतिव्यक्ति राष्ट्रिय आयको हिसाबले ६३ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक नै छ ।

त्यो आर्थिक विकास दर अन्य विकसित देशको भन्दा बढी थियो । माओको पालामा सोभियत सङ्घबाट प्राप्त केही आर्थिक तथा प्राविधिक सहयोगबाहेक कुनै अन्तर्राष्ट्रिय सहायता र वैदेशिक ऋणविना चीनले त्यो सफलता पाएको थियो ।

सन् १९७४ तिरै चीनले जेट प्लेन, रेल, पानीजहाज, अन्तरमहाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्र, हाइड्रोजन बम र स्याटेलाइट निर्माण गरिसकेको थियो । माओ निर्देशित औद्योगिक क्रान्तिविना आधुनिक चीनको सफलता असम्भव थियो ।

माओको पालामा बाढी नियन्त्रण संरचना, बाँध, सिँचाइ प्रणाली निर्माण नगरिएको भए के चीनले आजको आर्थिक–सामाजिक समृद्धि हासिल गर्न सक्थ्यो ? निश्चितरूपमा सम्भव थिएन ।

पश्चिमी संसारले २५ वर्षसम्म चीनलाई खाद्यान्न, वित्तीय, प्राविधिक, औषधी र कृषि उपकरण आदिमा कठोर नाकाबन्दी लगाई विश्व समुदायबाट बहिष्करण गर्दापनि चीनको औसत आयु बढेर दोब्बर भएको लेखक गडफ्री रोबेर्ट्सले एक लेखमा उल्लेख गरेका छन् ।

माओकै पालामा चीनको साक्षरता दर ८४ प्रतिशत पुगेको थियो, महिलालाई शिक्षित बनाई दासताबाट मुक्त गरिएको थियोे, आर्थिक असमानता हटाइएको थियो । माओकै पालामा चीनको विकास तथा निर्माणको गति तीव्र थियो भन्ने लेख रोबेर्ट्सको सार भनाइ थियो ।

माओको जीवनीमा लेखक हरिबहादुर श्रेष्ठ लेख्नुहुन्छ– “अक्टोबर १९६४ मा चीनले आणविक बमको पहिलो परीक्षण गरेर साम्राज्यवादी र रुसी संशोधनवादीहरूलाई हाँक दियो । तर, माओको विदेशनीतिअनुसार आणविक बम प्रयोग गर्नमा चीन कहिल्यै पहिलो हुने छैन भनेर संसारलाई चकित पारिदियो ।”

हरिबहादुर श्रेष्ठ अगाडि भन्नुहुन्छ – “माओ सा¥है नम्र, विवेकी, विशाल हृदयको र स्पष्ट वक्ता हुनुहुन्थ्यो । माओ सम्पूर्ण चिनियाँ जनताको आँखाको नानी हुनुहुन्थ्यो ।”

माओ त्सेतुङको व्यक्तित्वले विश्वभरका शोषितपीडित मजदुर वर्गलाई सधैँ उज्यालो दिइरहनेछ ।

अनलाइन मजदुरबाट

प्रतिक्रिया दिनुहोस्