५ जेष्ठ २०८१, शनिबार

 

डेङ्गु रोग र फिलिपिन्सको अनुभव

मानव समाजको विकाससँगै मानिसहरूको जीवनशैली पनि परिवर्तन हुँदै छ । परिवर्तित जीवनशैलीसँगै मानव समाजमा विभिन्न रोगको उत्पति भएको पाइन्छ । कुनै दीर्घ (क्रोनिक) रोग, कुनै तीव्र (एक्युट) रोग, कुनै सर्ने (इन्फेक्सियस) रोगहरूले मानिसको स्वास्थ्यमा असर पारिरहेका हुन्छन् । विभिन्न रोगहरूले महामारीको रूप लिँदा लाखौँ मानिसहरूले ज्यान गुमाउँदै छन् ।

सन् २०१९ बाट सुरु भएको कोभिड–१९ को महामारी हामी सबैले अनुभव ग¥यौँ । भक्तपुर नगरपालिका, ख्वप अस्पताल र हामी सबैको साझा प्रयासले भक्तपुरमा कोभिडका बिरामीहरूको उपचार र रोकथामको उचित व्यवस्थापनको प्रयास भयो ।

हामी अहिले डेङ्गु रोगको महामारीको बीचमा छौँ । २०७९ असोज १३ गतेसम्मको तथ्याङ्कअनुसार यो वर्ष नेपालमा २८,००० सङ्क्रमित रहेको छ भने ३८ जनाले ज्यान गुमाएको सार्वजनिक भएको छ । ख्वप अस्पतालमा अहिलेसम्म ८४ जना डेङ्गुका बिरामी भर्ना भए भने कति बिरामीहरू निको भएर डिस्चार्ज भइसकेका छन् । अहिले पनि कतिपय बिरामीहरू उपचारार्थ भर्ना भइरहेका छन् । हामी सचेत भएन भने यो रोग अझ बढी जनतामा फैलिन सक्छ ।

सन् १९५३ देखि १९५४ मा फिलिपिन्सबाट सुरु भएको डेङ्गु रोग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार बर्सेनि ५ करोड मानिसमा डेङ्गु रोग सङ्क्रमित भएको पाइन्छ । डेङ्गु रोग सार्ने लामखुट्टे एडिस एजेप्टि र एडिज एल्बोपिक्टसको वासस्थान भूमध्यरेखाको उत्तर र दक्षिणको भाग ट्रपिकल र सप ट्रपिकल क्षेत्र हो ।

यस स्थानमा प्रत्येक वर्ष डेङ्गुको प्रकोप बढ्ने गर्दछ ।डब्लुएचओ साउथ इस्ट एसियालाई डेङ्गुको रोग प्रभावित क्षेत्रमा वर्गीकरण गरिएको छ । जसमा फिलिपिन्स, भारत, थाइल्यान्ड, श्रीलङ्कालगायतका देशहरू ‘क’ वर्गमा पर्छन् । क वर्गमा वार्षिकरूपमा डेङ्गुको रोग महामारीको रूपमा फैलिने क्षेत्र पर्दछ ।

त्यस्तै ‘ख’ वर्गमा नेपाल र भुटान पर्दछ, जहाँ डेङ्गु रोग कुनै वर्ष फैलिने र कुनै वर्ष नफैलिने हुन्छ । त्यस्तै ‘ग’ वर्गमा प्रजग कोरिया पर्दछ, जहाँ अहिलेसम्म डेङ्गु देखापरेको छैन ।
फिलिपिन्समा एमडी अध्ययनको क्रममा डेङ्गुका बिरामीहरूको उपचार गर्ने मौका पाएँ ।

फिलिपिन्सको अनुभव आज फलदायक भएको अनुभव गर्दै छु । फिलिपिन्सको चिकित्सा शिक्षातर्फ राम्रो पक्ष भनेको त्यहाँ सबै रोगहरूको नेसनल गाइडलाइन बनाएको हुन्छ । फिलिपिन्स कलेज अफ फिजिसियनले उपचारको अन्तर्राष्ट्रिय मान्यताअनुसार आफ्नो छुट्टै अध्ययन गरी उपचारसम्बन्धी निर्देशिका बनाउने गर्दछ ।

डेङ्गु लागेको लामखुट्टेमा आफ्नो थुकको ग्रन्थीमा डेङ्गुका भाइरसहरू जम्मा भएर बसेको हुन्छ । २ देखि ३ हप्ताको लामखुट्टेको जीवनकालमा उक्त सङ्क्रमित लामखुट्टेले जति मानिसलाई तोकेको हुन्छ ती सबै व्यक्तिलाई डेङ्गु रोग लाग्ने गर्दछ । सङ्क्रमित लामखुट्टेले तोकेको २ देखि ७ दिनमा डेङ्गुका लक्षणहरू देखा पर्ने गर्दछ ।

डेङ्गु रोगको वर्गीकरणः

क) खतराका लक्षण नभएको डेङ्गुु (डेङ्गुु विथ आउट वार्निङ साइन)
यो अवस्थामा डेङ्गु लागेको बिरामीलाई ज्वरो आउने, खटिरा आउने र जोर्नी दुख्ने गर्दछ ।
ख) खतराको लक्षण भएको डेङ्गु (डेङ्गुु विथ वार्निङ साइन)
यो अवस्थामा बिरामीलाई निकै पेट दुख्ने, बान्ता हुने, पेट तथा फोक्सोमा पानी जम्ने, मुख, नाक, गोडाबाट रगत बग्ने, कलेजो सुनिने हुन्छ ।
ग)सिभिएर डेङ्गुु
यो अवस्थामा बिरामीलाई धेरै रक्तश्राव हुने, श्वास फेर्न गाह्रो हुने र मृत्युसम्म हुनसक्छ ।

डेङ्गु रोग लाग्दा तेस्रोदेखि सातौँ दिनसम्मको अवधि क्रिटिकल फेज हो । यो समयमा प्लेटिलेट्स कम हुँदै जाने, ज्वरो कम हुने र प्लाज्मा घट्दै गएर विभिन्न अङ्गहरूमा असर पर्ने गर्दछ ।
डेङ्गु रोगको निश्चित उपचार नभएको र यो रोग आफै निको हुने रोग हो । डेङ्गु लागेमा तुरुन्तै चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ र नियमित रगत जाँच गर्नुपर्ने हुन्छ । डेङ्गु रोगबाट बच्न लामखुट्टेको वासस्थान नष्ट गर्नुपर्ने हुन्छ । यसको लागि हामी आफै सचेत भई पानी जम्ने स्थानहरू सफा गर्नु आवश्यक छ ।
दसैँ तथा दीपावलीमा स्वास्थ्यलाई ध्यानमा राखी स्वस्थकर खानेकुरा खान अनुरोध गर्दछु । दसैँको समयमा पनि स्वास्थ्य क्षेत्रका व्यक्तिहरूले बिरामीको उपचारमा आफ्नो दायित्व पूरा गर्दै चाडपर्व मनाउनुपर्ने हुन्छ । स्वस्थ रहौँ, रमाइलो गरौँ

(ख्वप अस्पताल र ख्वप बहुप्राविधिक संस्थानको आयोजनामा असोज १४ गते भएको शुभकामना आदानप्रदान कार्यक्रममा डा अमर प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)

अनलाइन मजदुरबाट

प्रतिक्रिया दिनुहोस्