३ जेष्ठ २०८१, बिहीबार

 

देवकोटाको सम्पादनमा भारतबाट भूमिगत ‘युगवाणी’

महाकवि देवकोटालाई पत्रकारिताको क्षेत्रमा काम गर्नमा रुचि थियो । यसै विषयमा देवकोटाले विस। २००१ –०२ सालमा शारदाका केही अङ्कहरुमा सम्पादकीय पनि लेखे । यस प्रसङगमा चुडामणि बन्धुले लेखेका छन् ।

शारदाका तोलामा हिसाबमा बेच्न सकिने सम्पादकीय लेखकको थिए होलान् रु शैली हेरेको खण्डमा देवकोटाका कुनै पनि विधार्थिले यस्ता केही सम्पादकीयहरुमा देवकोटीय गद्यशैली भेट्याउन सक्छ ।

यसै विषयमा कुमारबहादुर जोशीले चाहिँ शारदाको वर्ष १० सङ्ख्या ३–४ देवकोटाले आफ्नै हस्ताक्षरमा लेखेको सम्पादकीय नै आफ्नो समालोचनाको कृतिमा प्रस्तुत गरेका छन् ।

त्यस बखत देवकोटाको शारदामा निक्कै समर्पण थियो । शिव रेग्मीका अनुसार शारदामा त्यस बखत उनले पुस्तक परिचयहरु पनि लेखिरहे । तर त्यति बेला पुस्तक परिचयमा समीक्षकको नाउँ दिइँदैनथ्यो ।

देवकोटाले केदारनमान व्यथित , हृदयचन्द्रसिंह प्रधान र रेणुलाल सिंहसँग मिलेर २००३ सालमा नेपाली साहित्य परिषद् नामक साहित्यिक संस्थाको स्थापना गरे ।

अनि यिनीहरुले त्यस संस्थाबाट हृदयचन्द्रसिंह प्रधानको सम्पादनमा एउटा साहित्यिक पत्रिका प्रकाशित गर्न वातावरण मिलाए । अनि त्यही संस्थाबाट साहित्यस्रोत नामक मासिक पत्रिका पनि प्रकाशित हुन थाल्यो ।

२००४ सालमा नेपाली साहित्य परिषद्धारा आयोजित साहित्यसम्मेलन देवकोटाकै सभापतित्वमा सञ्चालित भएको थियो । त्यही समारोहमा प्रदत्त उनको भाषण नेपाली साहित्यको इतिहासमा एउटा कोसेढुङ्गा साबित भयो ।

अनि देवकोटाको उक्त भाषण साहित्यस्रातले गौरवसाथ छाप्यो । देवकोटालाई नेपाली राष्ट्रिय काङ्ग्रेसमार्फत नेपालमा जनक्रान्ति साकार पार्ने उद्देश्यले बनारस पु¥याइएको थियो ।त्यति बेला त्यहाँ उनको खानुबस्ने आदिको जिम्मा पनि काङ्ग्रेसले नै लिएको थियो । देवकोटाले पनि आफ्नो निश्छल भावना अनुसार बनारसमा मरुन्जेल काम गरे ।

वाग्देवीका सच्चा आराधक देवकोटालाई नेपाली राष्ट्रिय काङ्ग्रेसका लागि गर्नुपर्ने काम पनि रुचिकर थियो । भारतिय भुमिमा नेपाली भाषालाई राजनैतिक पत्रकारिताका माध्यमले स्थापित गर्नमा समेत त्यस बखतको उनको योगदान थियो ।

उदयका सम्पादक काशीबहादुर श्रेष्ठले २००४ साल कात्तिक मङ्सिरको उदयमा लेखेका थिए ।काशीबाट प्रकाशित हुन खोजेको युगवाणी नामक नेपाली भाषाको साप्ताहिक पत्रमा प्रधान सम्पादक नेपालका प्रसिद्ध कवि प्रोफेसर लक्ष्मीप्रसाद देवकोटा बीए, बीएल र सहायक सम्पादक लीलानटेश्वर शर्मा बीए उर्फ ईश्वर बराल हुनेछन् ।

देवकोटालाई नेपाली राष्ट्रिय काङ्ग्रेसले बनारसमा गतिलो काम दिने अभिप्राय राख्यो । सोही मुताबिक उनलाई प्रमुखता दिएर त्यहाँ युगवाणी साप्ताहिकको आरम्भ पनि गराइयो । युगवाणीको सम्पादकमण्डलमा लक्ष्मीप्रसाद देवकोटा , बालचन्द्र शर्मा , नारायणप्रसाद भट्टराई थिए ।

युगवाणी साप्ताहिकमा केही समय ईश्वर बरालले पनि सहायक सम्पादक भएर काम गरेका थिए । त्यस पत्रिकाको सम्पादकमण्डलमा जति भए पनि काम जति देवकोटालकै थाप्लोमा हुन्थ्यो ।व्यवस्थापनका साथै सम्पादनमा विशेष सहयोग गर्ने र पत्रिकाको ढाँचा मिलाउने कामचाहि ईश्वर बरालबाट हुन्थ्यो । देवकोटा केवल युगवाणीको काममा मात्रै एकोहोरो जोतिन थाले ।

उनी काम गर्न थालेपछि चौबीस घण्टा बितेको पनि पत्तो पाउँदैन थिए । तर त्यति बेला उनको खानपानको व्यवस्थापन गर्ने कोही थिएन । कहिलेकाही नरेन्द्र रेग्मीले दिएको आर्थिक सहयोग बाहेक उनको आयस्ताको अर्को स्रोत थिएन ।

तर पछिपछि रेग्मीलाई पनि हात्ति पालिराख्न सजिलो भएन , जसले गर्दा रातोदिनको पत्रकारीको मेहनतबाट देवकोटा अशक्त हुन थाले । परिणाम स्वरुप उनी ओछ्यान परे । त्यस बेला उनको हेरविचार गर्ने कामबाट कृष्णप्रसाद भट्टराई र बालचन्द्र शर्माले पनि सुरुक्क हात झिके । त्यसपछि देवकोटाको हालत न घरको न घाटको जस्तै भएको थियो ।

देवकोटा बिरामी परेकै ताका नेपालबाट उनकी पत्नी देवकोटालाई खोज्दै बनारस आएकी थिइन् । देवकोटाको त्यस बेलाको हृदय विदारक अवस्था देखेर मनदेवीको भक्कानो छुटेको थियो ।

अनि मनदेवीले देवकोटाको सकेसम्मको स्याहारसुसार गर्र्न लागिन् । देवकोटालाई उनले अस्पताल पनि पु¥याइन् । त्यस घडी उनकी पत्नीले सडक सडकमा भीख मागेर पनि देवकोटालाई बचाएकी थिइन् ।

त्यति बेलै उनले नेपाली राष्ट्रिय काङ्ग्रेस के हो भन्ने जानेकी थिइन् । अनि उनले त्यहाँका बुद्धिजीवी भनिनेहरुलाई पनि सरापेकी थिइन् । वास्तवमा त्यति बेला देवकोटाले झन्नै एक वर्ष सात महिनाजति युगवाणीमा आफूलाई जोतेका थिए ।

त्यस बेला देवकोटाको आर्थिक अवस्था अत्यन्तै दारुण थियो । त्यस बेला देवकोटाको आर्थिक अवस्था अत्यन्तै दारुण थियो । त्यस बेला काशीमा पढ्दै गरेका उनका भान्जा केशबचन्द्र गौतमले पनि देवकोटाको बिपनाको जीवन सपना झै देखे ।

त्यसबारे उनले पछिसम्म पनि भने , मेरा साइँला मामाले बानारसको दूधविनायकको पेटीमा मैलो कछाड लागाएर बेसेको दृश्य म कहिल्यै भुल्न सक्तिनँ । उहाँ त्यस समय बाटामा हिँड्ने चिनेजानेकासँग मलाई एउटा बिडि दिनुहोस् न हजुर भन्दै माग्नुहुन्थ्यो । काशीमा काङग्रेसी व्यवहार हेरेर देवकोटा वाक्क भएका थिए ।

त्यसैले उनीहरुको आमानवताबाट उम्किएर उनी नेपाल पर्किने मौका हेरिरहेकै थिए । त्यति बेला के खोज्छस् कानो आँखा भएर उनका भाइ मधुसुदन देवकोटा बबरशमशेरको आर्थिक र राजनैतिक सौजन्यमा देवकोटालाई लिन बनारस पुगेका थिए ।

त्यसपछि उनी नेपाली काङ्ग्रेसप्रति गुनासो गर्दै नेपाल फर्केका थिए । युुगवाणी साप्ताहिकमा देवकोटाको नाउँ संस्थापक सम्पादकमा अटल रह्यो । तर यस पत्रिकाले लामो समयसम्म नेपाली अक्षर खेलाउन चाहिँ सकेन ।

२००४ साल माघ १३ गते सञ्चालित यस पत्रिकामा देवकोटाले २००६ सालको मध्यतिरसम्म सम्पादकमण्डलमा रहेर काम गरे । उनले हात झिकेको तीन वर्षपछि पत्रिका नै पनि बन्द भयो ।

देवकोटाले २००९ सालमा काठमाडौँमा अर्को एउटा दर्शन विषयक पत्रिकाको लोकार्पण गरे । त्यस पत्रिकामा प्राय दर्शनकै कुरा मात्र छापिन्थे । त्यसैले त्यस पत्रिकामा देवकोटाले दर्शन नै शिर्षक राखेर पनि लेख लेखेका थिए ।

देवकोटाले २०१२ सालमा आफ्नै सक्रियतामा काव्य प्रतिष्ठानको स्थापना गरे । साथै , त्यस संस्थाको अध्यक्षमा उनी आफँै भए । त्यसको अर्को वर्ष अर्थात् २०१३ सालदेखि उनले आफ्नै सक्रियता र ईश्वर बरालको सम्पादनमा इन्द्रेनी नामक कविताप्रधान मासिक पत्रिका प्रकाशनमा ल्याए । उनले आफ्ना अप्रकाशित रचना प्राय यसै पत्रिकामा छपाए । यो पत्रिका आठ अङ्कसम्म प्रकाशनमा आयो ।

इन्द्रेनी पत्रिकाको सुरुका चार अङ्कमा देवकोटाले ईश्वर बराललाई सम्पादक राखेका थिए भने त्यसपछिका चार अङ्कको सम्पादनमा माधव घिमिरेको प्रवेश भयो । यस पत्रिकामा राजा महेन्द्रको राज्याभिषेकको बेला एउटा अङ्कमा र अफ्रोएसियाली लेखक सम्मेलनका अवसरमा अर्को अङ्कमा अङ्ग्रेजी कविताहरु पनि छापिए ।

ती कविताको अनुवाद स्वयं देवकोटाले नै गरेका थिए । इन्द्रेनी जहिलेसम्म छापियो नेपाली साहित्यिक पत्रिकाको इतिहासमा अत्यन्तै उच्चकोटिको साहित्यिक पत्रिकाका रुपमा प्रस्तुत भएरै चल्यो ।

देवकोटालाई नारायणप्रसाद बाँसकोटाले धेरै मन पराएका थिए । बाँसकोटा पनि नेपाली भाषासाहित्य , पत्रकारिता र संस्कृति भनेपछि ज्यानै फाल्थे । त्यस घडी बाँसकोटाको सम्पादनमा प्रकाशित प्रगति द्धैमासिक चर्चित थियो ।

तर आर्थिक रुपमा पत्रिका त्यति सम्पन्न थिएन । त्यसैले देवकोटाको नेतृत्वमा प्रगति ग्राहक अभियान नै चल्यो । प्रगतिलाई सक्षम बनाउने हेतुले उनीहरु सर्वप्रथम पशुपतिनाथको मुलढोकामा पुगे र त्यहाँ आफ्नो अभियानको तुल टाँगे ।

२०१२ सालको हरिशयनी एकादशीको दिन पारेर त्यो दिन पशुपतिनाथको दर्शन गर्न धेरै मान्छे आउँछन् भन्ने उनीहरुलाई थाहा थियो । त्यति बेला पशुपतिनाथको दर्शनमा गएका थुप्रै भक्तजनहरु देवकोटाको मुख हेरेर प्रगतिको ग्राहक बने । विश्वमणि आचार्य दीक्षित पनि त्यसै बखत पशुपतिको मुलढोकामा आइपुगे ।

उनलाई पनि देवकोटाले प्रगति चम्काउनका निम्ति ग्राहक बनिदिन अनुनय विनय गरे । त्यति बेला देवकोटालाई दीक्षितले भनेका थिए , नेपाली भाषा बाँच्तैन , हिन्दीले राज गर्छ ।

तर त्यो क्षुद्र उक्तिलाई देवकोटाले थेग्न सकेनन् र उनी दीक्षितलाई काटँुला कि मारुँलाझै उग्र भएर अघि सरे । त्यति बेला देवकोटा रिसले आगो भए । यसै प्रसहङ्गमा जनकलाल शर्माले भने रिसमा कसले वेद पढ्छ रु झन्डै पुग्यो देवकोटाको हात उनको कठालोतिर ।

देवकोटाले पुलिसको लौरो लिएर झन्डै बुढाको टाउको फोरेको । विश्वमणि आचार्य भन्नु गोरखा व्याकरण बाध नामक कृतिका लेखक पनि हुन् ।पशुपतिनाथको प्रगतिको घटनाले राजधानीको बौद्धिक टाउको थर्कमान भयो ।

त्यसै दिनदेखि नारायणप्रसाद बाँसकोटाले पनि देवकोटालाई नेपाली भाषाको टोपी माने । देवकोटा पनि नेपाली भाषाप्रतिको सम्मानको सम्मोहनले तानिएर बाँसकोटाका घरमा घरिघरि पुग्ने गर्थे ।

उनी हप्तामा झन्डै तीनचार पटक बाँसकोटा निवास कोपुण्डोल पुग्ने गर्थे । नेपालमा पत्रकारितको प्रारम्भ विन्दुमा देवकोटाको लगन , प्रेम र समर्पण उल्लेखनीय मानिन्छ । नेपाली भाषा साहित्यका अनत्य भक्त उनी पत्रकारिताको विकासका गर्नको लागि बारम्बार यस क्षेत्रमा समेत प्रवेश गरिरहे ।

(देवकोटाको जीवन शैली पुस्तकबाट)

प्रतिक्रिया दिनुहोस्