५ जेष्ठ २०८१, शनिबार

 

विद्यामन्दिर पुस्तकालयको स्थापना दिवशको उपलक्ष्यमा र्‍याली

काठमाडौं । विद्यामन्दिर पुस्तकालयले स्थापना दिवशको उपलक्ष्यमा शुभकामना र्‍याली निकालेको छ ।७६औँ स्थापना दिवसको उपलक्ष्यमा बुधबार बिहान प्रभातफेरिको आयोजना गरिएको हो । प्रभातफेरिमा पुस्तकालय परिवार, सदरमुकामस्थित विद्यालयका विद्यार्थी, शिक्षक, सामाजिक अगुवा, शिक्षासेवीसहित पुस्तकालप्रेमीको सहभागीता रहको छ ।

विद्यामन्दिर पुस्तकालयबाट सुरु भएको र्‍यालीले बागलुङ बजारको मुख्य मुख्य चोक परिक्रमा गरेको पुस्तकालयका सचिव राजन सापकोटाले जानकारी दिनु भयो ।चेतनाको इतिहास बोकेको विद्यामन्दिर पुस्तकालयको बदलिदो भूमिकालाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरुसँग सहकार्य गर्नु पर्ने पुुस्तकालयका अध्यक्ष राम थापाले बताउनु भयो ।

विद्यामन्दिर पुस्तकालय बागलुङले स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाउन लागेको हो ।पुस्तकालय दिवशको उपलक्ष्यमा मङ्गलबार सरसफाइ सचेतना र दिवसको प्रचारात्मक कार्यक्रम गरिएको थियो ।

आज दिउँसो पुस्तकालयद्वारा सञ्चालित बाल विकास केन्द्रका बालबालिकाको निःशुल्क दन्त परीक्षण गर्ने कार्यक्रम रहेको छ । बिहीबार श्रीपञ्चमी पर्वका दिन पुस्तकालय दिवसको मुख्य समारोह रहेको छ ।

पुस्तकालयको इतिहासमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको सामाजिक, राजनीतिक र शैक्षिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ ।

प्रतिकूल राजनीतिक व्यवस्थामा पनि त्यस बखतका युवाले शाहस गरेर पुस्तकालय स्थापना गरेका थिए । राणाकालमा पुस्तकालय खोल्नु सामान्य घटना थिएन, शैक्षिक संस्था खोले दमन हुने अवस्था थियो ।

स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् ।

पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।

पुस्तकालयका पूर्वअध्यक्ष टोप बहादुर विजुक्क्षेले २०२७ सालमा पुस्तकालयलाई विद्यान्दिर माध्यमिक विद्यालयबाट भुपी चोकमा मुस्ताङ जाने तीर्थ यात्रुहरु बस्ने ठाँटीको पौवामा सार्ने काम भएको थियो ।वर्षौंसम्म सार्वजनिक ठाँटीमा चलेको पुस्तकालयलाई पञ्चायतकालमा तत्कालीन प्रधानपञ्च टोपबहादुर बिजुक्छेको पहलमा जग्गा उपलब्ध भएको थियो ।

बिजुक्छेले करिब दुई आना जति आफ्नो जग्गा पनि पुस्तकालयलाई प्रदान गरेका थिए ।  पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीको पालामा विसं २०६१ मा पुस्तकालयको चारतले सुविधासम्पन्न भवन बनेको थियो । त्यसअघिको भवन जीर्ण अवस्थामा थियो ।सामाजिक र शैक्षिक अगुवा ओमप्रसाद गौचन र मेघकुमार वैद्य र उनीहरुको समकालिन साथीहरु मिलेर २००३ सालमा पुस्तकालय स्थापना गर्नुभएको थियो ।

घरेलु उघोग विघामन्दिर पाठशालाभित्र पुस्तकालय, संगीत कक्ष र घरेलु सीप सिकाउने व्यवस्था रहेको थियो । संस्थापक ओम प्रसाद गौचन र मेघ कुमार वैधले विद्यार्थीलाई शिक्षाको साथसाथै पुस्तालयबाट चेतना, कला र संगीतबाट संस्कार र घरेलु इलमबाट सीप सिकाएर देश र समाज प्रति जवाफदेही र आफै श्रम गरेर खान सक्ने पूर्ण मानव बनाउने लक्ष्य राखेका थिए ।

राणा प्रधानमन्त्री देव शमशेरको छोटो कार्यकालमा देशभर ३ सय वटा भाषा पाठशाला खुलेका थिए ।बागलुङ बजारमा पहिलो पटक तत्कालीन युवाहरूले खरीले पाटीमा लेखेर अक्षरारम्भ गरे । विस १९९७ सालमा विघालयका संस्थापक ओम प्रसाद गौचनले प्युठानबाट कुल प्रसाद कौ नाम गरेका मास्टरलाई ल्याएपछि विघार्थीहरूले पहिलो पटक अग्रजी भाषाको वर्णमालाका अक्षरहरू पढ्न पाए ।

कौ मास्टरले नेपाली, हिन्दी, उर्दू, र अग्रजी भाषा पढाउनु हुन्थ्यो ।कौ मास्टरलाई ल्याउन अर्का संस्थापक मेघ कुमार वैघको विशेष भूमिका खेल्नु भएको थियो ।पाठशालाक‌ै हातामा विस १९९९ सालमा रातिराति लालटिनको उज्यालोमा वाचनालय पनि संचालनमा आएको थियो ।

२००३ सालमा त्यस नजिकै रहेको राधाकृष्ण मन्दिरको पाटीमा घरेलु उघोग विघामन्दिर पाठशालाको भवन तयार भएपछि पाठशालाको अभिन्न अंगको रूपमा रहने गरि वाचनालयलाई पुस्तकालयको रूपमा विकास गरियो ।

रात्रिकालिन वाचनालय खोलेको आरोपमा गौडाका हाकिम लेफ्टिनेट बास्सा राजाले ओम प्रसाद गौचन, मेघ कुमार वैघ, कुल प्रसाद श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, बद्री नारायण भारी र श्याम सुन्दर गुभाजूलाई पक्राउ गरेको थियो भने राणा शासकले पुस्तकालयलाई केही समय बन्द गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्