२२ बैशाख २०८१, शनिबार

 

विद्यामन्दिर पुस्तकालयको स्थापना दिवसमा पूर्वअध्यक्ष राजभण्डारी सम्मानित

बागलुङ । विद्यामन्दिर पुस्तकालयको स्थापना दिवसका अवसरमा पुस्तकालयका पूर्वअध्यक्ष पद्मचन्द्र राजभण्डारीलाई सम्मान गरिएको छ । बिहीबार आयोजित दिवसको मूल समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सम्मान–पत्र र पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले दोसल्ला ओढाई उहाँलाई सम्मान गर्नुभएको हो ।

चेतनाको इतिहास बोकेको विद्यामन्दिर पुस्तकालयको बेग्लै महत्व भएकोले पुस्तकालयको बदलिदो भूमिकालाई प्रभावकारी बनाउन र बौद्धिक गन्तव्यको रुपमा विकास गर्न बागलुङ नगरपालिकाले पुस्तकालयसँग दिगो साझदारीको कार्यक्रम ल्याउने नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

विसं १९९९ मा बागलुङ बजारको किनाराटोलमा जन्मनुभएका राजभण्डारीले विसं २०२३ देखि २४ सम्म पुस्तकालयको अध्यक्ष हुनुभएको थियो । पुस्तकालयको विकास र उन्नयनमा योगदान पु¥याए बापत उहाँलाई सम्मान गरिएको हो । विसं २०५४ देखि २०५९ सम्म बागलुङ नगरपालिकाको उपप्रमुख भएर उहाँले नगरको विकासमा कुशल नेतृत्व गर्नुभएको थियो ।

विसं २०३८ मा स्थापना भएको परिवार नियोजन सङ्घ बागलुङ शाखाको उपसभापतिका रुपमा राजभण्डारीले लामो समय सेवा गर्नुभएको थियो । उहाँले पर्वतको कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा पनि अध्यापन गर्नुभएको थियो । राजभण्डारीले शैक्षिक, सामाजिक र स्वास्थ्य सेवाका क्षेत्रमा उल्लेख्य योगदान भएकाले सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो ।

पुस्तकालय त्रिदिवसीय कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । पहिलो दिन मङ्गलबार सरसफाइ सचेतना, ब्यानर प्रदर्शनसहित प्रचारात्मक कार्यक्रम आयोजना गरिएको थियो । बुधबार प्रभातफेरि र पुस्तकालयमा सञ्चालित बालविकास केन्द्रका बालबालिकाको निःशुल्क दन्त परीक्षण गरिएको थियो ।अशोक दन्तेल केयर सेन्टर प्रमुख अशोक श्रेष्ठ र डा कल्पना लिम्बुले बालबालिकाको दन्त परीक्षण गरेका थिए ।

बिहीबार मूल समारोहमा पूर्वअध्यक्षसम्मानसहित बालबालिकालाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो । पुस्तकालयका सल्लाहकार श्याम श्रेष्ठले स्थापना गर्नुभएको ‘शिशिर–हेमन्त बाल अक्षयकोष’बाट ति सामग्री प्रदान गरिएको हो ।

सोही समारोहमा व्यवसायी कविराज सुनार र जुनु सुनारले पुस्तकालयमा अक्षयकोष स्थापनाका लागि रु ५० हजार प्रदान गर्नुभएको थियो ।कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, सम्मानित व्यक्तित्व पद्मचन्द्र राजभण्डारी, पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, साहित्यकार प्रेम छोटा, पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी र राज्यलक्ष्मी सुनचाँदी पसलका प्रोपराइटर कविराज सुनारले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्