१७ बैशाख २०८१, सोमबार

 

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप सुरु

बागलुङ । काठेखोला गाउँपालिकाको आयोजनामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप सुरु भएको छ । कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ बैशाख १ गतेसम्म संचालन हुने गरी खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता सुरु भएको हो ।

काठेखोला गाउँपालिकाको आयोजना, काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा वडा नं २ भीमापोखराको अक्षेते बजारमा सुरु भएको कार्यक्रमको पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलले उद्घाटन गर्नु भएको थियो ।

उद्घाटनपछि बोल्दै कँडेलले रचनात्मक गतिविधिले गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण र विकास हुनुको साथै यस्तो गतिविधिले गाउँपालिकालाई चिनाउने काम पनि गर्ने कँडेलको भनाई थियो । पालिकाको समृद्धिका लागि सबैको सहकार्य आवश्यकता रहेको कँडेलले बताउनु भयो ।

कार्यक्रममा पूर्वसाँसद टंकप्रसाद शर्मा कँडेल, पालिकाका निवर्तमान अध्यक्ष अमरबहादुर थापा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक, नेपाली काँग्रेसका नेता प्रेम पुन, नेकपा एमाले काठेखोलाका अध्यक्ष डिलबहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खिमानन्द कँडेल, वडा अध्यक्ष खड्कबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षता, वडा नं- २ का वडाध्यक्ष विद्यापति शर्माको स्वागत र प्रशासन प्रमुख मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुनुपूर्व सोरठी, यानीमाया, सालैजो, पञ्चेबाजा र झाँकी प्रदर्शन गरिएको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिनु भयो ।

तस्बिर:दिनेश जिसी

 

प्रतिक्रिया दिनुहोस्