५ जेष्ठ २०८१, शनिबार

 

शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा माओवादी केन्द्र बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताए ।

“सात वटा ऐन बनायौँ, सात वटा ऐन प्रक्रियामा छन्, कानून र अर्थ मन्त्रालयबाट सहमति लिनुपर्ने भएकाले बढी समय लाग्यो”, उनले भने, “वर्षौँदेखि जेलिएका शिक्षकका समस्या क्रमशः हल हुँदै जाने स्थिति बनेको छ, निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको छ ।

”उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताए।

दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उनको भनाइ छ ।बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री पौडेलले आउँदा दिनमा पनि शिक्षासँगै विकास, निर्माणका कामको नेतृत्व लिन तयार भएर चुनावमा होमिएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्