२ जेष्ठ २०८१, बुधबार

 

शिक्षामन्त्री पौडेलले मन्त्रिपरिषद्मा लगेका तीन प्रस्ताव पारित, बन्ने भयो चितवनमा शिक्षक अस्पताल

सरकारले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षामन्त्री देवेन्द्र पौडेले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताब पेश गरेका थिए ।

२१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । बिमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी ठाँउ प्रस्ताव गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति दिने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । ८ महिना पछि विश्वविद्यालयले महिला उपकुलपति पाएको हो । उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन् । यसअघि सुदुरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ पहिलो उपकुलपति बनेकी थिइन् ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्य सहित प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नै सम्भावित उपकुलपतिको नाम सिफारिस भएपनि सरकार परिवर्तनको कारण नियुक्तिमा ढिलाइ भएको थियो ।

यस्तै केन्द्रीय आयोजना कार्यान्वयन इकाईका लागि अस्थायी दरबन्दी मन्त्रिपरिषद्ले स्वीकृत गरेकाे छ । योसँगै मन्त्री पौडेलले तीन प्रस्ताव मन्त्रिपरिषद्मा  साेमबार लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्