२ जेष्ठ २०८१, बुधबार

 

देशको आर्थिक विकासको लागि शिक्षामा लगानी बढाउँछौ : शिक्षा मन्त्री पौडेल

नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षामा लगानी बढाउने बताएका छन् । अहिलेको शिक्षाको बजेट शैक्षिक सुधारको लागि अपुग भएकोले सबै सरोकारवालाहरुसँगको परामर्श गरी शिक्षाको बजेट बढाउने तयारीमा रहेको बताए ।

लामो समयदेखि ल्याउन नसकिएको शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए ।प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले शिक्षा ऐन नभएकै कारण संघ, प्रदेश र पालिकाहरुले शिक्षा क्षेत्रमा धेरै काम गर्न नपाएको बताए ।

शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको दिनदेखि नै नेपालको सार्वजनिक शिक्षामै सुधार गर्न आफू लागि परेको र त्यसको लागि विभिन्न सुधारको कार्याक्रम ल्याएको बताए। ‘मेरे संयोजकत्वमा शिक्षा क्षेत्र सुधार गर्न कार्यदल बनाएका छौं, हामीले गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सबै सूचक लागू गर्न खोज्दैछौं’ उनले भने, ‘शिक्षकहरुका माग पुरा गर्ने र शिक्षामा रहेका बेथिती अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।

’केन्द्रीय तहमा पनि धेरै सुधारका काम थालेको दावी गरे । शिक्षक दरबन्दी मिलान ,जमलमा केन्द्रीय पुस्तकालय बनाउने, शिक्षक सेवा नियमावली बनाउने,पढ्दै कमाउँदै कार्यक्रम, लामो समयदेखि रोकिएको शिक्षक पदको बढुवाको लागि शिक्षक सेवा आयोगले परीक्षा लिने काम सुरु भएको र भरतपुर महानगरपालिका १५ भगवानपुरमा ३ सय बेडको शिक्षक अस्पताल बनाउनको लागि आवश्यक गृहकार्य सुरु भएको बताए ।

सरकारले स्थानीय तहको निर्वाचनको पनि तयारीमा जुटिसकेको पौडेलले जानकारी दिए ।यसको लागि निर्वाचन आयोगसँग सरकार गृहकार्यमा जुटेको बताए ।यसै गरी गठबन्धनमा एमसिसी बारेमा फरक फरक विचार भए पनि एमसिसीमा भएको असमान प्रावधान भएकोले देशहितको रक्षाको लागि आवश्यक सुधार गर्न संसदमा भएका राजनैतिक दलहरुविच गहन छलफल हुनु पर्ने मन्त्री पौडेलले भने ।

एमसिसीको बारेमा नेकपा माओवादी केन्द्रमा वैचारिक मतभेद भए पनि पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा देशको स्वाधिनतामा असर गर्ने असमान खालको प्रावधान हटाउनको लागि पार्टी भित्र र सरकारमा सम्मिलित दलहरु विच आवश्यक संवाद गर्नु पर्ने बताए ।

कार्याक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष संजन सिंहको अध्यक्षता, प्रेस सेन्टर गण्डकी प्रदेश उपाध्यक्ष राम थापाको स्वागत र सचिव अनिश खातीको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर : डम्मर बुढा मगर

प्रतिक्रिया दिनुहोस्