५ जेष्ठ २०८१, शनिबार

 

‘सन्तानको असाधारण प्रतिभाबारे मैले यसरी थाहा पाएँ’

बालबालिकाहरूको बौद्धिक क्षमता विशिष्ट भए नभएको भन्ने विषयमा विज्ञहरूको धारणा विभाजित छ। एकातर्फ मस्तिष्कसम्बन्धी वैज्ञानिकहरू, न्युरोसम्बन्धी मनोविज्ञहरूले औसत आइक्यू (बौद्धिक क्षमता) भन्दा माथि रहेका बालबालिका विशिष्ट हुने बताउँछन्। 

अर्कोतर्फ शिक्षाको क्षेत्रमा काम गर्ने विज्ञ तथा खेलकुद प्रशिक्षकहरूले त्यस्तो बौद्धिक विशिष्टताको गुण वृहत् भएको र कैयौँ क्षेत्रमा उच्च क्षमता भएका बालबालिकालाई पनि प्रतिभावान् मान्नुपर्ने बताइरहेका छन्। यो छलफल लामो समयदेखि चलिरहेको छ।

तर एउटा के कुरामा धेरैको सहमति छ भने बौद्धिकताको मापन गर्ने, आइक्यू टेस्ट, मा ९७ पर्सेन्टाइल भन्दा बढी अङ्क ल्याउने बालबालिकाहरू विशिष्ट हुन्छन्।साओ पाउलोका ६ वर्षीय थिओ कोस्टा रिबेइरो एक जना त्यस्तै बालक हुन्। उनले ६ महिना छँदै पहिलो पटक शब्द उच्चारण गरेका थिए र १८ महिना पुग्दा आरामले वाक्यहरू बोल्न थालिसकेका थिए।

त्यही बेला उनी पूर्व प्राथमिक विद्यालयमा पनि भर्ना भए।थिओका पिता इगोर रिबेइरोले भने, “उसले एउटा शब्द देख्यो र हामीलाई त्यसको प्रत्येक अक्षरका बारेमा बताउन भनिरह्यो बारम्बार। तर उस्का प्रश्नहरू कुनै पनि अनावश्यक प्रकारका थिएनन्।”

उनले आफ्नो परिवारले थिओलाई कुनै पनि काम गर्न जबर्जस्ती गर्ने नगरेको तर उनको कौतुहलतालाई कहिल्यै पनि बेवास्ता गर्ने नगरेको पनि बताए।कोरोनाभाइरसको महामारीको समयमा अरू बालबालिकाले अक्षर चिनिरहँदा, त्यसबेला ३ वर्ष पुगिसकेका थिओले पढ्न, लेख्न र हिसाब गर्न सकिरहेका थिए।

सन् २०२१ को जुलाईमा उनी पुनः विद्यालयमा गए र त्यसपछि उनका अभिभावकलाई छलफलका लागि डाकियो।कुराकानीका क्रममा उनीहरूलाई थिओको प्रस्तुति औसत भन्दा धेरै माथि रहेको भन्दै आइक्यू टेस्टका लागि सुझाव दिइएको थियो।

रिबेइरो सम्झन्छन्, “त्यसपछि हामी न्युरो परामर्शदाताकोमा गयौँ जसले त्यो परीक्षण गरिन्। उनले एउटा प्रतिवेदन दिइन् जसले हामीलाई छक्क पार्‍यो किनकि त्यसमा थिओको तह विशिष्ट भन्दा माथि रहेको भनिएको थियो।”

‘६ वर्षको उमेरमा नै किशोरको जस्तै बौद्धिक क्षमता

ती विज्ञले पाँच वर्षको उमेरमा थिओमा १४ देखि १५ वर्षको व्यक्तिको जस्तै बौद्धिक र भावनात्मक चेतनाको स्तर रहेको निष्कर्ष निकालेकी थिइन्।तर त्यसको अर्थ ती बालक अरू साधारण बालबालिका जस्ता छैनन् भन्ने होइन। उनी साथी बनाउन रुचि राख्छन्, खेल्छन्, विद्यालयमा शारीरिक शिक्षाका कक्षाहरू मन पराउँछन्।

थिओ कोस्टा रिबेइरो डाइनसोर मन पराउँछन्

उनी डाइनसोर ज्यादै रुचाउँछन् त्यही भएर उनले त्यस विषयमा युट्युब च्यानल समेत बनाएका छन्।उनका पिता भन्छन् कतिपय बेला थिओ बच्चा जस्तै हुन्छन् र कार्टुन अनि भिडियो गेम हेर्छन् र कतिपय बेलामा उनको किशोर ‘शैली’ सक्रिय हुन्छ जुनबेला बौद्धिक छलफल गर्नुपर्ने हुन्छ।रिबेइरोले भने, “हामीले उनलाई आनुवंशिक कोड के हो र मानवमा प्रजनन कसरी हुन्छ भनेर ब्याख्या गरिसक्यौँ। उनी बच्चा र किशोरका मिश्रण हुन्।”

उनको चेतनाको विशिष्टताको प्रभाव यहीँ नै रोकिँदैन। यसै वर्षको फेब्रुअरीमा उच्च आइक्यू भएका व्यक्तिहरूलाई एक ठाउँमा ल्याउने मेन्सा इन्टरन्याश्नलमा आबद्ध हुने उनी सबैभन्दा कान्छा ब्राजिली बन्न पुगे।अहिले विद्यालय जाने बाहेक उनी फुटबल र सङ्गीतको कक्षा लिन्छन्।

रिबेइरोले सरकार र विद्यालयबाट आफ्ना छोरा जस्तालाई कुनै सहुलियत प्राप्त नभएको बताउँदै उनलाई प्राथमिक विद्यालयमा भर्नाका लागि अनुमति लिन आफू अदालत जानुपरेको बताए।”शिक्षण निकायहरूले उनी जस्ता बालबालिकालाई नियोजित रूपमा नै पछाडि परिरहुन् भन्ने धारणा राखेको जस्तो देखिन्थ्यो,” उनी दुःखेसो गर्छन्।

बीबीसीले ब्रजिलको शिक्षा मन्त्रालयलाई इमेल र फोनमार्फत प्रतिक्रियाका लागि प्रयास गरेको भएपनि यो समाचार प्रकाशित हुँदासम्म कुनै जवाफ आएको छैन।विशिष्टता सम्बन्धी विषयमा विज्ञता हासिल गरेकी एक जना शिक्षाविद् प्याट्रिसिया गोनसाल्भेसले भनिन्, “प्रतिभा विकास गर्ने विद्यालयले कहिल्यै पनि पिताले सरकारी अभियोजनकर्ताको कार्यालय प्रवेश गरेर कानुनबाटै त्यो हक ल्याओस् भनेर पर्खँदैन।”

निकोलको कथा

आठ वर्षकी निकोल पेसोटुले ६ महिनाको उमेरमा उच्चारण गरेको पहिलो शब्द थियो: ‘ड्याड।’

आफ्नी बहिनी र आमा बुवासँग थिओ
“एक वर्षकी हुँदा मैले उनलाई गुडियाहरू किनिदिन्थेँ तर उनलाई मन पर्ने खेलौना पेन्सिल र कागज थियो,” निकोलकी आमा जेसिका सम्झिन्छिन्।मानिसहरूले आफ्नी छोरीलाई फरक भनेको उल्लेख गर्दै उनले २ वर्षमा नर्सरी कक्षामा अध्ययन गरिरहँदा उनलाई अरू बालबालिका भन्दा फरक भएको पहिचान गरिएको बताइन्।

सन् २०२१ मा ७ वर्षकी निकोल रिओ द जेनेइरोको विद्यालयमा भर्ना भइन्। त्यहाँ उनका अभिभावकलाई छोरीलाई आइक्यु जाँच गराउन लैजान सुझाव दिइएको थियो।हाल निकोलले प्राथमिक तहको शिक्षा लिइरहेकी छन्।तर परीक्षणमा राम्रो प्रतिवेदन आएकाले एउटा कक्षा माथि उकाल्न आफूहरूले प्रयास गर्न लागेको जेसिकाले बताइन्।

निकोल जिज्ञासु छिन् र उनी भविष्यमा चिकित्सक बन्न चाहन्छिन्। तर उनलाई गणित एकदमै मन पर्छ।”एक दिन हामी गिर्जाघरमा थियौँ र उनी एक जनासँग बसिन् जसले ६ कक्षाको गणितको पुस्तक ल्याएकी थिइन्। तीनले हिसाब गरिरहेकी थिइन र निकोलले हेरिरहेकी थिइन्।

घर पुगेपछि उनले जस्ताको त्यस्तै त्यसलाई उतार्न सफल भइन्।”निकोलले ६ वर्षको हुँदा आफ्ना बुवालाई किबोर्ड बजाउन लगाइन्। उनले आधारभूत कुरा उनलाई बताए। त्यसपछि निकोल स्वयंले गीत बजाउन थालेको उनकी आमा सम्झिन्छिन्।

निकोल र उनका अभिभावक
विशिष्ट क्षमता भएका बालबालिका कसरी चिन्ने

अरू समान उमेरका बालबालिकाभन्दा धेरै कुरा जान्ने भएर मात्रै त्यस्ले विशिष्टतालाई परिभाषित गर्दैन। विशेष गरी आइक्यू मार्फत बौद्धिक क्षमता जाँच्ने जस्ता परीक्षणहरूले मात्रै त्यसबारे निर्णय गर्न सकिन्छ।

मनोपरामर्शदाता, न्युरोमनोपरामर्शदाता, शिक्षासम्बन्धी विज्ञ र विषयवस्तुका विज्ञहरूले यो परीक्षण गर्छन्।विशिष्ट बौद्धिक क्षमता हुनसक्ने बालबालिकाहरूमा यस्ता केही गुणहरू हुने ठानिएको छः

  • तिक्ष्ण कौतुहलता
  • उमेरको दाँजोमा धेरै शब्दहरूको ज्ञान
  • सहजै सिक्न सक्ने क्षमता र उच्च बौद्धिक सम्भाव्यता
  • तत्कालै तर्क गर्नसक्ने
  • नेतृत्व र आत्मविश्वास
  • तिक्ष्ण स्मरणशक्ति
  • रचनात्मकता
  • जुक्तिहरूलाई बदल्न वा परिवर्तन गर्नसक्ने क्षमता
  • स्थितिको परख गर्ने क्षमता
  • लक्ष्य हासिल गर्न अडिग रहने दृढता

कतिपय बालबालिकाले विद्यालयमा रुचि कम देखाउने वा उनीहरूको व्यवहारमा समस्या समेत देखिनसक्छ।एक जना मस्तिष्कसम्बन्धी वैज्ञानिक डाक्टर फाबिनो डे एब्रु भन्छन्, “उत्प्रेरणाको अभावले धेरै विशिष्ट मानिसहरूले विद्यालयमा राम्रो अङ्क ल्याउँदैनन्। कतिपय अवस्थामा दोहोर्‍याइने शिक्षण प्रणाली र कक्षाकोठाको वातावरणले उनीहरूलाई दिक्क बनाउँछ र उनीहरूको क्षमतालाई विकास गर्दैन।”

बालक
ब्रजिल र अन्य धेरै देशमा प्रतिभावान् व्यक्तिहरूको औपचारिक परिचयको प्रणाली छैन। उनीहरूलाई उनीहरूका परिवार, विद्यालय र साथीभाइले ‘फेला पार्ने’ गर्छन्। अनुसन्धानकर्ताहरूले त्यस्ता बालबालिकाको सङ्ख्या वास्तविक भन्दा कम हुने आँकलन गरेका छन्।

के खेलकुद, कला वा शिक्षामा प्रगति सबै प्रतिभा हो ?

ब्रजिलको काउन्सिल अफ गिफ्टेड्नेसका अनुसार मानिसहरूलाई दुईवटा ठूला समूहमा विभाजन गर्न सकिन्छ।पहिलोमा शिक्षामा विशिष्टता हासिल गरेका व्यक्ति पर्छन् जसले राम्रो अङ्क ल्याएका छन् र वैज्ञानिक ज्ञान सिक्ने राम्रो दक्षता राख्छन्। दोस्रो ठूलो समूहमा ‘उत्पादनशील र/वा रचनात्मक’ व्यक्तिहरूलाई राखिएको छ।

मेन्सा ब्रजिलकी मनोविज्ञान सम्बन्धी सुपरिवेक्षक प्रिसिला जाइआको विचारमा बौद्धिकता र उच्च क्षमता प्रतिभाको एउटा हिस्सा हो।उनले भनिन्, “तर विशिष्ट भनेर ठहर हुनका लागि व्यक्तिहरूमा भावनात्मक र अरू सामाजिक पक्षहरूको पनि आवश्यकता पर्छ।

उनीहरू थप संवेदनशील हुन्छन् र करुणा भाव देखाउँछन् जसका कारण उनीहरूमा न्यायको दह्रो भाव हुन्छ र उनीहरू राम्रोसँग अवस्थालाई नियाल्छन्।”उनका अनुसार त्यस्ता व्यक्तिहरू बौद्धिकता मात्र नभई खेलकुद, सङ्गीत, कला र नृत्यमा पनि पारङ्गत हुन सक्छन्।

विवाद

तर विशिष्टताको अवधारणा पनि विवादास्पद रहँदै आएको छ।साओ पाउलो विश्व विद्यालयकी न्युरो मानोपरामर्शविज्ञ डाक्टर प्याट्रिरिसा रेजाकका अनुसार वैज्ञानिक लेख रचनामा कुनै प्रमाण नभएको भएपनि बौद्धिक क्षमतालाई मात्रै विशिष्टता ठान्नुपर्ने पक्षमा आफू रहेको बताइन्।

उनले बौद्धिक विशिष्टताबाहेक पनि मानिसहरूमा अरू कैयौँ उच्च क्षमताहरू रहने बताइन्।उनले भनिन् ” उदाहरणका लागि मेरो बच्चाको कला क्षमता वा खेल्ने क्षमता वा अरू विषयको सम्भाव्यता एकदमै विकसित भएको हुनसक्छ। तर म त्यसलाई बौद्धिक विशिष्टता भन्दिन बरु उसमा रहेको उच्च क्षमता भन्छु।”

के कारणले बच्चा विशिष्ट हुन्छन् ?

विज्ञहरूका अनुसार विशिष्ट बच्चाहरूको मस्तिष्कको केही भागमा ठूलो परिमाणमा बौद्धिकता सम्बन्धी तत्त्व धेरै देखिन्छ। त्यसले उनीहरूलाई साधारण भन्दा द्रुत रूपमा क्रियाशील बनाउँछ।बौद्धिकता सम्बन्धी तत्त्वले ‘फ्रन्टल कोर्टेक्स’ र सोचलाई प्रभावित तुल्याउने संरचनाहरूलाई थप क्रियाशील बनाउँछ।

“प्रतिभावान् व्यक्तिहरूको मस्तिष्क नै फरक हुन्छ त्यही भएर उनीहरू बढी बौद्धिक रूपमा विकसित हुन्छन्। उनीहरूको ‘न्युरोन’ ठूलो र प्रभावशाली हुन्छ,” डाक्टर एब्रुले थपे।यी सबैमा ‘प्रिफ्रन्टल कोर्टेक्स’ पनि संलग्न हुन्छ जसले निर्णय क्षमता, तर्क, नियन्त्रण,स्मरण र ध्यानाकर्षण क्षमतामा भूमिका खेल्छ।

कतिपय अध्ययनले विशिष्ट बौद्धिक क्षमता भएका बालबालिकाको मस्तिष्कको स्मरण प्रणालीको आकार अरू बालबालिकाको भन्दा फरक रहेको देखाएको छ।अरू अध्ययनले प्रतिभावान् बालबालिकाहरूको मस्तिष्क सञ्जाल बढी एकीकृत र विविधतायुक्त रहेको उल्लेख गरेको छ।

मेन्सा ब्रजिलकी मनोपरामर्श सम्बन्धी सुपरिवेक्षक प्रिसिला जाइआ भन्छिन् विशिष्ट बौद्धिक क्षमता हुनु भनेको त्यस्ता व्यक्तिमा देखिएको विशेष स्वास्थ्य अवस्था होइन।”यो न्युरोनको विकास सम्बन्धी रोग होइन बरु यो एक जना व्यक्तिको कार्यक्षमतासँग जोडिएको छ। हामीले विशिष्टतालाई एउटा मनोवैज्ञानिक अवस्थाका रूपमा बुझ्ने गर्छौँ,” उनले भनिन्।

  • बीबीसी न्यूज ब्रजिल, बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्