५ जेष्ठ २०८१, शनिबार

 

बडिगाड गाउँपालिकामा विव्यस अध्यक्षसँग शैक्षिक कार्यक्रम

जिल्लाको बडिगाड गाउँपालिका कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक सुधारको अभियान संचालन गरेको छ । गाउँपालिकाले हरेक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसँग शैक्षिक कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा गाउँपालिका भित्रका ६५ सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयमा आउँदा दिनहरुमा शिक्षाको गुणस्तरलाई कसरी बृद्धि गर्ने भन्ने विषयमा छलफल गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तिले जानकारी दिए ।

कार्यक्रममा विव्यस अध्यक्षहरुलाई विद्यालयमा आर्थिक वर्षमा हुने खर्चको विवरण, विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार सम्बन्धि जानकारी, विद्यालयको शैक्षिक गतिविधिको समिक्षा र आगामी दिनको कार्ययोजनाको बारेमा अवगत गराईएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले विद्यालयको शैक्षिक सुधारको मुख्य भूमिका विद्यालय व्यवस्थापन समितिको हुने हुँदा सबै अध्यक्षहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन । उनले बडिगाडको शैक्षिक विकासका निम्ति व्यवस्थापन समिति, अभिभावक र शिक्षक सबैको उत्तिकै दायित्व हुने बताईन ।

‘बडिगाडको शैक्षिक गुणस्तर खस्किन हामीले दिनुहुँदैन ।, विद्यालय सुधारको पहिलो दायित्व समितिकै हो, थापाले भनिन्,– समितिमा बसेर शैक्षिक सुधारका लागि लागौ, विद्यालयलाई कुनै राजनीति थलोको रुपमा प्रयोग नगरौ ।

आफ्ना बालबालिकाको भविष्यको हामी सवैले चिन्ता व्यक्त गरौं ।’ उनले यस क्षेत्रको शिक्षा क्षेत्रको उन्नयनका लागि स्थानिय सरकार सधै सहयोग गर्न तयार रहेको बताईन । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वनले, विद्यालयका हरेक खर्च विवरणमा विद्यालय व्यवस्थापन समिति अनविज्ञ नभई यसको यथोचित जानकारी लिनुपर्ने बताए ।

उनले वार्षिक नीति तथा कार्यक्रम माफर्त नै बडिगाडको शैक्षिक क्षेत्रको विकासका निम्ती गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अगाडी ल्याएको बताए ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, सामाजिक विकास समितिका संयोजक एवं बडिगाड गाउँपालिका–७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसी, बुद्ध माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रताप सिंह लगायतले आगामी कार्ययोजनका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

बडिगाडमा हाल १४ वटा माध्यामिक विद्यालय र ५१ वटा आधारभुत तहको विद्यालय रहेका छन । गाउँपालिकाले यस अघि पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानाध्यापकहरुसँग विद्यालयको शैक्षिक विकासका निम्ति छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्