२ जेष्ठ २०८१, बुधबार

 

नोबेल र काठमाडौं मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता लिन विश्वविद्यालयको निर्देशन

काठमाडौं विश्वविद्यालयले आफूमातहतका मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता लिन निर्देशन दिएको छ। अहिलेसम्म लिएको अतिरिक्त शुल्क विद्यार्थीकै नाममा फिर्ता गर्नसमेत विश्वविद्यालयले निर्देशन दिएको छ।

आन्दोलनरत विद्यार्थी संगठनहरू र काठमाडौं विश्वविद्यालय प्रशासनबीच भएको सहमतिअनुसार डिनको कार्यालय र रजिस्ट्रार कार्यालयले छात्रावासलाई स्वेच्छिक गर्नसमेत निर्देशन दिएको छ।

होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाएबापत पठन–पाठनलगायतका सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरूलाई निःसर्त कक्षामा सामेल गराउने निर्णय भएसँगै आफूहरूले गरेको सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको विद्यार्थी संगठनहरूले जनाएका छन्।

यसअघि विभिन्न शीर्षकमा विद्यार्थीहरूले झन्डै ५ लाख अतिरिक्त शुल्क तिर्नपर्थ्यो भने मासिक २४ हजार रुपैयाँ तिरेर होस्टेलमा बस्न अनिवार्य गरिएको थियो।अब होस्टल बस्न पाउने, नपाउने निर्णय विद्यार्थीले गर्न पाउनेछन्।

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्कविरूद्ध विद्यार्थीहरूले आन्दोलन गरेका थिए। नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरूले विज्ञप्ति निकालेर भएका निर्णय र सहमति कार्यन्वयन नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्